४ आश्विन २०७८, सोमबार

कोरोनाबाट हताहत हुने शिक्षक र शिक्षाको सन्दर्भ : जीतबहादुर शाह

आलेख

हिजोआज फेसबुकमा कसैको फोटो देख्ने वित्तिकै खुसी भन्दा पनि भयले गाँज्ने गर्दछ । यद्यपि जन्म, विवाह र कर्ममा प्राप्त गरेका सफलताका लागि दिएका शुभकामना र बधाइका पनि पोष्टहरु यदाकदा अहिले पनि आउछन् । तथापि तिनको तुलनामा मृत्युका कारणले पोष्ट गरेका श्रद्धाञ्जलीहरु अत्यधिक हुने गर्दछन् । त्यसैले पनि पोष्टमा लेखिएका अक्षरहरु भन्दा पनि फोटोमा पहिले आँखा पर्दछ र अक्षरहरु पढ्न नभ्याउदा सम्म आँखाहरुले भयभित हुदै अक्षरहरु खोज्न थाल्छन् । यहाँसम्म कि जन्म दिन, विवाह उत्सव र कर्ममा प्राप्त भएका सफलताका कुराहरु पढ्दा समेत मुटु काँपिरहेको हुन्छ । कुरा प्रष्ट बुझेपछि मात्रै मन ठेगानमा आउछ । बाँचेपछि कस्ता कस्ता दिनहरु पनि भोग्नु पर्ने रहेछ । जन्त जाँदा पनि मलामी गएको हो कि झै लाग्ने ! मित्र भेटिदा पनि शत्रु भेटिएको हो कि झै गरी डराउनु पर्ने ! कसैले गतिलो काम गरेकोमा बधाइ पाउदा समेत सिद्धिएछ कि भनेर तर्सिनु पर्ने !
बर्दियाका चिरपरिचित शिक्षक युवराज घिमिरेको फोटो फेसबुकमा पोष्ट भएको देखें । यो पङ्तिकारलाई उहाँ बिरामी भएको समेत जानकारी थिएन । के रहेछ भनेर पोष्ट पढ्न सुरु गरें । भयभित हुदै पढ्न सुरु गरेको भएता पनि ‘उहाँ मान्छे राम्रो हो, केही असल काम गरेर पो कसैले

बधाई

दिनको लागि फोटो पोष्ट गरेको पनि हुन सक्छ भन्ने भावसहित मनको एउटा कुनामा आशाको त्यान्द्रो बाँकी थियो । पढिसकेपछि भने आशाको त्यान्द्रो बाँकी रहेन । चुड्यो फेरि कहिल्यै नजोडिने गरी । त्यो दिन अन्य व्यक्तिहरु मृत्यु भएका फोटोहरु पनि बग्रेल्ती पोष्ट गरिएका थिए फेसबुकका वालहरुमा । त्यही दिन प्रधानमन्त्री लगायत मन्त्रीहरुको नियुक्ति र सपथग्रहण गरिएका बधाइका फोटोहरु पनि बग्रेल्ती पोष्ट गरिएका थिए फेसबुककै वालहरुमा । विधिको विडम्वना नै यस्तै रहेछ भन्दै मैले आफ्नै फेसबुक वालमा एउटा मुक्तक यसरी पोष्ट गरें ।

अस्पतालमा छट्पटाउदै आत्मा गल्दा देखेको छु,
मूर्दा सङ्गै मसानघाटमा मुलुक जल्दा देखेको छु ।
सुख, दुःख, हाँसो, आँसु सृष्टिका बृष्टि हुन् भन्छन्
श्रद्धाञ्जली र बधाइ ज्ञापन सङगै चल्दा देखेको छु ।
सन्दर्भ शिक्षक युवराज घिमिरेको मात्र होइन, कोरोनाका कारणले यो पङ्तिकारले यो आलेख लेख्दै गर्दासम्म सामाजिक सञ्जालबाट सङकलित तथ्याङक अनुसार विभिन्न विद्यालयहरुमा कार्यरत पैतिस जिल्लाका सतासी जना शिक्षकहरुको कोरोनाका कारणले मृत्यु भइसकेको देखिन्छ । सबैभन्दा बढि रुपन्देही जिल्लामा मात्रै आठ जना शिक्षकको मृत्यु भएको छ । यसैगरी बर्दिया र सल्यानमा छ जनाको दरले मृत्यु भएको अभिलेख देखिन्छ भने कञ्चनपुरमा पाँच जना शिक्षकको मृत्यु भएको देखिन्छ । चार जनाको दरले शिक्षकको मृत्यु हुने जिल्लाहरु दाङ र कैलाली रहेका छन् भने तीन जनाको दरले शिक्षकको मृत्यु हुने जिल्लाहरुमा सुर्खेत, बाँके, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, ललितपुर, बारा र महोत्तरी रहेका छन् । त्यसैगरी दुईजनाको दरले शिक्षकको मृत्यु हुने जिल्लाहरु अछाम, काठमाण्डौं, चितवन, रुकुम पश्चिम, सिन्धुपाल्चोक, मकवानपुर र सप्तरी रहेका छन् भने एकजनाको दरले शिक्षकको मृत्यु हुने जिल्लाहरुमा बैतडी, बझाङ, डडेल्धुरा, डोल्पा, दैलेख, जाजरकोट, नवलपरासी, म्याग्दी, गोरखा, पर्वत, सिन्धुली, पर्सा र सिरहा रहेका छन् । मृत्यु हुनेहरुमा महिला र पुरुषको संख्या क्रमशः बारह र पचहत्तर रहेको छ ।
एउटा शिक्षकको मृत्युले घरमा भएका सन्ततिहरु त टुहुरा भए नै । मलाई लाग्छ विद्यालयका बालबालिकाले समेत एउटा गतिलो अभिभावक गुमाएको महसुस गरिरहेका छन् । साँच्चि कोरोनाको कारणले मृत्यु भएर जाने शिक्षकहरुले बालबालिकाहरुलाई होमवर्क दिनु भएको थियो होला । अव त्यो होमवर्क कसलाई बुझाउने होलान् ती बालबालिकाहरुले ? कतिपय बालबालिकाको वार्षिक परीक्षा नजिकै आइसकेको थियो । अब मरेर जाने शिक्षकको विषयको परीक्षा अरु कसैले सञ्चालन गर्नु परयो भने वर्षभरि अध्यापन गरेको शिक्षकको सम्झना आउला कि नआउला ? कतिपय विद्यालयहरुको वार्षिक परीक्षा सम्पन्न भएर नतीजा प्रकाशनको काम बाँकी थियो । नतीजा प्रकाशन हुने बेला अध्यापन गर्ने र परीक्षा लिने शिक्षक नहुँदा विद्यालयको वातावरण कस्तो हुने होला ? साँच्ची वातावरण नियन्त्रित भएर विद्यालय सुचारु हुँदा शिक्षकको मृत्यु भएका ती विद्यालय र त्यहाँका विद्यार्थीहरु एकपटक अनियन्त्रित हुदै भक्कानिएर रुन्छन् होला । दुःखको यो घडीमा कोरोनाबाट मृत्यु हुने शिक्षक लगायत सबैप्रति यो पङ्तिकार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ, मृतकका आफन्तहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दछ र सङक्रमितहरुको शिघ्रातिशिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
विद्यार्थीहरुले आफ्नो शिक्षकलाई जति माया गरेर मन र मुटुमा राखेपनि सरकारले भने आफ्ना शिक्षक प्रति सामान्य सद्भाव र माया देखाउन सकेन । सरकारी ढुकुटीबाट तलव सुविधा पाएकामध्ये अरु सबैले कोरोना विरुद्धको भ्याक्सीन लगाए तर शिक्षकलाई यो सुविधाबाट बञ्चित गरियो । सरकारी ढुकुटीबाट तलव सुविधा पाएर पनि भ्याक्सीन नपाउने बर्ग भनेको नेपालको सन्दर्भमा शिक्षक मात्र हो । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा भ्याक्सीनको आविष्कार र उत्पादन भएपछि सर्वप्रथम आफ्नो छोरीलाई भ्याक्सीन दिएर भ्याक्सिनको उद्घाटन गर्दै त्यसपछिको पालो डाक्टर र शिक्षकलाई भनेका थिए । उनको यो कुरालाई प्रतिकार गर्दै ‘के अरु यो देशका नागरिक होइनन् ? के अरुले बाँच्नु पर्दैन ?’ भनेर पत्रकारहरुले प्रश्न गर्दा राष्ट्रपतिले उल्टै पत्रकारहरुलाई प्रतिप्रश्न गरेका थिए – ‘डाक्टर मरे भने बिरामीको उपचार कसले गर्छ ? शिक्षक मरे भने डाक्टरको उत्पादन कसले गर्छ ?’ त्यो बुद्धि नेपालका सत्ताधारीहरुमा पलाउन सकेन । मलाई त लाग्छ, जवसम्म यो बुद्धि यहाँका सत्ताधारीहरुमा पलाउने छैन जव सम्म मुलुक पनि उभो लाग्ने स्थिति आउने छैन ।
कोरोनाको खोप लगाएकै कारणले कोरोनाको दोस्रो लहरले खोप लगाएका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खासै असर गरेको देखिदैन । सङक्रमण भएपनि ज्यानै लिनेगरी आक्रमण गरेको देखिदैन । कोरोनाको दोस्रो लहरमा भने माथि उल्लेख गरिएझै धेरै शिक्षकहरुको ज्यान गइसकेको छ । हरेक दिन सयौं बालबालिकाको सामु उपस्थित हुने शिक्षकलाई सरकारले साँच्चि किन हेयभावले हेरेको होला ? के शिक्षक सङ्क्रमित भएमा त्यो सङ्क्रमणले बालबालिकालाई समस्यामा पार्दैन र ? के बालबालिका सङक्रमित भयो भने के त्यसले बालबालिकाको घरपरिवारलाई समस्यामा पार्दैन र ? डाक्टर र बैज्ञानिकहरुले भन्दैछन् कि नेपालमा कोरोनाको तेस्रो लहर समेत भित्रिसकेको अवस्था छ र यसले सवैभन्दा बढि प्रभावित बालबालिकालाई गर्नेछ । तथापि हाम्रो सरकार किन हो खै यस्ता कुरा सुन्दैन । कानमा तेल हालेर बसेको छ । भ्याक्सीन खरिद गर्न सकेको छैन । बार्गेनिङ गर्दै बसेको छ । एकातिर सरकारको बजेट खर्च नभएर फ्रिज हुदैछ भने अर्कोतिर शिक्षक लगायत आम नागरिकहरु भ्याक्सीन नपाएरै ज्यान जोखिममा पारेर मृत्युसँग लडिरहेका छन् ।
अलान लकिनले भनेका छन् – ‘योजना बनाउन असफल हुनु भनेको असफलताको लागि योजना बनाउनु हो ।’ हामी आज यही नियतिको सिकार भइरहेका छौं । सरकारको शिक्षामा केही गर्ने योजना नै छैन । यो भनेको शिक्षालाई ध्वस्त बनाउने योजना बनाउनु सरह हो । कोही व्यक्तिसँग असल हुने योजना छैन भने ऊ स्वभावैले खराव हुन्छ । यो दुनियाँमा खराव भएका मानिसहरु खराव हुने भनेर योजना बनाएर खराव भएका होइनन् । यससम्बन्धमा अव्राहम लिङ्कन भन्छन् – ‘यदि मलाई कसैले दाउरा काट्नका लागि छ घण्टाको समय दिइन्छ भने मैले चार घण्टाको समय बञ्चरो उद्याउनमा खर्च गर्नेछु ।’ यसबाट प्रष्ट छ कि योजना बनाउनु महत्वपूर्ण छ । हामी कहाँ त योजना हुदैन । समस्या जे जे आउछ, सनक र काम चलाउ पाराले समाधान गरिन्छ । यसरी समाधानको लागि समस्यालाई प्राथमिकतामा राख्ने क्रममा पनि समतामूलक किसिमबाट लक्षित समूहको आवाजलाई भन्दा पनि सत्ता हल्लाउन सक्ने ताकत भएका आवाजहरुलाई सुन्ने गरिएको छ ।
यो समयमा आएर शिक्षा क्षेत्रको आवाज सत्ता हल्लाउने गरी शक्तिशाली हुन नसकेको अवस्था छ । कारण प्रष्ट छ कि शिक्षामा काम गर्नेहरु मनकारी हुन सकेनन् । साझा आवाजका लागि संघर्ष गर्ने होइन कि व्यक्तिगत स्वार्थका लागि दैलो घच्घच्याउनेहरुको नेतृत्वमा बोलवाला भयो । समस्या एउटै भएपनि शिक्षक र शिक्षामा काम गर्ने कर्मचारीहरुकै बीचमा हार्दिकता छैन । शिक्षकहरुको बीचमा समेत हुनु पर्ने जति हार्दिकता भएको देखिदैन । बिडम्वना भन्नुपर्छ, अहिलेको सवालमा शिक्षकमाथि सरकार यसरी वेवास्तापूर्वक प्रस्तुत हुनुमा शिक्षकहरु आफैपनि साझा सवालमा एक हुन नसकिरहेको अवस्था छ । अघि लागेर बाटो देखाउनु पर्ने शिक्षक बर्ग राजनीतिक दलहरु जति छन् उत्ति नै शिक्षकका सँगठन बनाएर उनीहरुकै पछि पछि लाग्ने हो र उनीहरुकै निर्देशनमा चल्ने हो भने सरकारले शिक्षकहरुलाई टेर्ने कुरा पनि त भएन । त्यसैले पनि कोरोनाको खोप लगायत हरेक कुरामा शिक्षा र शिक्षक पछि पर्ने कुरा नौलो होइन र नौलो हुने पनि छैन ।
सन् २०१५ को अप्रिलमा ह्वाइट हाउसले भनेको छ ः ‘शिक्षाले पारदर्शिता, सुशासन, स्थायित्वलाई प्रवर्धन गर्दछ भने घुस र भ्रष्टाचारको विरुद्धमा लडाइ गर्न सहयोग गर्दछ । विकासोन्मुख देशहरुका निम्ति त शिक्षा भनेको भावी आर्थिक बृद्धि र दीगो विकास एवम् जीवनस्तरमा सुधार गर्ने एक महत्वपूर्ण साँचो हो ।’ यसरी नै सन् १९८० को दशकमा चीनमा देङ स्याओ पिङले देशलाई बदल्न चार क्षेत्रमा आधुनिकीकरणको घोषणा गरे– कृषि, उद्योग, सुरक्षा र विज्ञान एवम् प्रविधि । त्यसका लागि उनले शिक्षामा लगानी बढाए । कुशल जनशक्तिको व्यवस्थापन गरे र शिक्षालाई वैज्ञानिक र जीवनोपयोगी बनाए । शिक्षामा क्रान्तिकारी परिवर्तन भएकै कारणले अरु क्षेत्रमा पनि क्रान्तिकारी परिवर्तन देखियो र यसकारण चीन छोटो समयमै विश्वको शक्ति राष्ट्रमा दर्ज हुन पुग्यो । त्यसैले हाम्रो मुलुकलाई नेतृत्व गर्नेहरुमा पनि यो सद्बुद्धि पलाउनु पर्छ । शिक्षा र शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिलाई सम्मानजनक किसिमले प्राथमिकता दिनु जरुरी छ । यस सवालमा सरकारको समयमै सद्बुद्धि पलाएन भने शिक्षा क्षेत्रका शिक्षक लगायत सम्पूर्ण जनशक्ति एक भएर सद्बुद्धि दिनका लागि समेत अघि सर्नुपर्ने स्थिति छ । सबैलाई चेतना भया ।
मिति २०७८ साल जेठ ५ गते बुधबार
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button