२४ बैशाख २०७८, शुक्रबार

गाउँलेका चार कटाक्षहरु

नारायण गाउँले

कटाक्ष १
धन्न लोकतन्त्र छ !
ज्ञानेन्द्र गद्दीमा थिए ! असन इन्द्रचोकको भीड़मा उभिएर ज्ञाने चोर देश छोड् भन्ने नारा लगाइयो ! भीड़को मुख्य नारा नै हत्यारा माइलो मुर्दाबाद जस्ता रौँ ठड्याउने खालका थिए ! रत्नपार्कमा यस्तै नारा लगाउँदा प्रहरीले ट्रकमा कोचेर हलचोक पुऱ्यायो, एक घण्टा जति राखेर छोड़िदियो !
गद्दीमैं रहेको ‘निरङ्कुश’ राजालाई कुनै ठोस प्रमाणबिना चोर र हत्यारा भन्दा पनि जोगिइएछ भन्ने लाग्यो ! धन्न अहिले त लोकतन्त्र छ !

कटाक्ष २
कमसल नश्लका भेडा हामी

हामीले संसदमा बेसार माहात्म्य गाउँदै भारतीय भाइरसबारे व्यङ्ग्य गर्दै गर्दा भारत भ्याक्सिन उत्पादनमा व्यस्त रहेछ र आज हावामैं भए पनि तीन महिनामा सबैलाई भ्याक्सिन लगाइसक्ने भाषण गर्न पाइयो । दक्षिण एशियामा भ्याक्सिन सुरु गर्ने दोस्रो देश बन्न पाइयो ।
हामी त यो महामारीभरि कुर्सी, अध्यादेश, अपहरण र शक्ति प्रदर्शनमैं व्यस्त रहने भयौं । तैपनि, हाम्रा शासकको भाषणमा विश्व नै छक्क पर्ने गरी समृद्धि र त्यसमा हाम्रो ताली आएकै छ ! यस्तो कठिन कालखण्डमा देशको समय, साधनस्रोत र राजनीति कस्ले कति भेड़ा जम्मा गर्ने भन्नेमा केन्द्रित छ ! भेड़ाको पनि नस्ल हुन्छ होला ! लाग्छ, हामी त भेड़ामध्ये पनि साह्रै कमसल नस्लको भेड़ा हौं !

कटाक्ष ३
शासकसँग बहुविवाहको विशेषाधिकार

कानुनमा ‘बहुविवाह’लाई अपराध लेखिए पनि सरकारी वकिल परे भने बहुविवाह गर्न नपाइने भनेको बुहारीलाई बिहे गर्न नपाइने हो भन्ने तर्क गर्ने रहेछन् ।
अझ महान्यायाधिवक्ता नै परे भने त विश्वमा अन्य शासकले समेत एकभन्दा बढ़ी विवाह गरेको देखिएको र पृथ्वीनारायण शाहले समेत बहुविवाह गरेको नजीर भएकाले अहिलेको कानुनले निषेध गरे पनि शासकसँग बहुविवाहको विशेषाधिकार रहेको भन्ने हदसम्म बहस गर्ने रहेछन् ।

कटाक्ष ४
तीन घाउहरु

नेपालमा पछिल्लो राजनीतिले दिएका तीन ठूला घाउ छन्,
१-दलका नाममा गाउँ, समाज र घरभित्रै विभाजन र विद्वेष
२-क्रान्तिका नाममा विद्रोही र राज्यद्वारा हजारौं नागरिकको हत्या, र,
३-देशको सिङ्गो पुस्तालाई नै चरम निराशामा धकेल्ने आमहड़तालको शृङ्खला !
पहिलो घाउ त झनपछि झन आलो बन्दै गएजस्तो लाग्छ । साहित्य होस् या खेलकुद, प्राध्यापन होस् या सङ्गीत, चिकित्सा होस् या इन्जीनियरिंग, ताई न तुईको सिद्धान्त र दलको नाममा समाजका हरेक अङ्ग र घरमा खाड़ल छ । गहिरो घृणा र निषेध छ । यो एकआपसको विद्वेष कम नहोस् भन्नेमा सरकार स्वयं कम्मर कसेर लागेको छ ।
दोस्रो घाउ पक्कै खाटा बस्ने क्रममा छ तर तिनै दलहरू आआफ्नो स्वार्थका लागि यसलाई विभिन्न रङ्गमा रङ्ग्याइरहन्छन् । जसले भोग्यो, त्यो पुस्ता त्यसै पनि ठूलो ट्रमा मैं छ ।
तेस्रो घाउचाहिँ बिस्तारै निको हुने क्रममा थियो । कम्तिमा मूलधारको राजनीतिबाट यो आमहड़ताल या नेपाल बन्द सधैँका लागि बन्द भएजस्तो लाग्थ्यो । तर, निकम्माहरूले यसलाई पनि निको हुन नदिने भए !

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button