१८ मंसिर २०७८, शनिबार

तपाई व्यस्त कि अस्तव्यस्त ?- जीत बहादुर शाह

आलेख

एक दिन हाम्रो टोलमा टोलबासीकै अनुरोधमा घर पनि हाम्रै छिमेकी टोलमा भएका एकजना संघीय सरकारका माननीय मन्त्री टोलबासीसँग भेटघाट गर्न आउने निधो भयो । टोलबासीहरु स्वागतका लागि फूलमाला आदि लिएर तोकिएकै समयमा टोलको चोकमा हाजीर भए । मन्त्रीज्यू तोकिएकोे समयमा नआए पछि उपस्थित भएका केही मानिसहरु मुखामुख गर्न थाले । कतिले ठूलाबडाहरुको ताल यस्तै हो पनि भन्न थाले । कति त अन्यत्र काममा जानु परेको कारण उक्त स्वागत कार्यक्रम छोडेर हिडे । मन्त्रीलाई तोकेको समयभन्दा एकघण्टा पछि आउदा पनि कुरेर बस्नेमध्ये धेरै मानिसहरु उनीप्रति पहिलेदेखि सकारात्मक हुदै आएको भए पनि अव भने निधार खुम्च्याएर नकारात्मक भए । यो पङ्क्तिकार पनि त्यस्तै भयो, सकारात्मकबाट क्रमश: नकारात्मक । यी मन्त्री पनि अरु भन्दा फरक नभएर अरु जस्तै रहेछन् भन्ने अनुमान गरें । ठूलोबडो भएको नाममा व्यस्त होइन कि अस्तव्यस्त । आफूलाई व्यस्त देखाएर अरु सयौं मानिसहरुको समयलाई ध्वस्त बनाउने मान्छे ।
हाम्रो टोलमा आउने भनी समय दिएर ढिला आउने मन्त्री मात्र त्यस्ता नभइ उनीजस्ता ठूलाबडा भनेर चिनिएका हरेकको हालत त्यही हो । जसले आफ्नो समयलाई नै व्यवस्थापन गर्न सक्दैन, उसले अरु के व्यवस्था गर्ला ? मलाई भन्न पनि गाह्रो भइरहेको छ । यो दुनियामा सबैभन्दा महङ्गो र महत्वपूर्ण भनेकै समय हो । कुनै धनाढ्यले आफूलाई दुई मिनेटको लागि मात्र भए पनि बाल्यकालको समय दिनु पर्यो भनेर करोडौं रकम तिर्न तयार भयो भने पनि सम्भव छैन । तथापि मानिसले समयको महत्वलाई चिन्न सकिरहेको छैन । व्यक्तिको अस्तव्यस्तपन समयको महत्व नबुझेकै परिणामबाट सुरु हुन्छ । समयको महत्व नबुझ्ने मानिस नै हाम्रो समाजमा ठूलोबडोमा दर्ज भएको छ । त्यही ठूलोबडो मानिसले आफ्नो मात्र नभइ अरुको समय पनि अस्तव्यस्त बनाइरहेको छ । यो पङ्क्तिकारको नजरमा त्यस्ता मानिसहरु व्यस्त मानिस नभइ अस्तव्यस्त मानिस हुन् भन्ने लाग्छ । आफू अस्तव्यस्त भएकाले उनीहरुले देशलाई समेत अस्तव्यस्त बनाइरहेका छन् । आफैलाई अस्तव्यस्त बनाइसकेपछि देशको कुरा त के नै ठूलो भयो र !
संघीय सरकार गठन गर्न संघीय प्रधानमन्त्रीलाई ठ्याक्कै तीन महिना लाग्यो । कर्णाली र बाग्मती प्रदेशमा केही थान मान्छेहरुलाई मन्त्री बनाउन मुख्य मन्त्री र पार्टीका नेताहरुलाई हम्मे हम्मे भएको छ । उनीहरुको ढिलाइका कारणले देश र जनताले कति दु:ख पाइरहेका छन् भन्ने कुराको हिसाव छैन । त्यो उनीहरुको सरोकार र चासोको विषय नभएको अवस्था छ । कुनै नीति, पद्धति र सिद्धान्तमा भएको बिवादका कारण यो ढिलाइ भएको होइन । मात्र को मानिसलाई मन्त्री बनाउने सवालले ढिलाइ भइरहेको छ । मन्त्री बनाउनका लागि उनीहरुसँग कुनै आधार र मापदण्ड छैन । बार्गेनिङमा जसले अरुलाई पछार्न सक्छ उही मन्त्री हुने हो । मन्त्री हुनका लागि राजनीतिक दलहरुसँग सिद्धान्त र मापदण्ड हुने भए त यो कामका लागि एक एकदिनको समय पनि धेरै हुँदो हो सायद । मन्त्री भएपनि एक महिनाभन्दा बढि स्वागत, बधाइ र शुभकामनाकै निम्ति देश, प्रदेश दौडन्छन् मन्त्रीहरु । यस्तै यस्तैमा मुलुकको आधा वर्ष त्यत्तिकै अस्तव्यस्त वित्छ । त्यसपछि त सरकार ढल्ने र मन्त्री पद गुम्ने दिनका लागि काउण्टडाउन सुरु हुन्छ । अनि त यस्ता अस्तव्यस्तहरुको के अर्थ र के योगदान भयो त मुलुकको समुन्नतिका लागि ?
व्यक्तिगत एवम् सामाजिक र सार्वजनिक जीवनमा सधैंका लागि जीवनबाट अस्तव्यस्तलाई बाइबाइ गर्ने हो भने केही निश्चित सावधानीहरु अपनाउन जरुरी छ । त्यसरी अपनाउनु पर्ने सावधानी मध्ये जीवनमा प्राथमिकता के हो भन्ने कुरालाई कहिल्यै पनि भुल्नु हुदैन । त्यसका लागि जीवनका प्राथमिकताहरु पहिचान र किटान गरी त्यसरी किटान भएका प्राथमिकताहरुलाई जीवनभन्दा पनि प्यारो गरेर अगाडी बढाउनु पर्छ । कतिपय जीवनमा प्राथमिकता तोकेर काम गर्ने मानिसहरुलाई बिना कारण आफ्नो र अरु कसैको एक मिनेट समय बरबाद गर्नका लागि समेत फूर्सद हुदैन । तिनीहरु नै व्यस्त मानिस हुन् र व्यस्त मानिस नै यो समाज र दुनियाको अनुकरण गर्नलालयक मानिसहरु हुन् । सकिन्छ भने जीवनका प्राथमिकताहरु तोकेर हामी पनि त्यसरी नै व्यस्त हुन सिक्ने कि ? व्यस्त हुन सिकियो भने जीवनबाट अस्तव्यस्त त कुलेलम ठोकेर भाग्छ । उज्यालो आएपछि अध्यारोले कुलेलम ठोकेजस्तै हुन्छ अनि हाम्रो जीवन ।
कतिपय मानिसहरु रातीमा अबेरसम्म नसुत्ने र बिहान ढिला गरी उठ्ने हुन्छन् । त्यस्ता मानिसहरुका लागि बिहानको जीवन अस्तव्यस्त हुने गर्दछ । मतलव उनीहरुलाई समय पुग्दैन । कति बेला नुहाउने, कतिबेला खाना बनाउने ? कतिबेला खाने ? कतिबेला कपडा धुने अनि मिलाउने ? आदि आदिमै समय नपुगेर हतारो भइरहेको हुन्छ । त्यसमा पनि अपर्झट चिया एवम् खाना खानका लागि कोही अतिथि आयो भने त झन तनाव ! झन अस्तव्यस्त ! यसका बिपरित बिहान ७ बजे उठ्ने मानिसले बिहान ५ बजे नै उठने बानी गर्यो भने ती सबै कुराको सहज व्यवस्थापन हुदैजान्छ किनभने समय प्रशस्त हुन्छ । यसले गर्दा बिहानीले दिनको झल्को दिन्छ भने झै बिहानको फ्रेसनेसले दिउसभरि पनि फ्रेस भएर काम गर्न सहयोग पुग्छ । अतयव विहान सबेरै उठ्नेहरु भन्दा अबेर उठ्नेहरु तुलनात्मक रुपले बढि अस्तव्यस्त हुने गर्दछन् । त्यसैले जीवनलाई स्वाभाविक रुपमा व्यस्त र मस्त बनाउने हो र जीवनबाट अस्तव्यस्तलाई भगाउने हो भने बिहान सकेसम्म सबेरै उठ्ने बानी गर्नु राम्रो हुन्छ ।
कतिपय मानिसहरुले धेरै काममा हातहाल्छन् र अरुलाई विश्वास नगरी सबै काममा आफै अघि सर्छन । यस्ता मानिसहरु पनि व्यस्त भन्दा पनि अस्तव्यस्त हुने गर्दछन् । यस्ता मानिसहरुले अरुबाट हार्दिकतापूर्वक माया र सहयोग पनि पाउन सक्दैनन् । यसको कारण स्पष्ट छ कि उनीहरुले पनि अरुलाई माया र विश्वास गर्न जानेको हुदैनन् । माया र विश्वास नगरेकै कारण मानिस सबै ठाउमा आफै दौडिरहेको हुन्छ । समयलाई सही रुपमा व्यवस्थापन गरेर आवश्यक काममा मात्रै आफू खटिने मानिसहरुले कामको बारेमा सोधपुछ र जानकारी लिने त गर्छन नै तर आफ्नै हातले काम गर्नुपर्छ भन्ने मान्यता राख्दैनन् । व्यवस्थापनमा यसलाई ‘ह्याण्ड्स अफ एण्ड आइज ओपन’ विधि भनिन्छ । यस्ता मानिसहरुले अरुलाई विश्वास र माया गर्न पनि जानेका हुन्छन् र यसकारण यस्ता मानिसहरुले अरुबाट पनि माया र विश्वास पाउने गर्छन । यस्तै मानिसहरुको जीवन योजनाबद्ध किसिमले व्यस्त हुन्छ । योजनाबद्ध किसिमले भएको व्यस्त जीवनले उपलब्धी पनि त्यही किसिमले आर्जन गरिरहेको हुन्छ ।
योजनाबद्ध किसिमले व्यस्त हुने मानिसहरुले भोलि के काम गर्ने भनेर बेलुका बेडमा जानु पहिले नै पुनरावलोकन गर्ने गर्दछन् । दिनभरि अस्तव्यस्त हुनेहरुले बिहान उठेपछि मात्रै के गर्ने भनेर योजना बनाउन थाल्छन् । योजना बनाउदा बनाउदै बिहानी भागिसकेको हुन्छ । कतिपय बिहानै गर्नुपर्ने कामको हदम्याद गुज्रिसकेको हुन्छ । तनाव त्यहीबाट सुरु हुन्छ । यस्तैमा कसैको अनपेक्षित फोन आउछ, त्यसले तनावको पारोलाई झन् बढाउछ । परिवारका सदस्य वा आफन्त वा सहकर्मीहरुबाट आफूले अपेक्षा गरेअनुसार काम नभएको जानकारी हुन्छ । तनावको पारो यसबाट झन् बढ्न थाल्छ । त्यसकारण यदि भोलीको जीवन अस्तव्यस्त होइन कि व्यस्त भएर बिताउने रहर छ भने अघिल्लो बेलुका नै त्यो दिनभरि गरेका कामको समीक्षा गर्ने र भोली गरिने कामको सूची बनाउन सकेमा जीवन साँच्चिकै व्यस्त र मस्त हुने कुरामा द्विविधा हुदैन । राम्रो काम गर्ने त्यो दिनको योजना नै नभएपछि त्यो स्थान त्यसै पनि नराम्रो कामहरुले ओगटिदिन्छ । किनभने संसारमा नराम्रा र अस्तव्यस्त भएका मानिसहरु नराम्रो र अस्तव्यस्त हुने भनेर भएका होइनन्, उनीहरुसँग राम्रो हुने योजना नभएका कारण त्यस्ता भएका हुन् ।
अब्राहम लिङ्कनले भनेका छन् – ‘यदि मलाई रुख काट्नका लागि कसैले ६ घण्टा समय दिन्छ भने त्यसमध्येको ४ घण्टा मैले बञ्चरो उद्याउनमा खर्च गर्नेछु ।’ उनको भनाइ अनुसार बञ्चरो उद्याउनु भनेको योजना बनाउनु हो । योजना गतिलो बन्यो भने समयको बरबादी र अस्तव्यस्तबाट मानिसले आफूलाई त जोगाउछ नै उसले अरुलाई पनि समयको उपयोग गर्दै अस्तव्यस्त हुनबाट जोगाउछ । उसले यो कुराको सुरुवात बेडबाट उठेदेखि आरम्भ गर्छ । सर्वप्रथम त उठेपछि आफ्नो बेड मिलाउछ । त्यसपछि कोठामा भएका सामानहरु ठीक ठिक ठाउमा व्यवस्थित किसिमबाट राखिएका छन् कि छैनन् भन्ने अवलोकन गरी नमिलेको भए मिलाउदै आफ्नो नित्य कर्म सुरु गर्छ । परिवेशका सबै कुरा मिल्दै गएपछि उसका मस्तिष्कका फाइलहरु त्यसै पनि मिल्दै जान्छन् । मस्तिष्कका फायलहरु मिल्नु भनेको मानिस व्यवस्थित हुनु हो । कतै फायलहरु व्यवस्थित छैनन् भने सकारात्मक सोचरुपि कुचिले फायलहरुलाई खोल्दै र मिलाउदै जानु पर्दछ । यसले गर्दा दिनभरिका कर्महरु पनि व्यवस्थित र उपलब्धिमूलक हुदै जान्छन् ।
सारमा भन्नुपर्दा, कतिपय मानिसहरु व्यस्तको नाममा अस्तव्यस्त हुन्छन् ।
त्यसकारण पनि चश्मा टाउकोमा लगाएर मेरो चश्मा खै भनेर घरभरि रडाको मच्चाउछन् । ताल्चाको साँचो आफ्नै गोजीमा राखेर घरघरि साँचो खोज्दाखोज्दै हैरान हुन्छन् । कलम हातमा समातेर कलम खोजिरहेका मानिसहरु पनि भेटिन्छन् आदि आदि । यसो हुनबाट बच्नका लागि कामको प्राथमिकता तोकेर कामको आरम्भ गरौं, हुन नसक्ने कामका निम्ति मानिसलाई आश्वासन बाँड्ने होइन कि शिष्टतापूर्वक ‘नो’ भन्न सिकौं । इन्द्रीयको दास बनेर देखेको जति सबै कुराका निम्ति भौतारिने होइन कि घाँटी हेरेर हाड निल्न सिकौं । गर्नुपर्ने कामलाई अन्तीम अर्थात इलेभेन्थ आवरसम्म नकुरेर समयमै सम्पादन गरौं । फोन, फेसबुक लगायत इन्टरनेटमा अनावश्यक रुपमा झुण्डिने काम पनि बन्द गरौं । यति हुँदाहुदै पनि आफूसँग भएका शब्दको उचित प्रयोग गर्दै मानिससँगको सम्बन्धलाई सुमधुर बनाउने सवालमा भने कहिल्यै पनि कञ्जुस्याइ नगरौं । यति गर्न सकियो भने मन्त्रीदेखि मगन्तेसम्मको जीवन अस्तव्यस्त नभएर रमाइलो र उपलब्धिमुलक किसिमको हुने र यसको प्रतिफल व्यक्ति, समाज र समग्र मुलुकले समेत प्राप्त गर्ने कुरामा कुनै सन्देह छैन । सबैलाई चेतना भया ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button