१९ श्रावण २०७८, मंगलवार

नेपाल हाँस्तै पसोस्

कवि जयदेव गोविन्द

मेरो भाल हिमाल, वक्ष पहरा, मैदान आधार हून्
टोपी लेक, निकुञ्ज वस्त्र, छहरा शृङ्गार बुट्टा बनून्
घाँटी खोँच, उपत्यका उदरझैँ भन्ज्याङको कम्मर
मेरा अङ्गउपाङ्गभित्र सजियोस् नेपाल यो सुन्दर ।१।
.
नेपाली वनवृक्षका पवनले यी अङ्ग ठन्डा बनून्
आफ्नै पौरख, सीपले स्वघरका छानो, बरण्डा बनून्
नेपाली जलवायुमै लगनले धर्ती पगारूँ यहीँ
कोदो, धान, मकै र फापर सयौँ बाली उमारूँ यहीँ ।२।
.
पाक्दै अन्न मधेस होस् कनकझैँ फाँटै सुनौला बनून्
आफ्नो स्वर्ग भुलेर देवगणले नेपाल राम्रो भनून्
अर्को जन्म मिलाउँदै जनक वा सिद्धर्थ आऊन् यतै
सीता साथ लिएर फेरि भृकुटी तारा उदाऊन् यतै ।३।
.
पूर्वी द्वार बिहान सूर्य समता बोकेर आओस् सधैँ
ढल्की पश्चिम बेलुका विषमता पोलेर जाओस् सधैँ
इन्द्रेणी बहुरङ्गले क्षितिजमै माला सजाओस् सधैँ
पारी व्योम खुलस्त इन्दु जगमा ओर्लेर आओस् सधैँ ।४।
.
पग्ली शीतल मेघले उदयका धारा बगाओस् नयाँ
उघ्री व्योम उमङ्गले प्रकृतिमा माया लगाओस् नयाँ
सारा मार्ग खुलेर अग्रगतिका आधार राम्रा बनून्
पाखा, फाँट, मधेश, लेक सबले नेपाल हाम्रो भनून् ।५।
.
मेची छाल बनेर यो मुलुकका कालो प्रथा फालियोस्
कालीमा हतियार निर्मल बनी चोखो प्रथा थालियोस्
आस्थाका दरबार मन्दिर यही मेरै धरामा बनून्
मेरो धर्म इमान, बाबु गरिमा, नेपाल आमा बनून् ।६।
.
उठ्दा शान्त सुरम्य देश मनले हेरेर उठ्ने गरूँ
मेरो देश भनेर सास पहिलो फेरेर उठ्ने गरूँ
आफ्नो भूमिसँगै अथाह गहिरो आत्मीय माया बसोस्
छाती चर्र चिरेर यो हृदयमा नेपाल हाँस्तै पसोस् ।।
.
 लयढाँचाः शार्दूलविक्रीडित
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button