३ जेष्ठ २०७८, सोमबार

माक्सभित्रका मुस्कानहरू !

प्रभात सुवेदी

आठ महिनाछि उनीसँग उनको भेट भयो । कोभिडलाई भूईँमा पछार्दै उनले उनलाई घप्लक्क अँगालोमा बेरिन् र मित्रभावको गंगा यसरी बगाइन् कि मृत्यूको मुखमा पुगेर पुनर्जन्म भएको हो कि जस्तै गरेर ! अतासहरु सबै छचल्किएर पोखिए । आफूलाई चङ्गाजस्तै बनाएर उनले फुरुङ्ग पर्दे फेरि भनिन् ‘साथी मिस्ड यू सो मच !’

फेस सिल्डका साथमा कक्षाकाेठामा विद्यार्थी

राष्ट्रिय परीक्षा बोर्डले देशभरका विद्यालयहरूलाई कक्षा एघारको अन्तिम परीक्षा लिनको लागि निर्देशन ग¥यो । यससँगै बोर्डले निर्देशिका समेत जारी गरेर उच्च सुरक्षा सावधानी अपनाई कक्षा एघारको अन्तिम परीक्षा लिनको लागि विद्यालयलाई नै जिम्मा दिएपछि अधिकांश विद्यालयहरूले सोही निर्देशिका बमोजिम नै परीक्षा सञ्चालन गर्न शुरु गरे । कहिँ कतै कात्तिक महिनामा नै कक्षा एघारको परीक्षा सम्पन्न गरीयो भने कतै भने मंसिरको पहिलो सातामा शुरु गरेर कक्षा बाह«को परीक्षा तालिका अगावै अर्थात मंसिर ८ गतेभित्र सम्पन्न गरे ।

त्यसैगरी कक्षा बाह«को परीक्षा भने मंसिर ९ गतेदेखि नै शुरु भयो । दूरी कायम गर्दै तथा माक्स, सेनिटाइजर, हात धुने लगायतका स्वास्थ्य सुरक्षा सावधानी अपनाई शुरु भएको कक्षा १२ को परीक्षा पनि सफलतापूर्वक सम्पन्न भयो । कहिँ कतै परीक्षाकै कारण संक्रमण फैलिएको भन्ने सुन्नमा आएन । यसले देशभर एउटा पाठ पनि दियो । थप नयाँ कुरा परीक्षाले सिकायो भने राष्ट्रिय परीक्षा बोर्डले पनि केही नयाँ विषयहरू सफल प्रयोग गरेर सिकाइ ग¥यो । खासमा के भने अहिलेको बोर्ड परीक्षाको क्रममा परीक्षा हलमा न त प्रहरी न त कुनै सुरक्षा निकाय, न त प्रहरी कार्यालयमा नै प्रश्नपत्र लिन जानु प¥यो । प्रश्नपत्रहरु परीक्षा शुरु हुनुभन्दा आधाघण्टा अगाडि विद्यालयको आधिकारीक ठेगानामा मेलमार्फत पठाइएको थियो । जसलाई विद्यालयले नै प्रिन्ट आउट गरेर परीक्षार्थीहरुलाई वितरण गरेको थियो । मंसिरको तेस्रो साताको शुरुवातीमा नै परीक्षा सम्पन्न भयो । कक्षा १२ को परीक्षाले पनि केही ढुक्क हुने अवस्था सिर्जना ग¥यो । अझ परीक्षालाई व्यवस्थित र मर्यादित बनाई विद्यार्थीहरुमा थप तनाव नहोस् भनेर बोर्डले विद्यार्थीहरु भएकै स्थानमा परीक्षा दिने व्यवस्था बोर्डले मिलाएको थियो । यतिमात्रै नभएर कोभिड संक्रमण तथा संक्रमणजस्तै लक्षण भएका तथा आशंकामा रहेका र परीक्षणका लागि स्वाब दिएका परीक्षार्थीहरुका लागि पनि अलग्गै परीक्षाका लागि कोठा व्यवस्थापन गरेर परीक्षा सञ्चालन गरिएको थियो । यसरी कति जना विद्यार्थीहरुले परीक्षा दिए पनि तथ्याङ्क भने थाह पाइएन ।

यसरी कक्षा ११ र १२ का परीक्षाहरु सहजै सम्पन्न भएपछि अब पठनपाठनको शुरुवात दूरी कायम गरेर, सिफ्टिङ गरेर सञ्चालन गर्न सकिने भएकाले केही पालिकाहरुले विद्यालय खोल्नका लागि शुरुवात गर्न थाले । यसका लागि कतिले विद्यालय सञ्चालन निर्देशिका बमोजिम विद्यालय सञ्चालन गर्न थाले । कतै एउटा बेन्चमा एकजना राखेर पठनपाठन शुरुवात गरियो भने कतै बेन्चमा दुईजना राखेर पठनपाठन शुरु गरियो । फाट्टफुट्ट गरेर खुलाइएका विद्यालयहरु मंसिर तेस्रो साताबाट फटाफट खुल्न थाले ।

निकै फरक दृश्य विद्यालय पोशाकमा विद्यार्थीहरु बाटोमा देखिँदा पनि निकै फरक दृश्य जस्तो लाग्ने । करिब नौ महिनाको समयावधिपछि विद्यालय खुल्दा छुट्टै रौनक छायो । नछाओस पनि त कसरी ? देशका उद्योग, कलकारखाना, व्यवसाय, सरकारी तथा गैर सरकारी कार्यायलहरु, संसद बैठक, अन्य संस्थागत गतिविधिहरू, स्वास्थ्य क्षेत्र लगायतका सेवाहरु, निर्माण कार्यहरु, कृषिकर्महरु निरन्तर सञ्चालन भैरहेको अवस्थामा मात्रै विद्यालय नखोलिनु निकै निराशाजनक कुरा थियो । यस बिचमा बालबालिकाहरू निकै फूर्सदिला भए भने अभिभावकहरुलाई विद्यालय कहिले खुल्ला भन्ने चिन्ता र चासो लगातार रहिरह्यो । यसरी लामो समयपछि विद्यालय खुल्दा पहिलो दिन एकजना, दोस्रो दिन दुई जना, तेस्रो दिन तीन जना, चौथो दिन चार जना हुँदै पाँच पाँच जना प्रति बेन्चमा विद्यार्थीहरु बस्दै जाने अवस्था आएपछि जोर विजोर प्रणालीबाट कक्षा सञ्चालन गरियो । अब यसरी कक्षा सञ्चालन गर्दा कक्षाकोठाभित्र त दूरी कायम होला तर खुला मैदानमा भने लामो समयपछि यसरी स्वतन्त्रता पाएका बालबालिकाहरुमा धैर्यता भने देखिएन । लामो समयपछि भेट हुँदा घम्लङ्ग अँगालो हालेर भावनात्मक रुपमा सम्बन्धलाई पोखिरहेका पनि देखियो दृश्यहरू ।

कोभिडबाट निकै सुरक्षित मानिएको कर्णाली प्रदेशमा विद्यालय सञ्चालनकै कारण दर्जन बढी विद्यार्थी तथा शिक्षकलाई नै संक्रमण देखियो । यति मात्रै हैन बर्दिया जिल्लामा पनि केही शिक्षकहरु लगातार संक्रमित भइरहनु परेको छ । तर अहिले आएर सिफ्टिङ प्रणाली तथा जोर बिजोर प्रणालीले कक्षाकोठाहरुमा शिक्षण सिकाइ क्रियाकलापहरू शुरु त भए तर शैक्षिक शत्र अनि परीक्षा लगायतका कार्यक्रमहरु के हुने भन्ने सवालमा झनै अन्यौलता बढेर आएको छ । मन्त्रालय केही बोलेको छैन । पाठ्यक्रम समायोजन ढाँचाले पाठ्यवस्तुहरुलाई संकुचन गरेर पढाउन र केही केही पाठहरु नपढाउनका लागि निर्देश गरेको छ । तर, हरेक कामको लागि योजना र गन्तब्य अनिवार्य हुन्छ । कुनै यात्रु यात्रामा निस्किन्छ भने उसलाई कहाँ पुग्ने हो भन्ने कुरा जानकारी हुनै पर्दछ । गन्तब्य विनाको यात्रा जतिबेला पनि दूर्घटनामा पर्न सक्ने सम्भावना हुन्छ । यो सम्भावना शैक्षिक क्षेत्रमा पनि नदेखिएला भन्न सकिँदैन ।

पछिल्लो समयमा माक्स लगाउने बाहेक अन्य सुरक्षाका सावधानीहरू बालबालिकाहरुमा केही देखिँदैन । कोहीकोहीले कक्षाकोठामा सेनिटाइजर प्रयोग गर्नु बाहेक अन्य सावधानीहरु अपनाउन कक्षाकोठामा संभव नै छैन । अझ पौष महिनाको यो चिसो मौसममा हात धुने कुरा त झनै संभव भएन । दुई सिफ्ट गरेर विद्यालय सञ्चालन भएतापनि पूरा विषयहरु पठनपाठन अझै पनि हुन सकिरहेको छैन । कोही शिक्षकहरु आफूमा संक्रमण हुने पो हो कि भनेर कक्षाकोठामा जान समेत अप्ठ्यारो मानिरहेकै होलान् ।

अझ अर्को कुरा त के भने कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको पठनपाठन पनि शुरु त भएको छ तर कतै नयाँ कतै पुरानो पाठ्यक्रम अनुुसार पठनपाठन भैरहेको पाइन्छ । भदौ १ गते पाठ्क्रम विकास केन्द्रद्वारा कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाउन विद्यालयहरुलाई निर्देशन दिइएको थियो । असोज २८ गते भगवता अर्यालद्वारा नयाँ पाठ्यक्रमविरुद्ध विना तयारी शैक्षिक शत्रको मध्यमा नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन दिएको भनी सर्वोच्व अदालतमा मुद्दा दायर भयो । यसको लगत्त ै कार्तिक ३ गते शिक्षा मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार नै पठाउन विद्यालयहरुलाई निर्देशन दियो । यसैगरी फेरी कार्तिक २० गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश जारी गर्दै कार्तिक २६ गते छलफलका लगि बोलायो । तर, २६ गते नै फेरी  मंसिर ४ गतेलाई पेसी सारियो । मंसिर ४ गते पनि पेसी सारेर मंसिर २४ गते पु¥याइयो । मंसिर २४ गते पनि सर्वोच्च अदालतले यसका बारेमा फैसला गर्न नसकेपछि पुष ६ गतेका लागि पेसी सारेको छ । यसरी भदौदेखिको यो किचलो पाँच महिनासम्म जारी रहन्छ भने शैक्षिक क्षेत्र कसरी उकासिएला ? यसले एउटा गम्भीर प्रश्न आम विद्यार्थी, अभिभावक, शिक्षाका सरोकारवाला निकायहरु र शिक्षाविद्हरुमा जन्माएको छ ।

एकातिर यी यावत समस्याहरु रहेका छन् भने अर्कातिर ४५ मिनेटको पिरियड घटाएर ३५ मिनेट बनाउँदा एक त कक्षामा समय नै नपुग्ने देखिन्छ भने भौतिक उपस्थितीमा माक्स लाएर पठनपाठन गर्दा कुनै औचित्य नै देखिँदैन । सुरक्षाका लागि माक्सको प्रयोग त अनिवार्य होला तर भौतिक उपस्थितीमा पठनपाठन गर्दा अनुहारको हाउभाउले निकै महत्व राख्दछ । मुखमा चुइँगम चपाएका छन् वा चाउचाउ खाइरहेका छन्, हाइ काडेर बसेका छन् वा खुसुखुसु आफ्ना साथीहरुसँग गफ गरेर बसेका केही थाहा हुँदैन । माक्स लगाएर विद्यालय जाँदा त सुर्ती तथा सुपारीजन्य पदार्थहरू सेवन गर्ने बानी परेकाहरुलाई त बरदान नै भएको होला । मुखमा राख्यो पिरियडभरी कुटुकुटु चपायो, क्या गज्जब ! यसो भन्दैमा सबै विद्यार्थीहरुको नियत यस्तो नहोला तर नहोला भन्दैमा हुँदै नुहँने भने होइन ।

अर्को कुरा कक्षाकोठामा शिक्षकले विद्यार्थीको अनुहारबाट उसको मनोविज्ञान बुझेर मात्रै शिक्षणसिकाइ क्रियाकलाप अगाडि बढाउन सक्छ तर मुख छोपिएपछि त विद्यार्थीहरुलाई नामले बोलाउन पनि मुश्किल पर्दो रहेछ । अझ बाहिरबाट आएर नयाँ भर्ना भएका विद्यार्थीहरुलाई चिन्न पनि मुश्किल हुँदो रहेछ । मुहारको हाँसो टालेर गरिएको शिक्षण सिकाइ क्रियाकलाप त निकै निरस र अधुरो जस्तो पो लाग्ने रहेछ ।

महिनौसम्मको भारीले कान पनि थाकिसकेको छ, माक्स बोक्दा बोक्दा । आशा गरौँ अब कानमा माक्स अड्याउँदा अड्याउँदा भएका कनपट्टीका घाउहरुलाई अलि सास्ती मिल्नेछ । विद्यालयमा अध्ययन गर्न आउने सबै बालबालिकाहरुका मिठा मुस्कानहरू प्रतक्ष्य हेर्दै, अनुहारबाट व्यक्ति पहिचान गर्दै नामबाट सम्बोधन गर्दै रमाई रमाईकन पठाउने रहर यो पंक्तिकार शिक्षक जाहेर गर्दछ ।

(पंक्तिकार बगलामुखी राधाकृष्ण थारु मा.वि. गुलरिया बर्दियामा अध्यापनरत छन् ।)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button