२१ श्रावण २०७८, बिहीबार

मानव जीवनमा सकारात्मक सोचको उपादेयता

जीतबहादुर शाह

छोरी र म सँगै खाना खान बस्यौं भने कतिपय अवस्थामा छोरीले मलाई अपलक हेरिरहेकी हुन्छिन् । कहिलेकाही ‘आफूले खुरुखुरु नखाएर किन अरुले खाएको हेरेको’ भनेर पनि कराउछु म छोरीसँग । छोरीले जवाफ दिन्छिन् – ‘हजूरले खाएको हेरिरहन मन पर्छ ।’ मतलव मेरो खाना खाने तरिका छोरीलाई मन पर्छ रे । त्यसो त मेरो खाना खाने तरिका खाना तयार गर्ने मेरो जीवन साथीलाई पनि मन पर्छ । यसो हुनुमा कारण अरु केही होइन । म भोक नलाग्दासम्म खानाका लागि तयार हुदिंन । अर्थात जतिबेला पनि अलि अलि खाइरहने बानी छैन मेरो । भोक लागेर खाना खान बस्ने हो भने मलाई खाना बहुत मीठो लाग्छ । मन लगाएर खान्छु । मेरो भोक मेटाउने हरेक दिनको त्यो खाना विधाताको प्रसाद जस्तो लाग्छ मलाई । त्यसैले पनि खानामा कहिल्यै कुनै गुनासो गर्नुपर्ने आवश्यक देख्दिन म । मलाई भोक पनि मीठो लाग्छ र भोक मेटाउने भोजन पनि मीठो लाग्छ । त्यसकारण म खानाको लागि गुनासो भन्दा पनि आभार प्रकट गर्छु सम्बन्धित पक्षलाई । त्यसकारण पनि मेरो खाना खाने तरिका हेरिरहन मन लाग्छ मेरी छोरीलाई । मलाई यो पनि लाग्छ कि मैले हरेक दिन खाने खाना त्यसैपनि मीठो हुन्छ त्यसमा पनि खाना प्रतिको मेरो सकारात्मक सोचले मेरो खानालाई अझै मीठो र स्वादिलो बनाउँछ, सुनमा सुगन्ध भरिएजस्तै ।
सवाल खानालाई मीठो, रुचिकर र स्वादिलो बनाउने मात्र होइन, सकारात्मक सोचले जीवनमा असम्भव कामहरुलाई पनि सम्भव बनाइदिन्छ । विष्टन चर्चिलले भनेका छन्– ‘निराशावादीहरुले अवसरलाई पनि समस्याको रुपमा देख्छन् भने आशावादीहरुले समस्यालाई पनि अवसरको रुपमा देख्छन् ।’ चर्चिलका अनुसार आशाबादी मानिसहरु भनेका सकारात्मक सोच भएका मानिसहरु हुन् । उनीहरु सकारात्मक भएकैले खुशी र उमंगित हुन्छन् भने खुशी र उमंगित भएकै कारणले उनीहरु आफ्नो काममा सफल पनि हुन्छन् । त्यसकारण पनि खुशी र सफलताको सम्बन्ध अन्योन्याश्रित छ । खुशीले सफल हुन सहयोग गर्दछ भने सफलताले खुशी हुन सहयोग गर्दछ । अर्थात सफल भएपछि जसरी खुशी पाइन्छ, खुशी भएपछि सफलता पनि त्यसरी नै प्राप्त गर्न सकिन्छ । जीवनको दिनचर्या यसरी अगाडि बढ्यो भने मानिसको जीवनमा लाभका पक्षहरु पल्लवित हुन थाल्छन् । जस्तैः सकारात्मक सोचका मानिसहरुमा तनाव कम हुन्छ, रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति बढि हुन्छ, शारीरिक र मानसिक निरोगिताको अवस्थामा सुधार हुन्छ र काम गर्ने क्षमतामा विकास हुन्छ आदि ।
उत्तर क्यारोलिनाकी सकारात्मक मनोविज्ञानकी अनुसन्धाता फ्रेडरिक्सनले सकारात्मक सोचको प्रभावको बारेमा गरेको एउटा अनुसन्धान चर्चामा चुलिएको पाइन्छ । उनले आफूले अनुसन्धान गर्ने मानिसहरुलाई पाँच समूहमा बाँडेर अनुसन्धान गरेकी थिइन । अनुसन्धानको क्रममा पहिलो समूहलाई आनन्द र दोश्रो समूहलाई सन्तुष्ठी मिल्ने किसिमको भिडियो क्लिप देखाउने काम गरियो । त्यसैगरी तेस्रो समूहलाइ त्यस्तो कुनै मानसिक असर नपर्ने किसिमको भिडियो क्लीपको देखाउने काम भयो । चौथो समूहलाई त्रास र पाँचौ समूहलाई आक्रोस पैदा हुने किसिमको भिडियो क्लीप देखाउने काम गरियो । केही दिनसम्म उक्त भिडियो क्लीप हेरिसकेपछि वास्तविक जीवनमा त्यस्तो भएको भए के गर्नु हुन्थ्यो भनेर लेख्नका लागि अनुरोध गर्दा त्रास र आक्रोस पैदा गर्ने भिडियो क्लीप हेरेकाहरुले एकदमै कम मात्र लेख्न सके । आनन्द र सन्तुष्ठि मिल्ने किसिमको भिडियो क्लीप हेरेकाहरुले कुनै मानसिक प्रभाव नपर्ने भिडियो क्लीप हेरेकाहरुले भन्दा पनि धेरै कुरा लेखेर प्रस्तुत गरे । यसबाट यो प्रष्ट भयो कि मानिसहरुलाई उर्वर, सिर्जनशील र क्षमतावान बनाउनका लागि आनन्द र सन्तुष्ठिले उल्लेख्य भूमिका निर्वाह गर्दछ ।
सकारात्मक सोच र मुटुसम्बन्धी रोगको बीचमा पनि निकै नजीकको सम्बन्ध देखाएका छन् अनुसन्धानकर्ताहरुले । मुटुसम्बन्धी वंशाणुगत समस्या भएका व्यक्तिहरुमा सकारात्मक चिन्तनको विकास गर्न सकिएको अवस्थामा उनीहरुमा देखिने मुटुसम्बन्धी समस्याहरु एक तिहाइको दरले कम भएको पाइएको छ । सकारात्मक चिन्तनले मानिस मुस्कुराउने बनाउछ । मुस्कुराउनु भनेको खुशी हुनु हो । मानिस खुशी हुँदा शरीरमा त्यस्ता प्रकारका रसायन र हर्मोनहरुको उत्पादन हुन्छ जसले मानिसलाई स्वस्थ र उर्जावान बनाउन सहयोग गर्दछ । यसको विपरित मानिस निराश र बेचैन हुँदा मानिसको शरीरमा त्यस्ता प्रकारका रसायन र हर्मोनहरुको उत्पादन हुन थाल्छ जसले मानिसलाई रोगी र कमजोर बनाउछ । यस प्रकारका अनगिन्ति प्रयोग गरेर बैज्ञानिकहरुले यो कुराको पुष्टि गरेका छन् । यो पङ्तिकारले प्रस्तुत गरेको फ्रेडरिक्सनको प्रयोगले समेत खुशी हुँदा मानिस उर्जावान हुने कुराकै पुष्टि गरेको छ । यत्ति मात्रै होइन, खुशी र आशाबादी हँुदा र बेचैन र निराशावादी हुँदा जीवनमा के कस्तो असर पर्छ भन्ने कुराका भुक्तभोगीहरु हामी स्वयम् भएको कुरामा पनि कुनै विवाद छ जस्तो मलाई लाग्दैन ।
जीवनमा सकारात्मक चिन्तनको विकास गर्नका लागि बैज्ञानिकहरुले थुप्रै तरिकाहरु सुझाएका छन् । प्रायजसो मानिसहरु जव बेडमा गएर निदाउने तयारी गर्छन । त्यतिबेला उनीहरुको स्मृतिमा दुई प्रकारका मानिसहरु सम्झनामा देखा पर्न सक्छन् । एकथरी असाध्यै मन पर्ने र अर्कोथरी असाध्यै घृणा गर्ने । मन पर्ने मानिसहरुको सम्झना आयो भने त यसले मानिसलाई मिठो निद्राका लागि मात्र होइन मिठो सपनाका लागि समेत सहयोग गर्दछ । यसको उल्टो आफूले घृणा गर्ने मानिस स्मृतिमा आयो भने त्यसले निद्रालाई समेत बाधा पुरयाउछ र निदाएपछि देखिने सपनालाई समेत विकृत बनाउछ । यस्तो अवस्थामा मानिसहरुले सकेसम्म बेडमा गइसकेपछि आफूले मन पर्ने मान्छे एवम् आफूले गरेका राम्रा कुराहरुको सम्झना गर्नका लागि मष्तिष्कलाई अभ्यस्त बनाउनु पर्दछ । योगी विकासानन्दका अनुसार हरेक साँझ बेडमा जानु पूर्व आफूले त्यो दिनभरि गरेका कुनै पाँचवटा कामहरु टिपोट गर्ने वा सम्झने बानी गर्नुपर्दछ । यसले गर्दा मानिसमा समयमै खुशीपूर्वक निदाउने आदतको विकास हुन्छ, मीठो सपना देख्न सहयोग गर्दछ र परिणामतः स्वास्थ्यमा यसको असर सकारात्मक पर्दछ ।
मानिसभित्र सकारात्मक चिन्तनको विकास गर्ने एउटा अर्को उपाय भनेको योग हो । योगले मन र शरीरलाई जोड्ने काम गर्दछ । यसले व्यक्तिलाई कुनै विषयमा एकाग्र भएर चिन्तन गर्ने शक्तिको विकास गर्न सहयोग गर्दछ । यसका लागि अरु केही गर्न नसके पनि हरेक दिन समय मिलाएर विहान एवम् बेलुका सुत्ने समयमा दश मिनेट सम्म मात्र भएपनि आँखा चिम्लेर लामो श्वास लिने र विस्तारै श्वास छोड्ने अभ्यास ग¥यौं भने यही अभ्यासले नै मानिसका धेरै नकारात्मक क्रियाकलापहरु ठीक हुदै जान्छन् । त्यसरी नै मानिसभित्र सकारात्मक चिन्तनको विकास गर्ने अर्को महत्वपूर्ण उपाय भनेको कुनै पनि विषय वा व्यक्तिभित्र सकारात्मक कुराको खोजी गर्नु हो । एउटा कुरा के सत्य हो भने हरेक व्यक्ति, वस्तु वा विषयभित्र केही न केही राम्रा पक्ष हुन्छन् जव कि विग्रिएर चल्न छोडेको घडीले समेत दिनमा दुईपटक ठीक समय दिन्छ । यस्तो अवस्थामा कुनै पनि व्यक्ति, वस्तु वा विषयभित्र रहेका सकारात्मक कुराहरुलाई खोजी गरेर तिनै सकारात्मक पक्षलाई सम्झदै खुशी हुन सकियो भने मानिसभित्र नकारात्मक विचारहरु क्रमशः न्यून हुन गई सकारात्मक पक्षको विजारोपण हुदै जान्छन् ।
मानिसमा सकारात्मक सोचको विकास गर्नका लागि अर्को महत्वपूर्ण कुरा भनेको परिवारका सदस्य र साथीहरुसँग असल सम्बन्ध र मित्रताको विकास गर्नु पनि हो । मानिसलाई यदि सुखदुखमा कोही चाहिन्छ भने त्यो भनेको मानिस नै हो । मानिस खुशी भएर हाँस्नु प¥यो भने पनि हाँस्नका लागि साथमा अर्को मानिस पनि हुनु आवश्यक हुन्छ । अन्यथा सधैं बाटोमा हिड्दा एक्लै हाँस्दै हिड्न थालियो भने उक्त दृश्य देख्नेहरुले हाँस्ने मानिस स्वयम्लाई नै नकारात्मक किसिमले सोच्न भ्याउछन् । अतयव मानिस भएर मानिससँगको सम्बन्धलाई सुमधुर बनाउन कोशीस गरियो भने यसले मानिसलाई सकारात्मक चिन्तनका लागि सहयोग गर्दछ । सम्बन्ध सुमधुर बनाउनु भनेकै मानिसहरुप्रति सकारात्मक हुनु हो । मानिसप्रति सकारात्मक हुन सकियो वा सिकियो भने कसैले कसैको अनावश्यक टिकाटिप्पनी गर्नु पनि पर्दैन र कसैले कसैसँग बोली बारेर अचानक भेट हुदा अर्कोतिर शिर फर्काएर हिड्नु पनि पर्दैन । बरु रीस लाई उल्टो बनाएर सरी भन्ने आदतको विकास हुनुको साथै मानिसलाई देख्ने वित्तिकै मुस्कुराउदै सम्मान गर्ने बानीको विकास हुन्छ ।
मानिसले आफूभित्र सकारात्मक सोचको विकास गर्नका लागि बुझ्नु पर्ने अर्को महत्वपूर्ण पाटो भनेको परिवर्तनलाई सहजरुपमा स्वीकार गर्नु हो । जसरी ऋतुहरु परिवर्तन हुदै एकपछि अर्को आउछन््, जसरी हरिया पातहरु सुकेर झर्छन र नयाँ पातहरु पलाउन थाल्छन्, जसरी मानिस जन्मेपछि कालान्तरसम्म शशरीर बाँचिरहको कोही छैनन् त्यसरी नै हामीले पनि जीवनमा आइपर्ने सुख–दुख, सहजता– असहजता आदि भनेका पनि जीवनका अभिन्न पक्षहरु हुन् जो विना जीवन उभिन सम्भव हुदैन । अतः जीवनका ती विविध पक्षहरुलाई स्वीकार गर्दै अघि बढ्न सक्नु मानिसको महानता हो । समस्या प¥यो भनेर चिन्ता गर्ने होइन कि समाधानका लागि चिन्तन गरेर कार्य योजना सहित अघि बढ्न सक्नु जीवनको सौन्दर्यता हो । समाधानको खोजी गर्ने क्रममा आवश्यक परेमा चिन्तनलाई रिफ्रेमिङ पनि गर्नुपर्ने हुन्छ । जस्तो सडकमा गाडी चढेर घण्टौं जाम हुँदा तनावले टाउको तताउनु भन्दा गाडीमा भएको म्यूजिक सुनेर बस्नु राम्रो हुन्छ । किन कि त्यो जाम खोल्ने तपाईको क्षमता भन्दा बाहिरको कुरा हो । त्यसमा चिन्ता गरेर हुनेवाला केही छैन । बरु गीत सुनेर बस्नुमै फाइदा हुन्छ ।
सकारात्मक चिन्तन र स्वभावको विकास गर्ने सम्बन्धमा काम लाग्ने अर्को महत्वपूर्ण कुराको बारेमा गौतम बुद्धले भनेका छन्– ‘हामीले प्रयोग गर्ने शब्दहरुमा यत्ति ठूलो ताकत छ कि ती शब्दहरुले मानिसलाई बरबाद पनि गर्न सक्छन् र बरबाद हुनबाट बचाउन पनि सक्छन् । जव शब्दहरु सत्य र प्रेमिल हुन्छन् तिनै शब्दहरुले संसार बदल्न सहयोग गर्दछन् ।’ बुद्धले भनेझै हामीले पनि शब्दहरुको प्रयोग गर्दा सकेसम्म सत्य र प्रेमिल शब्दहरु प्रयोग गर्न सकियो भने हामीबाट सत्य र प्रेमिल शब्द उपहार स्वरुप प्राप्त गर्ने अर्को व्यक्तिले समेत हामीलाई त्यसरी नै प्रतिक्रिया प्रदान गर्दछ । यसले गर्दा हामीलाई खुशी र प्रफुल्लित हुन सहयोग गर्दछ । यसका लागि हामीले प्रयोग गर्ने शब्दहरु बोल्ने क्रममा सकेसम्म थोरै, सकेसम्म विस्तारै र सकेसम्म मीठो हुन सकेमा ती शब्दहरु प्रयोग गर्ने प्रयोगकर्र्ता र सुन्ने स्रोता सवैको जिन्दगीमा सुनमा सुगन्धझै सावित हुने कुरामा कुनै द्विविधा छैन । मलाई मीठोसँग खाना रुच्ने र छोरीले मेरो खाने तरिका देखेर मक्ख पर्ने कुरा त मामुली भइहाले । सवैलाई चेतना भया ।
मिति २०७७ साल माघ ८ गते विहीबार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button