१९ श्रावण २०७८, मंगलवार

शिक्षालाई श्रमसँग जोड्ने मन र मान्छेहरुका कुरा

जीतबहादुर शाह

बाटो सोध्दै सोध्दै गयौं, नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं.१७ स्थित परस्पुरमा रहेको अर्गानिक कृषि फर्ममा । हामी कृषि फर्मको गेटमा नपुग्दै पूर्ण कार्की भाई गेटबाहिर आएर हामी भएतिर हेरिरहेका थिए थिए । हामी कृषि फर्ममा पुग्नासाथ अभिवादनको आदान प्रदान भयो । हामी फर्मभित्र प्रवेश गरयौं । पूर्ण भाइको नेतृत्वमा कृषि फर्ममा बाली विज्ञानमा अठार महिने कोर्स अध्ययन गरेर ओजेटीको क्रममा आएका अन्य भाईबहिनीहरुसँग पनि उनीहरुले केराखेती गरेको बारीमै बसेर कुरा गरयौं । बर्दियाको गुराँस माध्यमिक विद्यालय, सानोश्री र जनज्योती माध्यमिक विद्यालय, बड्डीचौर, सुर्खेतबाट अध्ययन गरेर आएका सबै भाइबहिनीका अनुहार पढ्दा सबैमा उत्साहका भावहरु देखिन्थे । जेठको महिना नेपालगञ्जको चर्को गर्मीको रापमा पनि हसिला र उर्जाशील जिन्दगीहरु देख्दा यो पङ्क्तिकारमा समेत त्यो मुस्कान र त्यो उर्जा थोरै भएपनि सरेको आभास भयो । चर्को गर्मीले गर्दा तरकारी बारीमा भएका टमाटर, रामतोरिया र करेलाका पातहरु मुर्झाएका देखिए तापनि कर्म गर्ने युवाहरु भित्रको जोश, जाँगर र उत्साह भने सतिसाल र त्यो भित्रको पनि अग्राख जस्तै पाउदा खुसीको सिमा नै रहेन ।
केराबारीमै पलेटी कसेर भलाकुसारी गरियो सबै भाईबहिनीहरुसँग ।
भलाकुसारीको क्रममा मैले भाईबहिनीहरुसँग जिज्ञाशा राखेको थिएँ – ‘हामी जति लगानी गर्छौं यहाँ, लगानी गरिएजति प्रतिफल पाइन्छ त ? तपाईहरुले गर्ने खेती र सामान्य नागरिकले गरेको खेतीमा के फरक छ ? पढेपछि जागिर खानुपर्छ भन्ने अधिकांस शिक्षित युवाहरुको मस्तिष्कमा खेल्ने कुराले तपाईहरुलाई आकर्षण गर्न सकेन त ? ओजेटीको कार्यक्रम सकिएपछि तपाईहरुको योजना के छ ? आदि आदि प्रश्नहरु सोधें । प्रश्न सोध्दा कोरा कुरा होइन कि उनीहरुभित्रको भावना छचल्कियोस् भन्ने कुरालाई प्रधान ठानियो । ओजेटीमा खटिएका भाइबहिनीहरुले पनि तछाँड मछाड गर्दै जवाफ दिनका लागि हौसिए । मेरो सुरुको प्रश्नको जवाफ दिदै कैलाली घर भएकी बहिनी सिर्जना रावलले भनिन् – ‘सुरुमा लगानी गर्नासाथ प्रतिफल आउदैन । कम्तिमा दुई वर्ष पर्खिनु पर्दछ । सुरुमा त यो माटोलाई उर्वर बनाउनका लागि अलि बढि मलको प्रयोग गर्नुपर्दछ । जव जैविक मलको कारणले माटोमा उर्वराशक्ति बढ्दै जान्छ त्यसपछि थोरै लगानीमा पनि उत्पादन बढि हुन थाल्छ ।’
मेरो अर्को प्रश्नको जवाफमा सुर्खेतको चौकुने घर घएका अमृत गौतमले अभिव्यक्त गरेका विचारहरु यस्ता थिए – ‘सामान्य किसानहरु अर्गानिक खेतीतिर भन्दा पनि के गरेर धेरै उत्पादन गर्न सकिन्छ भन्नेतिर लागेका छन् । जसका कारणले रासायनिक मल र विषादीको प्रयोग अत्यधिक मात्रामा हुने गर्दछ । माटो उर्वराशक्ति केही वर्षमै सून्यमा झर्दछ । विषादीको प्रयोगले हामी पैसा तिरेर सन्तुलित आहार भन्दा पनि शरीरलाई हानी पु¥याउने अखाद्य कुराहरु खाइरहेका हुन्छौं । भान्सामा कसरी पकाउने भन्दा पनि बारीमा कसरी फलाउने भन्ने कुराले महत्व राख्दछ । त्यसकारण पनि प्राविधिक ज्ञान भएको कृषकबाट मात्र यो कुरा सम्भव छ । त्यसकारण पनि हामी जुटिरहेका छौं ।’ पढेपछि जागीर खानुपर्दैन त भन्ने मेरो अर्को प्रश्नको जवाफ दिदै सल्यानको बागचौर घर भएकी दिपा वलीले भनिन् – ‘जागीर खानु भनेको अरुको अधीनमा बसेर काम गर्नु हो । आफ्नो पेसामा काम गर्नु भनेको आफू मालिक भएर अरुलाई काममा लगाउनु हो । त्यसैले जिन्दगीको मजा अरुको काम गर्नुमा भन्दा पनि अरुलाई समेत काम दिएर आफु मालिक हुनुमा हुन्छ भन्ने मलाई लाग्छ ।’ बहिनी दीपाको भनाइ मलाई पनि गजबसँग मन परयो ।
ओजेटीको यो कार्यक्रम सकिएपछि तपाईहरुले के गर्ने हो त भन्ने मेरो प्रश्नको जवाफमा उपस्थित सबैले भन्दै थिए – ‘हामी धेरै त किसानका छोराछोरी हौं । थोरै भए पनि हाम्रो घरमा खेती गर्नका लागि जग्गाजमीन छ । हामी त्यहीबाटै सानो परिणाममा खेतीपाती सुरु गछौंं । हामीलाई अहिले पनि बोध भयो कि कोभिद लगायत कुनै पनि प्रकारको महामारीमा पनि बिना अवरोध निरन्तर चल्ने पेशा भनेको कृषि नै रहेछ भन्ने प्रमाणित भयो र अर्को पनि के प्रमाणित भयो भने कोभिध लगायतका महामारीबाट बच्न र बचाउनका लागि पनि कृषिले गर्ने उत्पादन नै रहेछ । जसले अर्गानिक चिज खाइरहेको छ, उसलाई हत्तपत्त कुनै महामारीले छुन सकेको छैन । अर्को कुरा कृषिमा काम गर्दा मानिसलाई शारीरिक श्रम गर्नुपर्दछ जसले गर्दा उसलाई स्वस्थ हुनका लागि छुट्टै योग र व्यायाम गरिरहन पर्दैन ।’ भाइबहिनीहरुका विचारहरु उनीहरुले गरेको खेती जस्तै अर्गानिक लाग्यो । यी अर्गानिक विचारहरुलाई कसैले पनि विषाक्त र प्रदूषित नगरेमा यो देशमा केही हुन्छ कि जस्तो पनि लाग्यो ।
विद्यार्थी भाइबहिनीहरुसँग छुट्टिएपछि बेलुका कमाउदै पढ्दै अभियानलाई जोरजुलुमका साथ अघि बढाउनका लागि आफ्नो विद्यालयबाट सुरु गर्नु भएका जनज्याती माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलसँग भलाकुसारी भयो । सिग्देल सर भन्दैथिए – ‘हाम्रो कर्णाली प्रदेशमा मात्रै एकहजार विद्यार्थीहरु ओजेटीमा जाने गर्दछन् । हरेकले यसरी नै काम गरे त केही त हुदो हो नि है सर ?’ सिग्देल सरको प्रश्नले मनभित्रै छोयो । मैले ओजेटीमा गएका विद्यार्थीहरुले सम्बन्धित कामलाई नछोइकन र सम्बन्धित थलोमा नगइकन पनि ओजेटी कोर्स पूरा गरेको देखेको छु । ओजेटीको प्रतिबेदन बुझाउदा समेत सम्बन्धित समूहका सबै विद्यार्थीहरुले एउटै प्रतिबेदन फोटोकपि गरी नाममात्रै आफ्नो लेखेर पेश गरेको पनि भेटेको छु । यो सबै सिकाउने र यो सबैलाई बैधता दिने उनीहरुका अग्रज र गुरु भनिएका हामी नै रहेछौं । लाग्छ, हाम्रा यस्तै यस्तै व्यवहारहरु देख्दै र भोग्दै गर्दा युवाहरुका अर्गानिक विचारहरु पनि विषाक्त हुँदै जाँदारहेछन्, कुहिएको पुरानो आलुले अरुलाई पनि कुहाएजस्तै ।
सार्वजनिक शिक्षा सुधार अभियानले सञ्चालन गरेको भर्चुअल भेलामा प्रधानाध्यापक नारायण सिग्देलले ने.क.पा. माओवादीको प्रभावशाली नेता एवम् पूर्वमन्त्री जनार्दन शर्मासँग राखेको जिज्ञाशा मैले अझै विर्सेका छैन । उनी भन्दै थिए – ‘हाम्रो देशमा बीस लाख विघा खेतीयोग्य जमीन बाँझो छ । हाम्रो असी लाख विद्यार्थीहरुलाई काम गर्दै र पढ्दै गर्ने वातावरणको सिर्जना सरकारले गरिदेओस् । दश वर्षमा मुलुकलाई समृद्ध बनाउछौं भन्ने सरकारको अभियानलाई हामी एकसय पचास दिनमा पूरा गरेर देखाउछौं । यसका लागि शिक्षामा लगानी बढाउनु पर्दछ । शिक्षामा समर्पित हुने शिक्षकहरुलाई सरकारले यो वा त्यो नभनी सम्मान र प्रोत्साहन प्रदान गर्न सक्नुपर्दछ । शिक्षकलाई आफ्ना आफ्ना भातृ सँगठनमा आवद्ध गर्ने र आफ्नालाई सुविधा र अवसर दिएझै गरी अरुलाई अप्ठ्यारोमा पार्ने यो पद्धतिबाट सरकार र शिक्षक दुबै मुक्त हुन सक्नुपर्दछ । शिक्षा र सुशासन पहिले भन्दा झन अहिले जर्जर भयो । मैले समेत युद्धताका तपाईको पार्टीको चिट्ठी इजारमा लुकाएर सदरमुकाम जाने गरेकै हो । यो स्थिति देख्नका लागि त्यो काम गरेको होइन ।’ सिग्देल सरका यी कुराहरुलाई भर्चुअल भेलामा उपस्थित सबैले मन खोलेर लाइक र कमेण्ट गरेको देखिन्थ्यो ।
जवाफमा माओवादी पार्टीका नेता जनार्दन शर्माको भनाइ थियो – ‘नारायण सर, हामीले पनि यो दिन देख्नका लागि ज्यानलाई हत्केलामा राखी लडेको होइन । परिकल्पना गरेको दिन ल्याउनका लागि राजनीति भन्दा अर्को विकल्प पनि छैन । शिक्षामा गरेको लगानीबाट कमिसन पाइदैन, त्यसकारण शिक्षामा लगानी नबढेको प्रष्ट छ । ऐनकानूनहरु बनाएर देशमा केही गरौं भन्दा संसद नै नभएको अवस्था छ । त्यसैले गाह्रो भयो ।’ साँच्ची नै गाह्रो भयो । आसलाग्दा पनि कोही भेटिएनन् । पूर्वसांसद हिरण्यलाल श्रेष्ठले भनेका छन् – ‘श्रीमतिलाई महंगा साडी र गहना उपहार ल्याइदिने, छोराछोरीलाई सित्तैमा पढाइदिने र चुनाव खर्च दिने बिचौलियाको पासोमा एकपटक परेको नेता कहिल्यै उम्किन सक्दैन ।’ यस्तै रहेछ यहाँको चलन । विरालो कालो सेतो जे भए पनि मुसा (जनता) मार्ने काम मज्जैले गरिरहेका छन् । शिक्षालाई श्रमसँग जोडेर कामयावी बनाउने कुरा त्यसैले पनि एकादेशको कथा भइरहेको छ ।
बीरेन्द्रनगरले स्थानीय पाठ्यक्रम बनाउदै गर्दा शिक्षालाई श्रमसँग जोडेर कामयावी बनाउने सम्बन्धमा एउटा महत्वपूर्ण बहस भइरहेको छ । कम्तिमा आधारभूत तहका लागि एउटा विद्यालय एउटा व्यवसायको अवधारणाबाट विद्यालयमा स्थानीय विषयको अध्ययन अध्यापन गर्नुपर्दछ र यसका लागि आवश्यक परेका सीडमनीको रुपमा नगरपालिकाले योगदान गर्नुपर्दछ भन्ने कुरा उठिरहेको छ । विद्यालयमा भएको व्यवसायलाई परिवारसँग पनि जोड्नु पर्दछ र होमवर्क र परियोजना कार्यको रुपमा लेखेर ल्याउने होइन कि काम गरेर देखाउनुपर्दछ र होमवर्क र परियोजना कार्य कपिमा चेक गर्ने होइन कि फिल्डमा अवलोकन गरेर चेक गर्नुपर्दछ भन्ने कुरा पनि उठिरहेका छन् । साँच्चि यस्तो हुन सक्यो भने त हाम्रा ओजेटीमा खटिएका विद्यार्थीहरुका अर्गानिक विचारहरुले पनि देशलाई समुन्नत र समृद्ध बनाउने सवालमा काम पाउथे होला । हाम्रा नारायण सिग्देल जस्ता केही गरौं भन्ने शिक्षकहरुलाई समेत देशको उन्नति र समृद्धिका लागि शैक्षिक क्षेत्रमा पसिना बगाउन प्रेरणा मिल्थ्यो होला । किनभने जे कुराको उठान र सुधारका लागि पनि शिक्षालाई नसम्झिनुको अर्को विकल्प नै रहेनछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button