१८ मंसिर २०७८, शनिबार

सवारीलाई पासो बन्दैछन् सडकका म्यानहोल

२८ कात्तिक, काठमाडौं । दशैंका बेला धोबीखोला कोरिडरमा श्याम कार्कीले खाली सडक देखेपछि मोटरसाइकलको गति केही बढाउँदा दुर्घटनामा परे । घट्टेकुलो नजिकै पुग्न लाग्दा सडकको सतहभन्दा माथि उठेको ‘म्यानहोल’ (ढल मर्मतका लागि राखिएको प्वाल)मा एक्कासी ढोक्किएर पछारिए । ‘म एउटा कारको पछाडि थिएँ, एक्कासी अग्लो म्यानहोल आउँदा तत्काल रोक्न सकिनँ,’ कार्कीले भने, ‘अलि स्पिडमा भएको भए परिणाम अर्कै हुनसक्थ्यो ।’

काठमाडौंमा सवारी चलाउनेहरुलाई उबडखाबड सडकले पनि समस्या पार्छ । त्यसमाथि बीच–बीचमा भेटिने सडकको सतहसँग नमिलेका ‘म्यानहोल’ पासोजस्तै बनेका छन्

कच्ची सडकमा गति सीमित हुने भएकाले दुर्घटनाको जोखिम पनि कम हुन्छ । चिल्ला सडकका म्यानहोलहरु भने ट्राफिक कम हुने समय, खासगरी बिहान र राति सवारी चालक र यात्रुका ‘काल’को धराप बनेर बसेका छन् ।

यसै पनि अनुशासनहीन चालक, मद्यपान गरेर सवारी चलाउने प्रवृत्ति, नियम–कार्यान्वयनको अभाव र सडकको दुरावस्थाका कारण सवारी चलाउने र प्रदल यात्रु दुवैका लागि काठमाडौं असुरक्षित बनिरहेको छ ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य सडकका म्यानहोलमा खाल्डा वा टुटुल्को राख्नुलाई ‘धराप थाप्नु हो’ भन्छन् । उनका अनुसार प्राविधिक रुपमा यो अक्षम्य लापरबाही हो । सडक र फुटपाथको लेभल स्थायी रुपले कायम हुने गरी डिजाइन गरिँदा यस्तो समस्या आएको उनी बताउँछन् ।

पछिल्लो समय भने हेलचेक्र्याइँपूर्ण तरिकाले बनाइएका सडक र म्यानहोलहरु पनि दुर्घटना वृद्विको कारक बनेको ट्राफिक प्रहरीको भनाइ छ । उपत्यकाका विभिन्न सडकमा ‘स्पिड बम्प’को रुपमा रहेका म्यानहोलले दुर्घटना बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा बताउँछ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हरेक वर्ष ८ हजारभन्दा बढी दुर्घटना हुन्छन् । यसमध्ये करिब ३० प्रतिशत दुर्घटना सडकको दुरावस्थाका कारण हुन्छन् ।

गलत तरिकाले बनाइएका म्यानहोलका कारण हुने दुर्घटनाको यकिन विवरण छैन, तर अनलाइनखबरसँग कुरा गरेका सवारी चालकले सडकमाथि उठेका र दबिएका म्यानहोलले लडाउने गरिरहेको बताए ।

हरेक दिन कामका लागि जावलाखेल जाने बालुवाटारका ५० वर्षीय श्रीराम पाण्डे एक वर्षअघि बखुण्डोलस्थित ब्रिटिस स्कुल नजिकै सडकको म्यानहोलमा ठोक्किएर गम्भीर घाइते भए ।

पछाडिबाट अर्को सवारी साधन नआएको भएर मात्रै आफू बचेको उनी बताउँछन् । ‘त्यो घटना सम्झिँदा अहिले पनि डर लाग्छ, त्यसपछि त्यो बाटो भएर हिँड्नै छाडें,’ पाण्डे भन्छन्, ‘सडक बनाउनेहरु कुन बुद्धिले काम गर्छन्, सोच्दा अचम्म लाग्छ !’

सडकमा पासो बनिरहेका म्यानहोल जताजतै छन् । काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा निर्मित भित्री सडकहरुमा अवस्था झनै खराब छ ।

धोबीखोला कोरिडर सडकको म्यानहोलमा परेर घाइते भएका श्याम कार्की घटनापछि ट्राफिक प्रहरी र काठमाडौं उपत्यका विकास प्राधिकरणको ध्यानाकर्षण गराएको बताउँछन् । ‘तर, कोही जवाफदेही देखिँदैनन्,’ कार्की भन्छन्, ‘उनीहरुले आफैं होसियार हुनुपर्ने बताए ।’

कमजोर सडक इञ्जिनियरिङ

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य सडकका म्यानहोलमा खाल्डा वा टुटुल्को राख्नुलाई ‘धराप थाप्नु हो’ भन्छन् । उनका अनुसार प्राविधिक रुपमा यो अक्षम्य लापरबाही हो । सडक र फुटपाथको लेभल स्थायी रुपले कायम हुने गरी डिजाइन गरिँदा यस्तो समस्या आएको उनी बताउँछन् ।

‘हाम्रो भौतिक विकासको पद्धति नै बनेको छैन । जति पनि विकासे काम भएको छ, हचुवा र कामचलाउ शैलीमा भएको छ,’ उनी भन्छन्, ‘उदेकलाग्दो के भने यस्तो गम्भीर विषयमा कसैलाई चासो छैन, लापरबाही दोहोरिरहेकै छ ।’

शहरी विकास मन्त्रालयका सचिव रहिसकेका अर्का शहरी पूर्वाधार विज्ञ किशोर थापा सडकको खराब अवस्थाका लागि सबै निकाय दोषी रहेको बताउँछन् । कमजोर सडक इञ्जिनियरिङ तथा समन्वय र अनुगमनको अभावले सडकमा म्यानहोल समस्या बनेको उनको भनाइ छ । ‘संलग्न सबैले दोष लिनुपर्छ,’ थापाले भने, ‘सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग र सम्बन्धित नगरपालिकाको उत्तिकै कमजोरी देखिन्छ ।’

सडक विभागले राम्रोसँग योजना नबनाउने भएकाले अव्यवस्थित रुपमा बनेका सडकको दोष मुख्यतः सो विभागमाथि नै जाने थापाको धारणा छ ।

हालै नयाँ बानेश्वरमा देखिएको खाल्डोको उदाहरण दिँदै काठमाडौंका सडक निर्माण चरणमै खराब हुने र यो प्रवृत्ति बढ्दै गएको उनले बताए । ‘सडकमा देखिने म्यानहोल कमजोर योजनाको परिणाम हुन्,’ थापाले भने, ‘पर्याप्त अनुसन्धान गर्दैनन्, अन्य विभागसँग कुरै हुँदैन र फलस्वरुप यस्ता समस्या देखा पर्छन् ।’

जथाभावी किसिमले भएको काममा प्रश्न नउठाउने स्थानीय जनप्रतिनिधि समेत यसमा दोषी रहेको उनको भनाइ थियो ।

समन्वय र कमजोर इञ्जिनियरिङको समस्या वर्षौंदेखि जारी छ । सडकको अवस्था खराब हुनुमा कमजोर अनुगमनले समेत भूमिका खेलेको छ ।

जिम्मेवारी अरुलाई पन्छाउँदै

सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल विभागले व्यवस्थापन गर्ने सडकको लेबलिङ गरेर सुधार्ने प्रयास गरिरहेको बताउँछन् । देखिएका कमजोरीमा विभागमाथि सबै दोष थोपर्न नमिल्ने उनले बताए । ‘विभागले आफ्नो जिम्मेवारीभित्र नपर्ने सडकको पनि म्यानहोल लेबलिङ गर्दैछ,’ उनले भने, ‘देखिएका कमजोरीका सबै दोष विभागमाथि थोपर्न मिल्दैन ।’ उनका अनुसार काठमाडौं उपत्यकाका ४५० किलोमिटर सडक मात्रै विभागको जिम्मेवारीमा पर्छ ।

खराब सडकका कारण परेको असरबारे विभागले बुझेको र राम्रो बनाउने प्रयास गरिरहेको प्रवक्ता नेपालले बताए । सम्बन्धित निकायहरुबीच समन्वय नहुँदा म्यानहोलको समस्या बढी देखिएको उनले स्वीकारे ।

सडक विभाग र खानेपानी तथा ढल व्यवस्थापन विभागले एकअर्कामाथि आरोप लगाएर पन्छिँदै आएका छन् । एकै वर्षमा सबै काम गर्न बजेट नहुँदा म्यानहोलहरुमा समस्या बढेको विभागको भनाइ छ ।

‘हामीले कुनै वर्ष एउटा सडक बनायौं भने ढल वा खानेपानी परियोजना सोही वर्षमा सकिँदैन, किनभने यसका लागि अर्को वर्ष बजेट आउँछ,’ प्रवक्ता नेपाल अगाडि भन्छन्, ‘यसले पनि अप्ठ्यारो भइरहेको छ ।’

अन्य निकायले म्यानहोल र अन्य स्थान (पोइन्ट)को अवस्थिति देखाउने डिजिटल नक्सा नदिने गरेको उनले बताए । कहाँ खाली ठाउँ राख्ने भनेर विभागलाई थाहा नहुने गरेको उनी बताउँछन् । ‘मेलम्ची खानेपानीजस्ता हालैका परियोजनाले समेत सम्बन्धित परियोजनाका लागि महत्वपूर्ण स्थान देखाउने नक्सा उपलब्ध नगराएको अवस्था छ,’ उनले भने ।

अरु निकायको नक्सा नभएको अवस्थामा विभागले कालोपत्रे गरेको सडक खन्दै विभागमाथि  नै दोष थोपर्न नमिल्ने नेपालले बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रवक्ता सूर्य कँडेल भने कालोपत्रे कुन हदसम्म हुने भनेर सडक विभागले सिलिङ तोक्नुपर्ने बताउँछन् । ‘सडक विभाग र महानगरपालिकाहरुले आफू कुन हदसम्म जाने भनेर तय गर्नुपर्छ,’ उनले भने, ‘हामीले सोही अनुसार ढल र म्यानहोल बनाउन सक्छौं । अहिले त सिलिङ छैन । यसैले सडकमा उबडखाबड देखिएका हुन् ।

अनुगमनको अभाव

समन्वय र कमजोर इञ्जिनियरिङको समस्या वर्षौंदेखि जारी छ । सडकको अवस्था खराब हुनुमा कमजोर अनुगमनले समेत भूमिका खेलेको छ ।

पर्याप्त जनशक्ति नहुँदा नियमित सडक अनुगमन गर्न नसकिएको सडक विभाग बताउँछ । विभागका अनुसार कर्मचारीहरू अधिकांश समय कागजी कामकाजमै व्यस्त हुनुपर्दा अनुगमन प्रभावकारी हुन सकेको छैन ।

‘अनुगमन गर्ने अन्य निकाय पनि छन्, हामी पनि सँगै जान्छौं,’ प्रवक्ता नेपाल भन्छन्, ‘तर, हामीसँग हप्तैपिच्छे बाहिर जाने जनशक्ति र समय हुँदैन ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाएको धोबी खोला सडक कोरिडरको अनुगमन गरेको देखिँदैन । कोरिडोर परियोजनाका प्रमुख दिनेशकुमार पोटे सडकका खाल्डाखुल्डीबारे आफूलाई थाहा भएको बताए । प्राविधिक कारणले यस्तो समस्या देखिएको उनको भनाइ छ ।

‘सडकलाई लेबलिङ गरेर सुधार्ने काम पनि भइरहेको छ,’ उनले भने, ‘यस्ता सडकका कारण हुने हानी दोहोरिन नदिन अन्य परियोजनामा संलग्न इञ्जिनियरलाई भनिसकेका छौं ।’

तस्वीरः शंकर गिरी

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button