२४ बैशाख २०७८, शुक्रबार

हिट्लर, होलोकष्ट र हाम्रा हरकतहरु

जीतबहादुर शाह

आफूलाई त सत्ताको स्वाद थाहा छैन । आफ्नै घरको सत्ताको सिंहासनमा पनि आफू विराजमान छु जस्तो लाग्दैन । सत्तामा पुग्न नसके पनि सत्ताको अघिपछि धुपौरे भएर हिड्न पनि सकिएन । त्यसो हुन सकेको भए सत्ताको सिंहासनमै भएजस्तो नभए पनि स्वाद त अलि अलि थाहा हुन्थ्यो होला सायद । त्यसो पनि गर्न सकिएन । तथापि गर्वका साथ भन्न मन लाग्छ, त्यसो गर्न नसक्नु नै बेस रहेछ । सत्ताले मानिसलाई स्वार्थी बनाउदो रहेछ । लोभीपापी पनि मज्जैले बनाउदो रहेछ । यो कुरा ओकल्दै गर्दा एउटा लोककथा स्मृतिमा आइरहेका छ । एकपटक अति विपन्न गरीवका दम्पतिले गरीविको कारणले जीवनमा धेरै दुःख पाएपछि भगवानको पूजाआराधना गर्नतिर लागेछन् । दम्पतिको पूजाआराधनाबाट खुशी भएपछि सपनामा भगवान आएर भनेछन्– ‘तिमीहरुले मेरो निम्ति भोलिविहान पूजाआराधना गर्न जाँदा नदीको छेउमा चिसो बालुवा देख्नेछौ । त्यसलाई राम्रोसँग खोस्रिएर हेर्नू ।’ त्यसपछि एकाविहानै गएर चिसो बालुवा खोस्रिएर हेर्दा चारवटा चिया गिलासभरि असर्फिहरु रहेछन् र एउटा अर्को गिलासमा भने आधामात्रै असर्फि रहेछन् । खुशीले गद्गद् हुदै ती सवै असर्फीका साथ ती दम्पत्ती झुपडीमा फर्केछन् ।
घरमा आएर हजूरका कृपाले अव हाम्रा दुःखका दिन गए प्रभू भनेर भगवानप्रति श्रद्धाभाव प्रकट गर्दै दिउसभरि खुशी–खुशी हुदै समय विताएछन् । बेलुका बुढाबुढी बसेर कुरा गरेछन् । बुढाले भनेछ– ‘एउटा गिलास त आधा मात्र रहेछ, त्यसलाई के गर्ने होला ?’ बुढीले सुटुक्कै भनिछन् – ‘बुढाबुढीले मेहेनेत ग¥यौं भने त त्यसलाई पनि भर्न सकिहाल्छौं नि ?’ नभन्दै भोलिपल्टदेखि आधी गिलासलाई भर्नका निम्ति जोहो गर्नतिर लागेछन् । त्यसपछि त उनीहरुले खाना समेत छोडेर पैसा जम्मा गर्नतिर लागेछन् । उनीहरुको यो क्रियाकलापले त उनीहरु पहिलै भन्दा झन–झन दुव्लाउन पो थालेछन् । उनीहरुका यी सवै क्रियाकलाप हेरिरहेका भगवानले यिनीहरुका निम्ति नकाम गरिएछ भन्ने महसुस गरी दिएका सवै असर्फीहरु ती दम्पतिको घरमा एकराती आएर लिएछन् । भोलिपल्ट उठ्दा त केही छैन । बुढाबुढी लागेर धुमधामसँग खोजे, केही पत्तो लागेन । त्यसपछि भने कमाएर जम्मा गर्ने भन्दा कमाएर खानतिर लागेछन् । त्यसपछि त दुवै दम्पत्ति ह्रष्टपुष्ट र हसिलाखुसिला देखिन थालेछन् ।
सत्ताको मोह पनि यस्तै हुदोरहेछ क्या रे गरीव दम्पत्तिको असर्फीप्रतिको मोहजस्तै । मलाई त लाग्छ त्यो भन्दा झन खतरनाक र डरलाग्दो हुनेगर्दछ सत्ताको मोह । कमसेकम ती गरीव दम्पत्तिले आफूबाट असर्फिहरु भगवानले फिर्ता लिएपछि फेरी माग्न त गएनन्, सत्ता त यस्तो रहेछ कि सत्ताबाट झरिसकेपछि पनि सत्तामा फेरि फेरि सवार भइरहन मन लाग्ने । सत्तामा बसेकालाई सत्तामा बसिरहन मन लाग्ने र सत्ताबाट झरिसकेकालाई पनि सत्तामा गइरहन मन लाग्ने । पाँचपटक प्रधानमन्त्री हुँदा पनि अझै छैठौंपटक र अझै सातौं पटक प्रधानमन्त्री भइरहन मन लाग्ने । त्यहाँ पुग्न र त्यहाँ पुगेपछि टिकिरहनका लागि साम, दाम, दण्ड, भेद जस्ता अनेकन हरकतहरु गर्नुपर्ने । त्यसका लागि दुश्मनलाई आफ्नो बनाउन पनि पछि नपर्ने । मित्रलाई शत्रु बनाउन पनि पछि नपर्ने । ऐनकानूनको धज्जी उडाउन पनि पछि नपर्ने । नागरिकलाई भुलभूलैयामा पार्न पनि पछि नपर्ने । यतिसम्म पनि कथाले माग्यो भने नागरिकलाई भुट्न पनि पछि नपर्ने । बडो गजव हुँदोरहेछ सत्ताको खेल । यसैलाई भनिदोरहेछ राजनीतिमा कुटनीति । कुटनीतिमा जे पनि अटाउदोरहेछ । जे गर्न पनि छुट हुँदोरहेछ । राजनीतिमा हुने यस्तै हरकतले हिटलर जस्ता तानासाहहरुको जन्म हुँदोरहेछ ।
हिटलर विश्व इतिहासमा अपरिचित नाम होइन । उनी अष्ट्रियामा सन १८८९ मा जन्मिएर १९ वर्षको पुगेपछि जर्मनीमा आएका हुन् । तत्पश्चात उनी जर्मनीमा नाजी पार्टीमा संलग्न भइ राजनीति गर्न थाले । उनलाई मीठो भाषण गर्न आउथ्यो । उनको यही कलाका कारण नागरिकहरुबाट उनले ताली र वावा पाउन थाले । उनको यही कलाका कारण उनले नेतृत्व गरेका नाजी पार्टी सरकारमा बहुमतमा साथ उपस्थित भयो । उनी सन् १९३३ मा जर्मनीको प्रधानमन्त्री हुन सफल भए । तत्पश्चात हिटलरले तथाकथित राष्ट्रबादको नाममा जर्मनीमा भएका यहुदीहरु (Jews) लाई नरसंहार गर्न थाले । उनीहरुलाई पहिचान गर्न सजिलो होस भन्नका लागि उनीहरुलाई प्रदान गरिने परिचय पत्र र नागरिकतामा समेत अङ्ग्रेजी जे अक्षर लेख्ने काम गर्न थालियो । उनीहरुलाई व्यापार, व्यवसाय गर्न रोक लगाइयो । पर्यटन, घुमफिर र साँस्कृतिक कार्यक्रमहरुमा प्रतिवन्ध लगाइयो । सन १९३८ को एकैरातमा जर्मनी र अष्ट्रियाका गरी तीस हजार यहुदीहरुलाई पक्राउ गरियो । उक्त रातलाई मानव इतिहाँसमा ‘नाइट अफ ब्रोकन ग्लास’ भनेर चिन्ने गरिन्छ ।
अष्ट्रिया, पोल्याण्ड, जर्मनी र हङ्गेरी लगायतका यूरोपियन देशहरुमा भएका करिव नब्बे लाख यहुदीहरुमध्ये हिटलरले साठी लाख यहुदीहरुको नहसंहार गरेको थियो । उसले पक्राउ परेका यहुदीहरुलाई राख्नका लागि हिरासतजस्ता लाग्ने भवनहरु बनाएको थियो । तत्पश्चात त्यहाँबाट पालैपालो गरेर ग्यास च्याम्वरमा हाल्थ्यो र आगोको मुस्लोमा डढाएर खरानी बनाउथ्यो । यसरी एकैचोटी धेरै मानिसहरुलाई आगोमा डढाएर मार्ने कार्यका निम्ति अङ्ग्रेजीमा होलोकष्ट ९ज्ययिअबगकत० शब्दको प्रयोग गरिदोरहेछ । हिटलरले गरेको यही नरसंहारका कारणले दोश्रो विश्व युद्धको जन्म भयो । हिटलर एवम् नाजीहरुको विरुद्धमा फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका र सोभियत संघले आफ्नो सेनाहरु परिचालन गरेर युद्धमा उतारे । अन्ततः हिटलरले पराजय भोग्नु परयो । सन् १९४५ मा दोश्रो विश्वयुद्धको समाप्ती भयो । त्यही वर्ष हिटलरको पनि मृत्यु भयो । हिटलरको मृत्युको सम्बन्धमा विभिन्न तर्कहरु सुन्न पाइन्छ । विकोपेडियामा उल्लेख गरेअनुसार एडोल्फ हिटलरले आफैले आफैलाई गोली हानेर आत्महत्या गरेको कुरा पढ्न पाइन्छ । यसरी अन्त भएको रहेछ लाखौं नागरिकको हत्यारा एउटा तानासाह हिटलरको ।
मलाई के विश्वास छ भने एडोल्फ हिटलर जन्मदै तानासाह र लाखौं मानिसको हत्यारा भएर जन्मिएको होइन । परिवेश र वातावरणबाट बनेको हो उ हत्यारा र तानासाह । कुनै पनि व्यक्ति तानासाह र हत्यारा हुनकै लागि जन्मेको हुदैन । उभित्र क्रमशः बढ्दै जाने सत्तामोह र महत्वाकाङ्क्षाले उसलाई हत्यारा र तानासाह बनाउने हो । सत्ता र महत्वाकाङ्क्षाको सिढी चढ्न थालेपछि उसले उ कहाँ थियो र को हो भन्ने कुरा समेत विर्सिन्छ । यसरी आफू र आफ्नो कर्तव्यलाई विर्सनमा पछि पछि लागेर ताली पिट्दै हुटिङ गर्नेहरुले समेत सहयोग गरिरहेका हुन्छन् । जर्मनीमा अहिले पनि हिट्लर सच्चा राष्ट्रवादी हो भन्नेहरु पनि जिउदै छन् । व्यक्तिको महत्वाकाङ्क्षा र तानासाहपनले जितिरहँदासम्म उसले गरेका सवै कर्महरु पूण्य र पवित्र कर्म नै मानिन्छन् । जव कुनै दिन तानासाहले पराजयको पीडा भोग्नुपर्छ अनि बल्ल उसको होस खुल्छ । त्यतिबेला उ आफैले पनि गरेका कर्महरुको आत्मसमीक्षा गर्दा उ आफैले पनि आफूले गरेका कुनैपनि काम राम्रो देख्दैन र त्यसैको फलस्वरुप आत्महत्या गरेर मर्छन हिटलरले जस्तै । कोही यो संसार शून्य र रित्तो रहेछ भनेर बैराग्यका कारण मर्ने गर्दछन् सिकन्दर जस्तै ।
यूएन अफिसियल रामवावु शाहले आफ्नो प्रस्तुतिमा उल्लेख गरे अनुसार होलोकष्ट अर्थात नरसंहारको बिउ भनेको हेटस्पिच (Hate Speech) बाट सुरु हुने गर्दछ । अरुको जात, धर्म, भाषा, संस्कार, संस्कृति, राष्ट्रियता, रहनसहन, भेषभूषा, रङ, आस्था, विचार आदिलाई आधार बनाएर उप्रति घृणा गरेर बोल्नु भनेको हेट स्पिच हो । अरुप्रति आग्रह, पूर्वाग्रह र नकारात्मक सोचको उपज हो हेट स्पिच । यो हेट स्पिच सर्वप्रथम त परिवारबाटै सुरु हुन्छ । परिवारमा हामी एकअर्कालाई अपमान र होर्चोअर्घेलो गरेर बोलिरहेका हुन्छौं । यो क्रमशः परिवारबाट फैलिएर समुदाय, विद्यालय र समाजमा पुग्छ । यसले क्रमशः वाकयुद्धको रुप लिन्छ । बढ्दै जाने क्रममा यसले आफ्नो स्वरुप बदलेर हिंसा र युद्धको रुपमा विकास हुन्छ । अन्ततः यसको उग्र र चरमस्वरुप भनेको होलोकष्ट हो । अन्ततः यसको हरकत भनेको हिटलरको नियति हो । विश्वका होलोकष्ट भन्न लायक घटनाहरुको बीउ खोज्दै जाँदा सुरुमा जननीको काम हेट स्पीचले गरिरहेको कुरामा कुनै सन्देह छ जस्तो लाग्दैन ।
हाम्रो देशकोे वर्तमान अवस्थालाई आँकलन गर्दा यस्तो लाग्छ समाजमा हेटस्पिच चर्को रुपमा देखिएको छ । लोकप्रिय भनिएका, राज्यसत्तामा भएका र राज्यसत्तामा ओहोरदोहोर गरिरहेका नेताहरुले दिने बक्तव्यको अधिकांश अंशसमेत हेटस्पिचबाट भरिएको हुन्छ । त्यस्तै हेटस्पिचहरुमा हुटिङ गर्न र ताली बजाउन कार्यकता त जाने नै भए, त्यसका अतिरिक्त कर्मचारी, शिक्षक र विद्यार्थीहरु समेत मिसिएका हुन्छन् । उनीहरुका हेटस्पिच सुन्दा लाग्छ, गरिव दम्पत्ति भन्दा पनि कैयौं गुणा बढि लोभीपापी छन् हाम्रा नेताहरु । कतिपय हेटस्पिच परिवारका सदस्य र विद्यार्थीहरुसँग बसेर सुन्दा पनि पचाउन नसकिने किसिमका हुन्छन् । सामाजिक सञ्जालहरु समेत हेटस्पिचले भरिएर हेरिनसक्नु भएका छन् । हाम्रा यी सवै हरकतहरुको आँकलन गर्दा हामी यसरी नै अगाडि बढ्ने हो भने हाम्रो देश विगतमा झै होलोकष्टको सिकार हुदैन भन्ने के ठेगान ? हाम्रोमा पनि कोही हिटलर बन्दैनन् भन्ने के ग्यारेण्टी ? अतयव हाम्रा घरपरिवार, समुदाय र विद्यालयदेखि उच्च तहका भेला र सभासमारोहसम्म हेटस्पिचलाई ताली दिने होइन कि अस्वीकार गर्ने प्रवृत्तिको विकास गर्नुपर्दछ । यसैमा हाम्रो भलो देखिन्छ । सवैलाई चेतना भया ।
मिति २०७७ साल माघ २८ गते विहीबार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button