५ आश्विन २०७८, मंगलवार

बर्दियाको शैक्षिक विकास र गौरीशङ्कर विद्यालय : अयोध्याप्रसाद श्रीवास्तव

शैक्षिक विशेष आलेख

बर्दिया जिल्लाकोअवस्था :-

आजको यो बाँके बर्दिया कैलाली र कंचनपुर जिल्ला को भूभाग भारतमा शासन गरिरहेको अंग्रेज सरकारले ‘ब्रिटिश इन्डियामा गाभेर जबर्जस्ती कब्जा गरि राखेको, सन् १८६० ( वि सं १९१६ ) मा अंग्रेज सरकारले जंगबहादुर राणालाई बखशीस भनेर नेपाललाई फिर्ता दियो। त्यसबेला आजको नेपाली भारतीय सीमाना क्षेत्र नजीक नेपालमा केही देशी गाउँहरु र थोरै भित्र देशावर थारु हरुका केही गाउँ बस्तीहरु मात्रथिए। दाङ्गका थारु र पहाडी आइ सकेका थिएनन्। यस कारण बहुतै कम जनसंख्या थियो।सबैको रहन सहन जनजीवन भारतीय सामाजिक वातावरण अनुसार हुनु स्वाभाविकै थियो। बाँकी क्षेत्र वनजंगल झाडीले ढाकेको थियो। राणा सरकारले आवाद गुलजार गराउनका लागी आफ्ना भाई भतीज भारदारहरुलाई जिमिदार बनाई पठाउन थाले र वहाँ हरुले नेपालगंजमा एक र महेन्द्रनगरमा एक हेडआफिस बनाए। त्यसलाई बाँके बर्दिया गोश्वारा र कैलाली कंचनपुर गोश्वारा नाम दिए । कालान्तरमा नेपालगंजमा माल अड्डा र बर्दियाको कुम्भरमा माल अड्डा खोले। धनगढी र महेन्द्र नगर मा पनि यस्तै भयो। यसको माध्यमबाट मानिस बोलाउने र गाउँ बसाल्ने काम शुरु भयो ।

सामाजिक र आर्थिक जीवन ;-

चारैतिर जंगलझाडी उजाड बीचमा गाउँहरु थिए । मलेरिया हैजा ठेउला (चेचक) जस्ता बिमारी महामारीको रुपमा चली रहन्थे। आजको जस्तो औषधि थिएनन्,। जंगलीझार पातको औषधी र टुना, मुना झारफूकको सहारामा मानिस बाच्ने बाच्थे, मर्ने मर्थे। जनसंख्या बढाउन ठूलो समस्या थियो जन्मेका बाल बच्चाहरु मध्ये कोही कोही मात्र बाच्थे । यसकारण बाल विवाह, बहु विवाह, अनमेल विवाह प्रचलनमा थिए । देवी, देवता, मरी, गांवट, भूत, प्रेत जस्ता विश्वास र आस्था थियो। बोरिग नल को ज्ञान र उपयोग जानी सकेका थिएनन्।  कुला पानी खन्ने बनाउने जनशक्ति थिएन। दैवको भरोसा गरेर खेती लगाउँथे तर दिनरात जंगली जनावरहरुबाट बचाउन कठिन थियो । धेरै जग्गामा खेती लगाउन र बचाउन सक्यो भने बल्ल बल्ल खानलाई पुग्थ्यो। उद्योग कलकारखाना र बाहिर बाट नगद पैसा घरमा आउने कुनै श्रोत थिएन। मानिस नितान्त प्राकृतिक जीवन जिएको थियो। बिजुली बत्ती तार टेलीफोनको कल्पना थिएन। बयलगाडा, घोडा र पैदल यात्रा हुन्थ्यो। मानिससंग पैसा थिएन र पैसा खर्च गर्ने बजार दोकान पसल पनि थिएनन् यस कारण मानिसले यात्राको लागीखाने पिउने ओढने ओछ्याउने चीज वस्तुबोकेर हिड्नु पर्दथ्यो । लुगा फाटो र नून तेल, मसला , खेतीको उपज बेचेर किन्थ्यो, आवश्यकता नै सीमित थियो।

साना न ठूला सबको घरको छाना फूस कै हुन्थ्यो, कोहीकोहीले भितासम्म माटोको र कताकतै ठूलो मानिस कोठारी घर हुन्थ्यो । प्राय दुई जोर लुगा भए पुग्थ्यो । प्लास्टिक थिएन । अलि हुने खानेले छालाका जुत्ता र काठका खराऊं लगाउँथे र अरुले प्राय काठका पउला लगाउँथे अधिकांश त नाङ्गै खुट्टा हिड्थे। टोपी भारतीय गान्धी टोपी लगाउँथे । भूमि जति आवाद गर्न सके त्यति आफ्नै हुने हुनाले चिन्ताको कुनै विषय थिएन । तर कसैले पनि जग्गा बनाउन यस कारण इच्छा गर्दैनथ्यो कि जंगली जनावर र सुखा खडेरी बाट बाली बचाउन कठिन थियो र मालपोत तिर्न नसके कोर्रा लाग्ने पक्का थियो अनि जग्गा धनी हुनु भन्दा कमवैया ,बटैयादार या कसैको हलिया हुनु आनन्द को जीवन मानिन्थ्यो।

बिस्तारै धेरै कुराहरुमा सुधार र विकास हुँदै गए पनि सम्वत् २०२० सम्म यस्तै मान्यता र परिस्थिति रहेका थिए। यो ग्रामीण समाजमा शिक्षाको आवश्यकता भए पनि यसको उपयोग र महत्त्व थिएन भन्न सकिन्छ। बाहुनहरुले पण्डित्याईं गर्न र पुस्तक वाचनको अभ्यास, बनियाले थोरै हिसाब लेखन जाने पुग्थ्यो । बडा बडा राणा, सेनापति त अशिक्षित थिए भने जनतालाई शिक्षाको के काम ? यो परिवेशले जन्माएको मानसिकता थियो र समाजमा जब शिक्षित हरु थिएनन् तब शिक्षाको कुरा उठाउने कसले ? बलेको दियोले नै निभेको लाइ बाल्ने हो।

बर्दियामा शिक्षाको किरण :-

समाजमा धनी र बाहिर आवत जावत गर्दा केही असल संगत भेटाउन सकेका मध्येका कोहीकाेही मानिसले बाल बच्चालाई आल्हा, रामायण र चिठी पढन जान्ने बनाउनलाई पढाउन सके त राम्रै हो भन्ने सम्मको चेतनाको विकास भैरहेको अवस्थाले गर्दा शिक्षामा रुचि लिने यदि कोही हुन्थ्यो भने त्यसमध्येबाट अघि सर्ने मुश्किलले कोही हुन्थ्यो । तेस्को न वातावरण थियो न त एक टुक्रा कागज कलम या शिक्षित मानिस भेटिने र शिक्षा भन्ने कुनै चीज हुन्छ भन्ने देखिने समाज नै थियो। शतप्रतिशत अनपढ सीधा तर इमानदार र दैव र हाकिमसँग डराउने मान्छेको जमात थियो। काेहीकाेही जमीनदारहरुले भारतबाट मास्टर (मुन्शीजी भन्थे) ल्याएर घरमा राखेर निजी तलब दिएर आफ्ना सन्तानलाई साक्षर गराउँथे कोहीले छोरालाई बहराइच पठाएर पढाएको इतिहास पनि छ। ( छोरीलाई बाहिर पठाइदैनथ्यो ) संवत १९९३ सालमा गुलरिया अड्डाको स्थापना भयो र गुलरिया बस्न शुरु भयो १९९४ मा स्कूल खुलेको भनेर स्व. शिव प्रसाद शर्मा (भान्जा बाजे) को कथन थियो तर बगलामुखी विद्यालयले आफनो लेटर प्याड मा १९९० लेखेकोले दुवैको स्थापना वर्षमा दुविधा देखियो। अड्डा स्थापित भएर कर्मचारीको बसोबास प्रारम्भ भएपछि सिपाही हस्त बहादुर क्षेत्रीको घर बन्यो र जुद्ध शम्सेरको शिक्षा अभियानमा खुलेको भाषा पाठशाला को पठन पाठन हस्तबहादुरको (पत्रकार यादव आचार्यकाे घर नजिक) बरान्दामा प्रारम्भ भएको भन्ने छ । अझ पत्ता लगाउनु पर्दछ । जुद्ध शमशेर सरकारले देशव्यापी साक्षरता अभियानमा गुलरियामा सरकारी भाषा पाठशाला खोले।यो पाठशाला नै यो जिल्लाको प्रथम औपचारिक सरकारी विद्यालय हो । हरिहर प्रसाद उपाध्यायले भारत बभनानको मकोइया गाउँ बस्ने शिव बालक कायस्थ ( श्रीवास्तव ) लाई शिक्षक बनाए , उनी गए पछि उनका भाइ कामना ( कामता ? ) प्रसाद आए , उनी पछि १९९७ मा दुखी सिंह आए त्यस पछि मुक्ता प्रसाद श्रीवास्तवले पढाए। २००७ सालमा महोत्तरी बथनहा का पद्मकान्त झा आए र यो विद्यालय हस्त बहादुर क्षेत्रीको घरको बरण्डाबाट बगलामुखी मन्दिरको टीनले छाएको धर्मशालामा सर्यो। २०१२ सालमा सुभद्र झा र पछि क्रमशः राम किशोर पाण्डे, मुक्तिनाथ प्याकुरेल (पछि न्यायधीश), अव्सार अली सैयद, कुमारी मन शर्मा आदिले पढाउँदै अन्त मा राधाकृष्ण थारुका छोरा गोविन्द, मंगल र श्याम थारुहरुले जग्गा दान गरे पछिआज यही विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको रुपमा कीर्तिमान बनाई रहेको छ। वि स २०४४ मा हाइस्कूल स्वीकृत भएर २०४५ मा एस. एल. सी. प्रथम व्याचको परीक्षाा दिलाएको थियो ।

म. क. दे. मा. वि. को जन्म :-

शुरुवात हुँदाको सरकारी नियम अनुसार संस्कृतमा आधारित शिक्षा ले उक्त भाषा पाठशालाबाट आधुनिक शिक्षाको अंग्रेजी जस्ता विषय समावेश हुन नसके पछि संवत २००५ मा गुलरियाको हालको न्यायधीश आवास बनेको ठाउँमा सुरेशराज शर्माको अगुवाईमा केही विद्यार्थी जम्मा गराएर, भारत नानपारा नजीक शिवपुरका मूलनिवासी, त्यस बेला हालको इदरीसी इम्पोरियम भएको ठाउँमा झुपडी बनाई गाई पालेर बसेका, अङ्ग्रेजीको पनि साधारण जानकारी भएका , अग्लोशरीर, सानो निधार र सानो आँखा भएकाले कसैले चम्गादड मुन्सी कसैले चुकन्दर त कसैले धनुश्धारी भन्ने गरेका वृजमोहन वैश्यलाई पढाउन लगाउनु भयो । (आज को म. क. दे. मा. वि. को जग हाल्ने शिक्षक वृजमोहन पुग्नुभयो) । हरिहर उपाध्यायको वार्षिक भारु ३००/ अनुदानले चलेकोर भारतीय पाठ्यपुस्तक पढाइने यसलाई बर्दिया प्राइमरी स्कूल भनियो । केही समय पश्चात यो स्कूल धर्मबखारी (हालको नगरपालिका कम्पाउण्डमा थियो ) मा सर्यो । यस्तै थारु कोठिया गाउँमा राधाकृष्ण थारुले कोही शिक्षक ल्याएर संवत २००० भन्दा पहिलेदेखि एउटा प्राइवेट स्कूल चलाएका थिए जसमा छिमेकी गाउँका केटाहरु पनि पढ्थे ।

यसै समयमा सुरेशराज शर्माको नानपाराका जाहिद अली सैयदग भेट भयो र वहाँले २००८ सालमा आफ्नो पारिवारिक शिक्षकको रुपमा वहाँलाई राख्नुभयो। कालान्तरमा २०११ सालमा बृजमोहन र जाहिद अली , दुवैविद्यालयको एकीकृत ‘ बर्दिया प्राइमरी विद्यालय ‘ बन्यो र बर्दिया मालका हाकिम कृष्णध्वज कार्कीबाट २०१३/२/२ गते” बर्दिया मिडिल स्कूल” को नामले स्वीकृति मिलेपछि यो पूर्ण सरकारी मान्यतामा आयो र सुरेशराज शर्माले सोही दिन उद्घाटन गर्नुभयो । बर्दिया जिल्लामा यो प्रथम मिडिल स्कूल भयो । त्यसपछि कोठिया स्कूलका छात्र राम प्रसाद श्रीवास्तवले भारतबाट हाईस्कूल पास गरेर आए पछि सुरेशराज शर्माले वृजमोहनको ठाउँमा वहाँलाई हेड मास्टर नियुक्त गर्नुभयो । वहांले थोरै समय पढाएर छोडेपछि स्थानेश्वर शर्मा हेड मास्टर, रामप्रसाद शर्मा सेकेन्ड मास्टर र जाहिद अली थर्ड मास्टर भएर यो स्कूलले द्रूत गति लियो । २०२२ मा बर्दिया जिल्ला मायो प्रथम हाईस्कूल स्वीकृत भयो ।

बर्दियामा प्रथम:-

२०२२ का ” बर्दिया हाई स्कूल ” का कक्षा १० का एक मात्र छात्र, नेपालगंज सेन्टरमा परीक्षा दिएर २०२२ मा प्रथम पटक एस एल सी पास गर्ने छात्र केदार नाथ पोखरेल (घनश्याम)हुनु भयो । एस एल सी पास गर्ने प्रथम छात्रा शान्ता कुँवर २०२३, (२०२४ मा नतिजा निल भयो) प्रथम मधेशी अयोध्या प्रसाद श्रीवास्तव २०२५, प्रथम थारुको सन्दर्भमा ,( यो जिल्लामा थारु समुदायबाट सर्वप्रथम २०२५ र २६ मा ९ र १० मा मकदे माविमा पढेका मैनापोखरका काली चरण थारु र माखन लाल थारु हुन् तर नेपालगंज गएर बसेर परीक्षा दिन नसकी माखन लालथारु २०१६ मा स्थापित शारदा प्राविका शिक्षकभएर शारदा प्राविलाई लक्ष्मीगुप्ता समेतका विद्यार्थीहरुको आन्दोलनबाट २०३६ मा मा वि बनाएर१०+ 2 सम्मपुर्याए भने काली चरणले राजनीतिमा स्थान बनाए । यसकारण थारु समुदाय बाट  जग्गु प्रसाद र विशम्भर प्रसाद थारुले २०३३ माएसएलसी पास गरी थारु समुदायबाट प्रथम भएका हुन्।

यो विद्यालय २०२२ मा धर्म बखारी नजीक नापी गोश्वाराको फुसको घर मा, आगलागी पछि २०२३ मा बाजी कोठियाको पकड़िया रुख निरको धर्म बखारीको फुसैला घर र रूख मुनिर २०२४ मा आजको स्थानमा सरेको हो। यो लेखकले स्थापना काल बाहेक, २०२० देखि बाँकी चारै ठाउँमा पढने अवसर पाएको हो ।

सर्वप्रथम हाईस्कूल पास गर्ने बर्दियाका मूल निवासीहरु:-

बर्दियाको ज्ञातव्य शैक्षिक इतिहासमा भारत बहराइचबाट , बर्दिया जिल्लाका स्थानीय समुदायका पदमपुरका राम प्रसाद श्रीवास्तव २०१३ सालमा हाइस्कूल पास गर्ने प्रथम ब्यक्ति हुनुहुन्थ्यो । पछि भारत बाट संवत २०१५ मा किशोरीलाल वैश्य (कविजी) र रत्नापुर का मेवालाल कुर्मी २०१९ मा हाई स्कूल सम्म पढेका हुन्, गुलरियाका म क दे मा वि का हाल रिटायर्ड साइन्स शिक्षक कैलाश नाथगुप्ता र सरकारी रिटायर्ड अधिकारी सूरज कुमार गुप्ता सन्, स्वामी दयाल श्रीवास्तव र लल्लन प्रसाद श्रीवास्तव १९६४ मा बहराइचबाट हाईस्कूल पासगरेका हुन् । कैलाशनाथ यो जिल्ला को स्थानीय समुदाय को लखनउबाट बि एस सी पास गर्ने प्रथम ग्रेजुयेट र सूरज कुमार दोश्रो ग्रेजुएटहुन् । अंग्रेजीमा राम्रो पकड भएर कविताका पुस्तकर अन्य कतिपय लेखन गरेका , राजापुरका मिट्ठनलाल गुप्ता यी दुवै भन्दा सिनियर ग्रेजुयेट भए पनि उनको नाम र निवास नेपालगंजसंग जोडिएकोले यहाँ नामसम्म उल्लेख गरियो, रमानपुर टपराका भगवानदास चौधरीले भारतबाट सम्भवतः कक्षा७ ,८ उर्दुहिन्दी पढेको , एकीन हुन सकेको छैन । गुलरियाका किशोरीलाल वैश्य, कैलाशनाथ र सुरजकुमार गुप्ता, स्वामी दयाल र लल्लन श्रीवास्तवहरु पनि बर्दिया मिडिल स्कूलमा पढेर भारत गएका थिए ।

देशकै हस्ती हरुको विद्यालय :

बर्दिया मिडिल स्कूलमा प्रारम्भमा पढेर पछि भारतबाट उच्च शिक्षा पाएर नेपालमा उच्च सम्मानित स्थानमा पुग्नु भएका त्रिवि का उपकुलपति डा गोविन्द शर्मा, कृषि विशेषज्ञ कैलाश नाथ प्याकुरेल, अर्थशास्त्री विशम्भर प्याकुरेल, येरोनेटिक इन्जिनियर विश्व प्रकाश शर्मा, अधिवक्ता रविन्द्र नाथ शर्मा, र अधिवक्ता लल्लन प्रसाद श्रीवास्तव प्रभा शर्मा हरु हुन्।
सबैको ध्यान अंग्रेजी स्कूल महाकवि देवकोटा माध्यमिक विद्यालय पट्टि भएकोले बगलामुखी मन्दिरको संस्कृत शिक्षा को प्रधानता भएको सरकारी पाठशाला घिसिरिदै अगाडी बढेको थियो तर कालान्तर मा गतिशील भएर म. क. दे. लाई पछार्ने सामर्थ्य विकसित गर्यो। बर्दिया जिल्लाको तेश्रो विद्यालयको रुपमा राजापुरमा अमर शहीद दशरथ चन्द प्रा वि २०२३ मा स्थापना भयो र २०३२ मा हाई स्कूल भयो । यस्तै २०३५ मा चुरे मा वि बगनहा, २०३६ मा शारदा मा.वि. हाईस्कूल भयो र २०४४/५/१ मा बबई बहुमुखी क्याम्पस र त्यसपछि क्रमशः अन्य विद्यालय महाविद्यालयहरू खुल्दै गएका हुन् ।

गौरीशंकर विद्यालय को जन्म :

संवत २०१० -१५ ताका महम्मदपुर क्षेत्रमा त्रिलोक नाथ मालका मुखिया भने पछि स्कूली शिक्षा प्राप्त, पुजारी, राम मूर्तिर ननकउ ब्राम्हण पुरोहिताई गर्न सिकेका , अब्दुल कादिर पहिलो किताब पढे जस्तो र अब्दुल्ला, मोहॆउद्दॆन,नन्हे सेख साक्षरसम्म थिए। अरु कोइ स्थानीय मानिस पढेलेखेको थिएन । पढने न ठाउँ थियो न आवश्यकता नै । भारतमै बहराइच भन्दा यता खासै स्कूल थिएनन् । धनी र महत्व बुझ्ने आवश्यक ठान्ने लेभारतबाट शिक्षक बोलाएर प्राइवेट शिक्षा दिलाउँथे र बढी आवश्यक भए बहराइच पठाउन्थे । संवत२०१४ मा मेरो विद्यारम्भ संस्कारमा भारत नानपारा अमरैया गाउँका जनार्दन श्रीवास्तवलाई घरमा राखेर विद्यारम्भ शुरु भएको थियो जसमा हाम्रा गाउँ का केटा केटी पनि पढ्थे। चलन नै प्राइवेट शिक्षा थियो । मेरो घरको द्वारामा र गाउँका अरु हरु जसको गोठ खाली र फराकिलो देखे तेसैमा लगेर बसालेर पढाउन्थे । तिनी गए पछि अर्को पनि कोइ मुन्शीजी (हिन्दू शिक्षकलाई मुन्शीजी र मुश्लिम लाई मास्टर साहेब भनिन्थ्यो ) आएका थिए । तेहीताका जिगीरियामा स्कूल चल्ने भएको थियो।

राजा महेन्द्र लाई दुइ वटा घरेलु समस्याले सार्है चिन्तित बनाएको थियो । पहिलो, नेपाल भने पछि काठमांडू उपत्यका को मात्र बोध हुन्थ्यो र बाँकी नेपाललाई गोरखाली भनिन्थ्यो । पुरै देशलाई नेपाल कसरी भनाउने ? दोश्रो, पैसा भारु चल्थ्यो । नेपाली कसरी चलाउने ? २०१६ जेष्ठमा नेपालमा पहिलो प्रजातान्त्रिक सरकार बन्यो र विशेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भए । यस सरकारले यो समस्याको समाधान मा शिक्षालाई देशव्यापी बनाउने सोच बनायो र महेन्द्रको परामर्शमा २०१६ सालमा नेपाल भर सम्भव भएका ठाउंहरुमा ‘ ‘नेपाल राष्ट्रिय प्रार्थमिक विद्यालय ‘ भनेर स्कूलहरु खोल्ने अभियान चल्यो। बर्दियामा पनि यी शब्दमा स्थानीय गाउँ ठाउँको नाम जोडेर कैयों विद्यालय खुले। त्यस बेला स्कूल भवन र शिक्षक पाउनु दुर्लभ थियो । यस कारण बगैचा, गोठ, जिमिदारका बैठक जहाँ ठाउँ मिल्यो त्यो विद्यालय, र अभिभावकहरुलाई भनसुन गरेर हात जोरेर दुइचार दस जति विद्यार्थी एकत्रित गर्न सकिए ती छात्र , र जसले यिनलाई क‍खहरा पढाउनसक्यो या भारततिर बाट फकाएर कसैलाई ल्याउन सक्यो तेही शिक्षक हुने भयो ।

कांग्रेसको सरकार भएको र गुलरिया मालका तहबिल्दार सुरेशराज शर्मा, कर्मचारीका अतिरिक्त सामाजिक सेवामा लागी पर्ने, इमानदार, कर्मठ र सन्त प्रकृतिका मानिस कांग्रेसका कार्यकर्ता पनि भएका, जिल्लाका ठुला बडा जमीनदार र बड्घर, सम्भ्रान्त व्यक्तिहरुका परिचित भएको लेइनले सक्दो ठाउँ गाउँमा गएर विद्यालय खोल्ने आग्रह गर्ने गरेका थिए । त्यस बेलाको तप्पा पौडामा नितान्त समृदशाली जमीनदार गोरखचौरामा अव्दुल रहिमान सेख थिए भने दुधामा अव्दुल नादिर, अव्दुल कादिर थिए । गणेशपुरका जमीनदारत्रिलोक नाथ मालका मुखिया साथी नै थिए। यस कारण सेन्टर पारेर जिगीरिया गाउँ, जसको स्रेस्ताको नाउँ महम्मदपुर थियो , तेहाँ विद्यालय खोल्न निधो भयो।

वृजमोहन बनिया ( वैश्य ) गुलरिया स्कूल छोडेर लालपुरका नन्दुसाह ( बनिया ) को आश्रय लिएरसंवत २०१३/१४ ताका लालपुरमा बस्न गएका थिए। इनी सुरेशराज शर्मा को नजीक रहीसकेकाले यिनलाई पढाइ दिन भन्न सजिलैभयो । भारत नानपारा भोपतपुर चौकी निवासी अली बहादर खानको जिगीरिया गाउँ मा जिमीदारी र कोठार थियो तेही कोठार मा २०१६ सालको सम्भवतः मगसीर महीनाको शुरुमा पठन पाठन शुरु भयो. केही विद्यार्थी ,जसमा हाल नाम सम्झेको दुधा बाट नसीरुद्दीन सेख, भवनियापुर भन्ने गणेशपुर बाट अयोध्या श्रीवास्तव, सहजराम कुर्मी, तिलकराम कुर्मी, राम निवास कुर्मी, राधेस्वरी ब्राह्मण , बूंदी ब्राह्मण , र खुशीराम भुजवा, जिगीरिया का समसाद खान र गफ्फार खान (हाजी ,हफ्ता दिन मात्र पढे होलान), डल्लापुरका गोकुल महतौ (अहिर) का नाती शालिकराम अहिर थिए । अरुको पहिचान हाल खुल्न सकेको छैन। त्यसबेला शिक्षकको नाम ठेगाना आदि सोध्ने बुझ्ने विद्यार्थी कोलागी सम्भव नभएकाले कसले पढायो ? थाह भएन। अहिले इतिहास बुझने क्रममा प्रथम शिक्षक तिनै बृजमोहन बनिया रहेछन। ( नन्दुसाहबनियाकाछोरारामलखनबानियाँ(गुप्ता )पंचायतकालमाउपप्रधानपंचभएकाथिएउनी साक्षरथिए , तिनै मुन्शी बृजमोहनले घरमा प्राइवेट पढाएको हुनुपर्दछ) हामी जिगीरिया कोठारमा जाडो लाग्दा बगैचाको छेउमा नजीकै खलियानमा ( आज को गा. वि. स. भवन कम्पाउण्ड को दखिन पश्चिम ) पराल बिछायेर पढन बस्थ्यों । यस अर्थमा मंसीर महीना हुनु पर्दछ । हामीले मुन्शीजी भन्थ्यौँ। सम्भवतः त्यस बेला मुन्शीजीको लागी ८-१० रुपिया चन्दा उठ्दो हो। २०१७ साल पौष १ गते विद्यालयको विधिवत उद्घाटन भयो भन्ने आलेख पाइन्छ तर कसले गर्यो रेकर्ड भेटिएन । त्यस बेला दुधाका जमीनदार र सामाजिक नेतृत्व दिने अब्दुल कादिर अध्यक्ष बनाइनु भएको थियो भन्ने सम्म बुझिन्छ (पछि समसाद खान लामो समय सम्म अध्यक्ष रहे )

बृजमोहन लेछोडे पछि होला, नानपाराबाट एक जनाशिक्षक’ मास्टर साहेब’ आए । उनले नसिरुद्दीन सेख लाईनानपारा बाट हिन्दी र अंग्रेजी गरी दुइ किताब (वहाँ हामी भन्दा उमेरमा बढी जेठो हुनुहुन्थ्यो) र हामीहरुको लागी एक एक किताब ल्याउनु भएको थियो। स्कूल उद्घाटन नहुदै २०१७ वर्षाको कुरा हो, गणेशपुर बाट जिगीरिया जाने आजको बाटो र हुलाकी बाटो नै तेहाँ थिएन, हामी गणेशपुरबाट निकलेर, गुरुखेत हुँदै, खेतको आली आली पिपल रुख मुनी हुँदैडल्लापुर गाउँमा पसेर पश्चिम ओरीपुरवा गाउँमा पसेर आली आलीमै जिगीरिया गाउँमा सुर्जे भुजवाको घर पसल नजिक दखिन तिरबाट प्रवेश गर्दथ्यों । वास्तवमा ६/७/८ वर्षका बच्चाहरुलाई घाँस उजाडमा हिड्न दिने लायकको मेढको बाटो राम्रो थिएन। वर्षामा हिड्न एक त तेसै जोखिम थियो भने वोरी पुरवा गाउँमा प्रवेश गर्दा आलीको एका पट्टी सुँगुरका खोर र हिलोको खाल्टो र अर्को पट्टि भैसी बाधनेहिलोका खाल्टाहरु , भैसी ज्यान हलाये या पुच्छर चलाई दिए समस्या ।यस्तै वर्षामा एक दिन हामी आलीमा निस्कन नसकेर भैसीवाला कसैको घरको आँगनबाट निक्लियों । एक जना मान्छे खुब रिसायो ।

४ बजे फर्कने बेलामा कता बाट जाने भन्ने समस्या भयो र हामी डल्लापुरको उत्तरको जबदाबाट हिड्यो तर तेहाँ त तलाउ रहेछ अनि कता कता आली आली हुँदै भचना (गणेशपुरको अहिलेको त्रिलोकी चोक ) मा पुग्यो। भचना हालको पुलिश चौकी देखि रसीद अहमदको घर सम्मपानी भरिएको खाल्टो र खाली जग्गामा खर घास झाडी थियो। येन तेन हामी छेउ छेउ निस्कन लाग्दा राधेश्वरी खाल्टोमा परिन र डुब्न लागिन। दुइ चार मिनेटमा मर्थिन होला तर तेही झाडीमा तरकारी टिप्न लागेका डल्लापुरका लोनिया र क-कसले हो पानीबाट निकाले हामी घर गयों। भोली पल्ट देखि जिगीरियाको स्कूल सकियो र डल्लापुरमा साहेबदीनको व्यास गद्दीर गोकुल महतौको गोठमा स्कूल चल्यो । नसिरुद्दीन शेखवर्षा महिना माएक्लै दुधाबाट आउन गाह्रो थियो, समसाद खानलाई पनि एक्लै डाल्लापुर या गणेशपुर पुग्ने अवस्था थिएन र आउन छोडे ।

गणेशपुर गाउँमा वनजांच बस्न लाई मेरो जग्गामा किनारामा काठको घर “काठमाण्डौै काष्ठमण्डप”थियो । वनजाँचले बुवासँग साइडमा जग्गा मागेर भान्साघर बनायेथे । कोई स्थायी रहे बसेमा भात पाक्थ्यो अन्यथा खाली थियो । पछि यसैमा स्कूल चल्यो । ( २०२१ को नापीमा यो वन चौकी कायम भयो र वन चौकी हटे पछि २०४७ मा सबैको सरसल्लाह र राम दुलारे कुर्मी ले ५ कट्ठा जग्गा दान गरेर करीब साढे सात कट्ठा कोयो ठाउँले अर्को विद्यालय जन्मायो जो आज गणेश प्रा वि को नाम ले चले को छ ।

२०१७उद्घाटन पछि जिगीरियामै स्कूल सञ्चालन हुँदै गयो । नानपाराका नाम याद भएन, मास्टर हिडे पछियो लेखक २०१८ साल जेष्ट मा गोण्डा पढ्न पठाइयो र यो स्कूल छुट्यो । त्यसपछि यसमा गणेशपुरका राम मूर्तिशर्माले पढाउनु भयो । शिक्षकसंग कम्तीमा ८ पासको स्कूलको सर्टिफिकेट हुनु पर्ने र नर्मल तालीम गर्नु पर्ने प्रावधान आए पछि शम्सेर बहादुर श्रीवास्तव शिक्षक हुनु भयो। वहाँ गाउँपञ्चायतको सचिव हुनुभए पछि अरु हरु आउँदै जानु भयो । यसरी जिगीरियाको स्कूल गणेशपुर, तीनवटै लालपुर, दूधा र डल्लापुरको लागी पनि त्यस बेलाको बाटो घाटोले गर्दा अनुकूल थिएन र गणेशपुरको हामी ६/७ जना र दूधा बाट १ जना, जिगीरियाबाट २ जना (एक जना त केही दिन मात्र) बाहेक यसका छिमेकी ओरिपुर्वा, गोरखचौरा डल्लापुरबाट पढ्न जाने कोई थिएन । तेस बेलाको वातावरण र बाटोघाटो नभएको आलीमा हिड्नु पर्ने आदि असुविधाले गर्दा आफ्नो गाउँ देखि बाहिर पढन जाने स्थिति नै थिएन । यी गाउँहरु मा त्यसबेला हुने खानेहरु आजका भन्दा ज्यादा थिए। वहाँहरु गुलरियाका १५/२० रुपिया तलब पाउने कर्मचारी भन्दा निकै धनी थिए । यदि यी सामर्थ्यवान ग्रामीण हरुमा शैक्षिक चेतना भै दिएको भए र वहाँ हरुका सन्तानले पनि शिक्षा प्राप्त गरेका भए गणेशपुर डल्लापुर लालपुर, दूधा , गोर्खाचौरा जिगीरियाका सेख, अहिर, बाहुन, कुर्मी , पठान, चमार, खटिक, भुजवा, बानिया आदि राज्यको उच्च शिखरमा पुगी सकेका हुन्थे र बर्दियाकै इतिहास, अवस्था र यो स्कूलको दशाआजको भन्दा धेरै फरक हुने थियो। तर शिक्षाको उपयोगिता र महत्त्व पहिचान गर्न नसकेकोले सबैको अवस्था तल खस्केको छ र स्कूल को पनि।

जिगीरिया गाउँ, स्कूलको लागी उपयुक्त ठाउँ नभएको र तहाँको समुदायले बालबच्चा नपढाउने हुनाले स्कूल सार्नु पर्यो भनेर शिक्षक श्रीनारायण ठाकुरले लालपुरको बगियामा स्कूल लगे र ने रा प्रा वि महम्मदपुर नामको स्कूल ने. रा. प्रा. वि. लालपुर भयो। अहिले समाजमा राम्रो स्थान बनाउन सफल ब्यक्ति जिगीरियाका मंत्री भन्ने महम्मद कर खान र मजीबुल्ला खानको प्रारम्भिक शिक्षा यहीं भयो। केही वर्ष पछि अब्दुल्ला सेखको पालामा श्रीनारायण ठाकुर र वहाँका बीच झगडा नै भयो र वहाँले स्कूलको बाकस उठाई लहडुमा राखी स्कूल फेरी जिगीरिया पुर्याउनु भयो तर पछि २०३३ मा त्यहाँबाट सारेर अहिले भएको ठाउँ गोरखचौरा जिगीरियाको मोडमा डल्लापुरका जोगी अहिरले दिएको ६ कट्ठा जग्गा र अलि कति बाटोको छेउछाउ मिलाएर पक्की भवन बनाएर संचालनमा रहेको छ। र अब यसको परिवर्तित नाउँ गौरीशंकर माध्यमिक विद्यालय डल्लापुर रहेको छ । यस्तो पिछडिएको समाजमा पनि स्कूल जीवित छ, यो सौभाग्यको कुरा हो, तर नितान्त प्राचीन गाउँ बस्ती भएको ठाउँमा जहाँ ठुल्ठूला जमीनदार थिए , थुप्रै जग्गा जफत र फालाफाल भयो, कसैको नाउँ रहने गरी धेरै क्षेत्रफल प्राप्त हुन् सक्थ्यो , राम्रो फिल्ड हुन् सक्थ्यो र आजको जस्तो खुम्चिएर रहनु पर्ने थिएन। सरकारले उपेक्षा गर्दै आउनु र स्थानीयले उदासीनता देखाउनु दुर्भाग्य हो।

वर्तमान अवस्था :-

हाल विद्यालय २०७८ देखि कक्षा १० सम्म संचालित भएको छ । यसमा कुल विद्यार्थी ४४७, शिक्षक१३ जना छन् । वार्ड न ११ का वार्ड अध्यक्ष राम नारायण प्रसाद केशरी नै स्कूल संचालक समितिका अध्यक्ष पनि हुन्। विद्यालय को सेवाक्षेत्र मा ९९% भन्दा पनि बढी समुदाय स्थानीय मधेशी हरुको छ, जसमा दलित, अल्पसंख्यक र नितान्त गरीब, अशिक्षित र विकास प्रतिको कमजोर सोंच भएका व्यक्तिहरुको बाहुल्यता रहेकोछ यस कारण बालबच्चा हरुप्रायः शिक्षादेखि बन्चित छन् र येनकेन स्कूल जानेहरुले छिटै स्कूल छोडछन् । विद्यालयका प्र. अ.ललित चन्द थारु र अध्यक्ष केशरी दुवै जना पढे लेखेका मेहनती युवाहरुको नेतृत्वमा अभिभावक हरुले विद्यालय र विद्यार्थी को उन्नति प्रगतिको आशा राख्नु अस्वाभाविक होइन।
यो स्कूल नेपाल भारत सीमादेखि २ कि मी फरकमा छ। पारी लौकाही , खम्हरिया, जस्ता ठुलाठूला र छगडहवा बर्थनवा आदि गाउँहरु छन तर त्यहाँ स्कूल नहुनाले नेपालको भन्दा पनि पिछडिएको अवस्था छ । तसर्थ यो क्षेत्र नै लगभग अशिक्षित र परम्परागत सोंच को प्रतिनिधि रही आएको छ।

सुधारका विन्दुहरु :-

(१) भारतीय बार्डर र गाउँ हरुसंग जोडिएकोले त्यताको प्रभाव यता पर्नु स्वाभाविक हो। त्यताका कतिपय विद्यार्थी नेपालमा पढन चाहे पनि सवारी साधन छैन । नेपाली विद्यार्थीलाई पनि सवारी सुविधा दिन सकियो भने गाउँका विद्यार्थी को सुविधा र आकर्षण बढने देखिन्छ। यस कारण स्कूल लाई एउटा मिनी बस को आवश्यकता छ।
(२) यो पुरै क्षेत्र नेपाल या भारत गरीब बस्ती अशिक्षित समुदाय परम्परागत समाज छ। चेतनाको स्तर नै धेरै तल छ, विकासको सोंच न्यून छ। ससाना केटा केटी कि त ससाना घरका जम्मा हुन्छन् कि त गाउँमा तेत्तिकै खेली रहन्छन। विद्यालयका बालबालिकालाई दिउँसो खाजा खुवाउने सन्दर्भका थुप्रै विकृतिहरुका बावजूद साना विद्यार्थी हरुलाई खाजाको प्रबन्धभै राखेकोले राम्रो मान्न सकिन्छ ।
(३) यो विद्यालयलाई कम्प्यूटर शिक्षा र अटोमोबाइल रिपेयर (मैकेनिकल) शिक्षासंग जोडन सक्यो र नेपाल भारतबाट समेत विद्यार्थी आउन सकेमा यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुन सक्दछ।
( ४) जुनसुकै विद्यालयमा शिक्षक र संचालक समितिलाई कम्यूटरको न्यूनतम प्रारम्भिक ज्ञान र नेपाली भाषा शुद्ध लेखन तालीम दिनु आजको आवश्यकता हो।यो कुरा यस विद्यालयका लागि पनि आवश्यक हुन सक्दछ।
(५ ) विद्यालयको नितान्त थोरै क्षेत्रफल र त्यो पनि विद्यालयको नाउँमा पास भइ नसकेकोले सर्वप्रथम जग्गा धनीको नाम विद्यालयमा जोडेर भएपनि जग्गा पास गराउनु पर्ने र क्षेत्राविस्तारको लागि अझै पनि पछाडीको जग्गा धनीसंँग कुरा गरेर जग्गा मागेर या किनेर भए पनि लिन सकियो भने भविष्यको लागी राम्रो आशा लिन सकिने ठाउँ छ । विकासका चार आवश्यक शर्त हुन्छन। १, लगन, २, इमानदारी , परिश्रम, र (४) धन । विद्यालय परिवारले संकल्पका साथ अगाडी बढ्न सक्नु पर्दछ ।

(६)नेपालका निजी तथा आवासीय स्कूलहरुमा यद्दपि सिमापारीका विद्यार्थी पढन आउँछन्, तर सरकारी विद्यालयमा गैरनागरिकका सन्तान पढन नपाउने नियम भएको र मधेशी समुदायमा थुप्रै नेपाली नागरिकहरुले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेबाट तिनका सन्तान पनि शिक्षा देखि नै वञ्चित भै रहेका छन् यो क्षेत्रको यो पनि ठूलो समस्या हो र यो देशको लागी घातक नियम हो ।
(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक र अधिवक्ता हुन् )

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button