११ आश्विन २०७९, मंगलवार

कञ्जरभेसन, मोराल र डेडिकेसनः बितेका दिनको सम्झनामा एकजना सेनाका मेजरसाव !

कुरा २०५४/०५५ साल तिर बर्दियाको हो । नेपालगञ्जमा सेनाको ४ नंबर बाहिनि अड्डा थियो । गुल्मपति बेला बेलामा त्यहाँ गैराख्नु पर्ने हुँदोरहेछ । एकदिन बिहानै मेजरसाव पन्चु ओढेर आफ्नो गुल्मको पुरानो खुला महेन्द्रा गाडीमा बसेर गएको देखेको थिएँ । पानी पनि परेको थिएन किन मेजर साव पन्चु ओढेर हिंड्नु भयो भनेर म अचम्मित भएको थिएँ त्यतिबेला । भोलिपल्ट भेट हुनासाथ मैले पन्चु अघिल्लो दिन ओढेर गाडीमा बसेर गएको प्रसंग कोट्याएँ । वहाँले भन्नु भयो अर्को कपडा लैजाँदा कपडा फेर्ने झञ्झट हुन्छ भनेर यहाँबाटै युनिफर्ममा गएको र कच्ची बाटो भएकोले धुलोले कपडा बिग्रिने भएकोले धुलोबाट बँच्नका लागि पन्चु ओढेर गएको कुरा बताउनु भयो । यस्तो अत्यावाश्यक काममा हाम्रो गाडी प्रयोग गरेको भए हुन्थ्यो, हाम्रो गाडी फुलबडी भएकोले धुलो कम छिर्छ भनेर सहानुभूति देखाएँ। वहाँले निकुञ्जमा पनि एउटै गाडी छ, एक दिन भएपो काम चलाउनु महिनामा तीन चार पटक सम्म जानुपर्ने हुन्छ त्यसैले निकुञ्जको काममा बाधा पारेर गाडी प्रयोग गर्न उचित लागेन, बरु अम्रेनीसम्म पन्चु ओढेर गएपछि उता त पक्की बाटो छ समस्या छैन भन्नु भयो । वहाँ गस्तीमा पनि साइकिल नै प्रयोग गर्नुहुन्थ्यो । साइकिलमा नै कर्णाली चिसापानी र रम्भापुरसम्म पुग्नुहुन्थ्यो ।
गुल्मपति भए पनि मेजर साव एन्टिपोचिङ्ग अपरेसनमा आँफै खटिनु हुन्थ्यो । होइन कता कता मान्छे पस्यो भन्ने गाईगुई सुन्छु के हो ? भन्दै गस्तीमा निकै ध्यान दिनुहुन्थ्यो । प्रायः एन्टिपोचिङ्ग अपरेसन टोली निस्कने समय भन्दा प्रायः पाँच मिनट पहिलानै वहाँ निकुञ्जको गेटमा पुगिसक्नु हुन्थ्यो । त्यसदिन एकजना सिपाहि मेजरसावको लागि गाडी भित्रै पठाइदिनु रे भन्न आइपुगे । हाम्रो टोली तयार भएर गेटमा निस्किंदा मेजरसाव गाडीमा बसिरहनु भएको थियो । निकुञ्जबाट म र नरेश सुबेदी सहितको टोली गाडीमा बसेर अगाडी बढ्यौं । हाम्रो साथमा गैंडा मारेको आरोपमा पक्राउ परेका ब्यक्ति पनि थिए । उनले गैंडा मार्न प्रयोग गरेको बन्दुक परेवाओडार नजिकै रुखको टोड्कोमा लुकाएको छु देखाइदिन्छु भनेर बताएको हुँदा हामी त्यसतर्फ जांदै थियौं । हामीले यो मान्छेलाई पक्राउ गर्न जाँदाको कहानी पनि मेजरसावलाई सुनाउदै गयौं । अँध्यारो भएपछि ठाकुरद्वाराबाट गाडीमा निस्किने, केहि पर गाडी राखेर पैदल गै मानिस पक्राउ गर्ने योजना थियो । तर साँझ पख गाडी चलाउने साथी BICP का लेखाअधिकृत सि.पि. भण्डारीको हजुरआमाको स्वर्गबास भएको खबर आयो । हामीले निकै गोप्य तरिकाबाट योजना बनाएकोले सिमित ब्यक्तिमा सूचना केन्द्रित गरेका थियौं । यो दुखदः खबरले हामी मर्माहत भयौं । हाम्रो योजना मध्येका एक सदस्य तुरुन्त घर जानुपर्ने अवस्था आयो । तर सि.पि.भण्डारीले यो अपरेसन सकेर फर्केपछि मात्र घरतर्फ प्रस्थान गर्छु तर अपरेसनमा सहभागि हुन्छु भन्नु भयो । हामी भुरिगाउ पुगेर प्रहरीलाई साथमा लिएर अगाडी बढ्यौं । रात छिप्पिंदै थियो, जताततै अन्धकार थियो । मानिस पक्राउ गर्न जाने बाटोमा ठूलो घोल थियो । सानो डिलबाट हिंडेर घोल पार गर्नुपर्थ्यो । दिउसो त सजिलै थियो तर रातीको समयमा बत्ती नबालिकन त्यहाँ हिंड्न सजिलो थिएन । जाँदा जाँदै हामीसंग गएका प्रहरीसाथी डिलबाट पानीमा खसे । उनलाई त माथि तानियो तर उनको हतियार पानीमा खसेर आपद पर्यो । पानीमा डुब्दै छामेर हतियार फेला पर्यो । गाउँका कुकुर भुकेर पुरै गाउँ थर्काइरहेका थिए । हामीले घर घेरिसकेका थियौं । निज ब्यक्ति कुकुरको एकोहोरो भुकाइले सतर्क भैसकेका रहेछन । कपडा लगाएर भाग्ने तयारी गर्दागर्दै निजलाई पक्राउ गरीएको थियो । निजलाई मध्यरातमा निकुञ्ज मुख्यालयमा ल्याई पुर्याएपछि सि.पि. भन्डारी आफ्नो घरतर्फ हिंडेको कुरा सुनाउदै गर्दा हामी परेवाओडार पोष्ट पुगिसकेका थियौं ।
हामीले पक्राउ परेका ब्यक्तिलाई बन्दुक लुकाएको ठाउँ कति टाढा छ भनेर सोध्यौं । उनले बुढीखोलाको पुलबाट उत्तरतर्फ केहि अगाडी गएपछि सानो गोरेटो भेटिन्छ, त्यो गोरेटोलाई नछोडि गएपछि दाँया, बाँया दुइटा कुसुमका रुख छन, पूर्वतर्फको कुसुमको रुखमा टोड्को छ । त्यहि टोड्कोमा बन्दुक राखेको छ भनि बताए । हामी गाडीबाट झर्दा मेजरसाव एउटा खुट्टामा जुत्ता लगाएको अर्को सुन्निएर फुलेको खाली खुट्टालाई लठ्ठीको सहारा दिंदै गाडीबाट उत्रिनु भयो । वहाँको अवस्था देखेर हामी अचम्म मान्दै के भएको हो भनि प्रश्न गर्यौं । वहाँले यो युरिक एसिडको समस्याले मलाइ दुःख दिएको छ भन्दै लठ्ठीको सहाराले अगाडी बढ्न थाल्नु भयो । हामीले वहाँलाई त्यहिं बस्न अनुरोध गर्यौं । तर वहाँले भन्नु भयो ” होइन यो शरीरलाई त जस्तो गरे पनि सुख छैन, थुपुक्क बसेर नदुख्ने हिंडेर दुख्ने होइन बरु हिंडे पसिना आऊछ फाइदै हुन्छ” । म सकि नसकि हिंडेर काम गरें भने मेरा अफिसर, जेसिओ, पदिक र जवानमा उर्जा पैदा हुन्छ । प्रकृति संरक्षणको काममा मेरा जुनियर र सहकर्मीको ” मोराल र डेडिकेसन” बढ्छ । म चुप लागेर बसें भने उनिहरु पनि ड्युटिको नाममा झारा टार्ने, दिन बिताउने बाहेक केहि गर्दैनन । वहाँको संक्षणमा समर्पित यो उच्च भावनाबाट हामी पनि नतमस्तक भयौं ।
एउटा खुट्टामा बुट अनि अर्को सुन्निएको खाली खुट्टालाई लठ्ठिको सहारामा लतार्दै वहाँ हामीसंगै अगाडी बढ्नु भयो । करीब तीस मिनट हिंडेपछि कुसुमको रुख भएको ठाउँमा पुगियो । पक्राउ परेका ब्यक्तिले बताए अनुसार हाम्रा साथीहरु रुखमा चढेर हेर्दा ठूलै टोड्को त भेटियो तर बन्दुक थिएन । पक्राउ परेका ब्यक्तिले बन्दुक त्यहिं छ, तिमीहरुले राम्ररी हेरेनौ म निकालिदिन्छु भनेर भन्न थाले । हामी पटक पटक रुखमा चढेर हेरयौं तर बन्दुक थिएन । हामीले पक्राउ परेका ब्यक्तिलाई रुखमा चढेर बन्दुक निकाल्न भन्यौं । उनी सरासर रुखमा चढेर टोड्को भएको ठाउँतिर नगइकन अर्को हाँगोमा चढे र त्यहाँबाट फुत्त भुइमा हामफालेर भाग्ने कोसिस गरे । तर हामीले तत्कालनै निजलाई नियन्त्रणमा लियौं र झुठो कुरा गरेको भनेर रिसायौं ।
हामी त्यहाँ मुचुल्का उठाएर फर्किने तयारी गर्दै थियौं । पक्राउ परेका ब्यक्तिले मेजर सावलाई देखाउँदै “वहाँ नसकि नसकि यहाँ सम्म आउनु भयो बन्दुक नलिइ कसरी फर्किनुहुन्छ त ?” अर्को ठाउँमा पनि हेर्ने कि भनेर प्रश्न गरे । हामीले तपाई झुठो कुरा गरेर दुखः दिने मान्छेको कुरामा हामीलाई बिश्वास छैन, अब फर्किनु त पर्यो के गर्ने त ? भन्यौं । उनले एउटा बन्दुक त यहाँ नै राखेको हो । अरु साथीहरुले लगे होलान । बन्दुक राख्ने अर्को ठाउँ पनि छ त्यहाँ हेर्ने हो ? भनेर सोधे । हामीले हुन्छ भनेर सहमति जनायौं । उनकै निर्देशन अनुसार बबई पुल भन्दा केहि तल मुहान भएको कुलो पछ्याउदै गएपछि एउटा धुरपुल(काठको बिममा हांगाबिगा राखेर माटोले पुरी आवागमन गर्न मिल्ने गरी बनाइएको पुल) भेटियो । उनले पानीमा छिरेर पुलको पूर्बी किनारमा छामेपछि बन्दुक भेटिन्छ भनेर बताए । हामी उनले बताए अनुसार नै पानीमा पस्यौं । उनले भने अनुसार नै २ थान भरुवा बन्दुक फेला परे । ति बन्दुकहरु बरामद गरेर हामी ठाकुरद्वारा फर्कियौं । पक्राउ परेका ब्यक्ति कानुन बमिजिमको दण्ड सजाय भोगेर सामान्य जीवनमा फर्किसक्नु भएको छ । त्यसैले मलाई वहाँको नाम उल्लेख गर्न मुनाशिब लागेन । बर्दियामा गुल्मपति भएका बखत वहाँले एकजना बहालवाला सेनाको क्याप्टेनलाई बन्दुक लिएर निकुञ्ज प्रबेश गरेको अवस्थामा पक्राउ गरी थुन्नु भएको थियो भने संरक्षणको ड्युटिमा लापबाहि गर्ने केहि सहकर्मीलाई पनि कारबाहि गर्नुभएको थियो । बर्दियाबाट गएपछि वहाँसंग कहिल्यै भेट पनि भएन र समपर्क पनि भएन । म आज पनि वहाँको जिम्मेवारी प्रतिको लगनशिलता र त्यो “कञ्जरभेशनमा मोराल र डेडिकेसन” भन्ने शब्दावली र वहाँको भावनाबाट अत्यन्त प्रभावित छु । जहाँ भए पनि म वहाँको सुस्वास्थ्य, सुख, सान्ती,समृद्धि र दिर्घजीवनको कामना गर्दछु । वहाँ हुनुहुन्छ मेजर “पदम कुमार राई” ।
१५ पौष २०७८
Show More

Leave a Reply

Your email address will not be published.

Back to top button