११ जेष्ठ २०७९, बुधबार

कर्ममा सचेतता र सावधानी

शैक्षिक सवाल

सिकाइ “व्यक्तिको व्यवहारमा स्थायी रुपमा आउने परिवर्तन हो” भनी शिक्षाविद्हरूले सुझाएको भनाइ सारा विश्व शैक्षिक जगतले नै स्वीकारेको छ । खासगरी बालबालिकाहरुको सिकाइ र यससँग सम्बन्धित क्रियाकलापहरूलाई निकै नजिक रहेर उनीहरुका सिकाइ क्रियाकलापहरूलाई मूल्याङ्कन गर्ने प्रयोजनका लागि भने विद्यालयमा विभिन्न कक्षा तथा तहहरूमा परीक्षा लिने गरिन्छ । यस्ता परीक्षाहरू सुधारात्मक अर्थात् निर्माणात्मक र निर्णयात्मक गरी दुई किसिमका हुने गर्दछन् । नेपालको वर्तमान शिक्षा प्रणाली अन्तर्गत हाल विद्यालय शिक्षालाई आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजन गरिएको छ । नेपालको संविधान, (२०७२) ले धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने कुरा उल्लेख गर्दै राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिषा निःशुल्क पाउने हक हुने कुरा उल्लेख गरिएको छ । शैक्षिक गुणस्तर र सिकाइको मापनको महत्वपूर्ण संयन्त्रका रुपमा रहेको मूल्याङ्कन पद्धति विश्वसनीय र वैध हुनु पर्दछ ।
हाल विद्यालय स्तरका परीक्षाहरू सञ्चालन भइरहेका छन् भने माध्यमिक शिक्षा परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डले बैशाख ९ गतेदेखि सञ्चालनको आवश्यक तयारी गरिरहेको छ । यसपाली भने ५ लाख बढी विद्यार्थीहरु एसइई परीक्षामा सहभागी हुँदैछन् । परीक्षाको मापन गर्ने मुख्य हतियार भनेकै प्रश्नपत्र हो । त्यसैले प्रश्नपत्र तयारी गर्दा विशेष ध्यान पु¥याउनु आवश्यक हुन्छ । प्रश्नपत्र तयार गर्दा मूलतः विभिन्न चरणहरु र यसका प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ । खासगरी सबैभन्दा पहिला सम्बन्धित विषयका विज्ञहरुद्वारा निदृष्ट पाठ्यक्रम समेटिने गरी विशिष्टिकरण तालिकाको मापदण्डमा आधारित रहेर प्रश्न बैंक निर्माण गराउन लगाई तिनै प्रश्नहरुलाई आधार मानी प्रश्नपत्रको अन्तिम संरचना तयार गरी त्यसलाई पनि कहिँकतै शुद्धाशुद्धि, कठिनाई स्तर, विशिष्टिकरण तालिका अनुसार भए वा नभएको तथा पाठ्यक्रम समेटेको वा नसमेटेको एकिन गरेर मात्रै प्रि—प्रेस तयार गर्नु पर्दछ । प्रि—प्रेस पूर्व पनि प्रश्नपत्रमा कहिँ कतै त्रुटि भएमा प्रिन्ट गरेर हार्ड फम्र्याटमै सच्याएर मात्रै प्रश्नपत्रलाई अन्तिम रुप दिनु आवश्यक हुन्छ ।
वर्तमान समय सूचना सञ्चार र सामाजिक सञ्जालको भएकोले पनि त्रुटिपूर्ण प्रश्नपत्रहरु कहिँ कतैपनि भएका क्षणभरमै सार्वजनिक हुने भएकोले पनि यस कुरामा समग्र शिक्षा क्षेत्रका सरोकारवालाहरू र विशेष गरी शिक्षकहरू नै सचेत बन्नु आवश्यक हुन्छ । भनिन्छ “कुनै पनि प्रकाशन गरिएको कृति वा केही पनि विषय प्रकाशित हुनासाथ सम्बन्धित सर्जक मरिसकेको हुन्छ”, त्यसैले पनि तत्पश्चातको समयमा भने यसो भयो, उसो भयो भनेर भन्नु वा विज्ञप्तिबाट प्रष्टोक्ति दिनु गोहीको आँशु चुहाउनु मात्र हो ।
त्यसैले पनि कुनै पनि विषयको प्रश्नपत्र तयारी गर्दा, कम्प्युटर टङ्कण, प्रिप्रेस तयार गर्दा सबै कुरा एकिन गरेर मात्रै प्रश्नपत्र प्रकाशन गरिनु पर्दछ, अन्यथा कुनै एक विद्यालय वा संस्था वा व्यक्तिबाट पनि यस कुरामा कमजोरी भएमा पेशाकर्मी र शैक्षिक जगतकै बदनामी हुने भएकोले सचेत होऔँ, सावधानीका साथ कर्म गरौँ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button