११ जेष्ठ २०७९, बुधबार

चुनावी प्रचार शैली : देउसी, भैली

स्थानीय निर्वाचन विशेष

यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावका कारण सडकमा आ–फ्ना दलका प्रचारात्मक नारा घन्किरहेका छन् तर ग्रामीणस्तरमा रहेका वास्तविक मतदाताले भने व्यवस्था होइन, अवस्था परिवर्तनको लागि बाटो नियालीरहेका छन् । ती जनतामा साँच्चै सडकमा घन्किरहेका राजनीतिक दलका नाराहरूमा खासै चासो छैन । चुनावी प्रचार प्रसारको तौरतरीका हेर्ने हो भने तिहारमा खेलिने देउसीभैलो भन्दा खासै फरक छैन । यसो हुनुको मुख्य कारण भनेको हाम्रा नेतृत्वमा दुरदर्शिता नभएर नै हो । अर्थात हाल स्थानीय तहको चुनाव हो, पालिकालाई जनताप्रति उत्तरदायी, जवाफदेही, पारदर्शी र जनमुखी बनाउनको लागि के गर्नुपर्छ भन्ने स्पष्ट खाका उम्मेदवारहरुसँग छैन । वास्तवमा भन्नुपर्दा उनीहरुसँग कुनै भिजन छैन जसले उनीहरुलाई भविष्यमा काम गर्ने बाटो दिशानिर्देश गरोस् । अर्को कुरा चुनावी आचार संहिता पनि उल्लङ्घन भइरहेको छ । जताततै सार्वजनिक स्थलहरुमा पोस्टरहरु टाँसिएको छ । यसतर्फ कसैको ध्यान गएको देखिँदैन ।

चुनाव जस्तो यति महत्वपूर्ण कार्यक्रम हुँदैछ तर जनतामा उत्साह छैन, यसलाई लोकतान्त्रिक अभ्यासमा राम्रो संकेत मान्न कदापी सकिँदैन । जनतामा उत्साह र उमंग नआउनु भनेको जनतामा पद्धति तथा नेतृत्व गर्ने नेताहरुप्रति निरास हुनु हो । जनताले संघीयता पश्चात् स्थानीय तहमा जुन खालको विकास, परिवर्तनको अपेक्षा राखेका थिए त्यो हुन नसक्नु परिणाम अहिले यो चुनावमा देखिएको छ । राजनीतिक दलबाट उम्मेदवारी पाएका उम्मेदवारहरु भोलीका दिनमा विजय हासिल गरेपछि जनताको आवाज कत्तिको सुन्छन्? त्यसले धेरै ठुलो अर्थ राख्दछ ।

चीनका राष्ट्रपति समय मिलाएर जनताको घरदैलो र खेतबारीमा पुग्छन्, भेटघाट गर्छन्, समस्या बुझ्छन् र समाधानको लागि पहल गर्छन् त्यसैले जनताले नेतृत्वको विश्वास गरेकाछन् । नेपालमा नेता गाउँमा आउने र जनताको घरदैलो अनि खेतबारी पुग्ने भनेको समय भनेको चुनावको समय मात्रै बनिरहेको छ किन ? यदि साँच्चै जनप्रेमी नेता हो भने हरेका पालिकाको प्रतिनिधी जनताको कम्तिमा टोलबस्तीमा महिनाको एकपटक पुगेको हुनुपर्छ, त्यो चुनावको आउँदा होइन, चुनाव सकिएको भोलीपल्ट देखि नै त्यो अभ्यास गर्नुपर्छ । अनि मात्रै जनतामा आशाको दीयो बाल्न सकिन्छ । तर अधिकांश राजनीतिक दलमा आबद्ध नेतृत्वहरुमा समाजसेवाको खडेरीे छ, त्यो खडेरीले नै जनताको आशाका बोटहरु ओइलाउँदै गइरहेको छ ।

अब राजनीतिक दलहरुले टिकट दिँदा कस्तो उम्मेदवारलाई दिने भन्ने कुराको निर्णय गर्न जनमत लिने र सोही आधारमा मूल्यांकन गरी उम्मेदवार छनौट गर्ने परिपाटीको बसाल्नु पर्छ । होइन भने जनताले पनि यसको विकल्प खोज्न अगाडी बढ्नुपर्छ । यति मात्र हैन कि कुनै पनि राजनैतिक दलबाट कुनै पनि पदमा उम्मेदवार हुनका लागि निश्चित राजनैतिक पृष्ठभूमिका साथै न्यूनतम शैक्षिक योग्यता पनि तोकिनु पर्दछ । पार्टीको छवीका कारण कहिँ कतै योग्य व्यक्ति नेतृत्वमा नआउँदा गाईले हल्लाउनु पर्ने पुच्छरले नै गाई हल्लाउँदा बेलाबखतमा विभिन्न लज्जास्पद घटनाक्रमहरु पनि बाहिर आएका छन् । यसका लागि अबका दिनमा राजनीतिक दलले गाडेको बुख्याँचा प्रवृत्तिको जड उखेल्न नयाँपुस्ता जुर्मुराएर उठ्नुपर्छ र जनमत नलिई, पावर, पैसा र भनसुनबाट उठाइएको उम्मेदवारको विकल्प जनताबाटै खोजिनुपर्छ, अर्थात स्वतन्त्र उम्मेदवार जनताले खडा गरेर दलहरुलाई चुनौती दिनुपर्छ । अनिमात्र राजनीतिक दलहरुको चेत खुल्नेछ र लाखौंलाख खर्च गरेर उम्मेदवारीको टिकट खरीद विक्री गर्ने चलनमा कमी आउनेछ । विजयी हुने उम्मेदवार दलको चाकरीबाट उन्मुक्त भई पालिकाको विकासको लागि, जनताप्रति उत्तरदायी र विकासका लागि अग्रसर हुन हदसम्म सहयोग गर्नसक्छ ।

(आलेख लेखकको नितान्त निजी अनुभूति र बिचार भएकोले यस पोर्टलसँग कुनै सरोकार राख्दैन ।)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button