२९ जेष्ठ २०७८, शनिबार

१३ महिनामा थपिए ५७७ भेन्टिलेटर र ४०० आईसीयू बेड

१० जेठ, काठमाडौं । पछिल्लो १३ महिनामा ५७७ भेन्टिलेटर र ४०० इन्टेन्सिभ केयर युनिट (आईसीयू) बेड थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या ९०४ पुगेको छ भने आईसीयू बेडको संख्या ३ हजार पुगेको छ  ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए अनुसार १८० भेन्टिलेटर र ६३० बेड आईसीयू थप्ने प्रक्रिया सुरु भइरहेको छ ।

आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने संक्रमितको संख्या दैनिक तीव्र रुपले बढेपछि भेन्टिलेटर र आईसीयू बेड थप गर्ने प्रक्रिया थालेको उनले बताए । हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड संख्या सरकारी अस्पतालहरुमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको र १ हजार ४०० एचडीयू बेड थप गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए ।

कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत गरी सञ्चालनमा रहेको उनले बताए, जसमध्ये निजी क्षेत्रका ४५ अस्पतालहरुसँग सम्झौता गरी कोभिड–१९ का बिरामीहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

अस्पतालहरुमा ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेको र १९ वटा प्लान्ट थप गर्ने चरणमा रहेको उनले बताए । तीन वटा लिक्विइड अक्जिसन ट्यांक रहेकोमा १७ वटा पु¥याउने प्रक्रिया थालेको समेत मन्त्री त्रिपाठीले बताए ।

लिक्विड अक्सिजन ट्यांक संख्या तीन वटा रहेकोमा यसको संख्या २७ पुर्‍याउने प्रक्रिया अघि बढेको जनाइएको छ । वैशाखयता ९०० अक्सिजन कन्सट्रेटर थप गरिएको छ । पछिल्लो समयमा ५ हजार थान अक्सिजन सिलिण्डर थप गरिएको छ ।

साढे ३२ लाख खोप प्राप्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब साढे ३२ लाख कोरोनाविरुद्धको खोप नेपाललाई प्राप्त भएको छ । अनुदान र खरिद समेत गरी ३२ लाख ४८ हजार खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ । जसमध्ये २६ लाख ६५ हजार ९८७ मात्रा खोप लगाइसकिएको छ ।

मन्त्रालयका अनुसार भारतले १० लाख डोज कोभिशिल्ड र चीनले ८ लाख डोज भेरोसेल खोप सहयोग गरेको छ । कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको छ ।

दोस्रो मात्राको खोप लगाउनेको संख्या ५ लाख ५३ हजार ५८९ पुगेको मन्त्रालयले जनाएको छ ।

खोप खरिदका लागि आवश्यक पहल जारी

अन्तर्राष्ट्रिय बजारमा कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धता नभएको अवस्थामा मन्त्रालयबाट खोप व्यवस्थापनका लागि विभिन्न पहल भइरहेको मन्त्री त्रिपाठीले बताए ।

खोप खरिदका लागि संयुक्त राज्य अमेरिका, बेलायत, रुस, भारत र चीन लगायतका खोप उत्पादक राष्ट्रसँग आवश्यक समन्वयका गरिदिनका लागि उच्चस्तरीय पहल भइसकेको मन्त्री त्रिपाठीले बताए ।

– समाचार स्रोत: अनलाइनखबर

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button