३ जेष्ठ २०७८, सोमबार

एउटा चिरपरिचित चिकित्सकको चर्चा

जीत बहादुर शाह

कुडा कर्णालीको दोश्रो संस्करणको अवसरमा बालरोग विशेषज्ञ डा. नवराज केसीले भनेका कुराहरु विर्सिनसक्नुका भएका छन् मेरा निम्ति । एकजना गर्भवति महिला नियमित रुपमा आफ्नो गर्भ चेक गराउने क्रममा आफूसँग आउदा चेक गर्ने क्रममै उक्त महिलाको घाँटीनेर भएको निलडाममा डा. केसीको आँखा परेछ । के भएको हो भनेर ती महिलासँग सोधेपछि महिलाले अप्ठ्यारो मान्दै श्रीमानले कुटेको भनिछन् । डाक्टरले किन कुटेको भनेपछि महिलाले बेलुका रक्सी खाएर त्यत्तिकै नानाथरी निहु खोजेर कुटेको भनी जवाफ दिइछन् । आफूसँग नियमित चेक गराउन आउने महिलाको यो अवस्थाले डा. केसीलाई ननिको अनुभूति भएछ । यी महिलालाई गर्भको बच्चा स्वस्थ र स्वाभाविक बनाउनका लागि यो गर्नुस् त्यो गर्नुस् त भनूला तर उनको श्रीमानको त्यो व्यवहारलाई कसरी सच्याउने होला भन्ने कुराले डा. केसीलाई छटपटी भएछ । त्यसैको परिणामस्वरुप उनले एउटा चिट्ठी लेखेर श्रीमानलाई दिनु भनेर ती नियमित चेकअपमा आएकी गर्भवति महिलाको हातमा पारेछन् ।
महिलाले घरमा गएर डाक्टरले हात पारेको पत्र आफ्नो श्रीमानलाई दिइछन् । श्रीमानले खोलेर हेरेछन् र तत्पश्चात च्यातेर फालिदिएछन् । त्यसपछि भने श्रीमानले गर्ने व्यवहारमा भने परिवर्तन भएको आभास ती महिलालाई हुदै गएछ । बेलुका कुट्न पनि छोडेछन् । कामकाजमा सघाउन थालेछन् । आफूलाई सञ्चो नभएको बेला खाना पकाउने र लुगा धुने लगायतका कामकाजमा पनि सहयोग गर्न थालेछन् । यी सवै कुरा ती महिलाले अर्कोपटक डा.केसीकोमा आउदा खुशी हुँदै अभिव्यक्त गर्ने क्रममा डाक्टर सापलाई सोधिछन् पनि – ‘के लेख्नु भएको थियो र डाक्टर साप त्यस्तो कुरा ? हजूरको चिट्ठी पढेर त मेरो श्रीमानमा आशा नगरेकै सुधार भएको छ त ?’ ती महिलाका कुरा सुनेर खुशी हुँदै डा. केसीले आफूले तपाईकोे गर्भमा हुर्किरहेको बच्चाको नामबाट तपाईको श्रीमानलाई चिट्ठी लेखेको कुरा बताउछन् । यसरी डाक्टर नवराज केसीले लेखेको चिट्ठीको व्यहारो यस्तो थियो ।
‘मेरो पूजनीय बाबा, म आज मेरी आमाको गर्भबाट हजूरलाई यो चिट्ठी लेख्दैछु । म हजूरलाई भेट गर्न बहुत आतुर छु बाबा । मेरो बाबा कस्तो हुनु होला र कहिले भेट्ने होला भनेर मन आत्तिरहेको छ । अरु त मलाई आमाको गर्भभित्र त ठीकै छ बाबा । आमाको गर्भमा जति पनि खेल्न पाएको छु । आमाले पोसिलो खाने कुरा खाँदा मैले पनि त्यही खान पाएको छु । कहिलेकाही आमाले भने अनुसारको खानेकुरा नपाउँदा मैले पनि भोकै बस्ने गर्छु बाबा । किन हो खै, कहिलेकाही आमाको घाटीनेर कसैले थिचे जस्तो हुन्छ र त्यसको कारणले मलाई पनि पीडा हुन्छ । मलाई पनि श्वास फेर्न गारो हुन्छ । कहिले त म बसिरहेको आमाको पेटमै पनि कसैले लात्तिले भकुरेजस्तो हुन्छ त्यतिबेला पनि मलाई असह्य पीडा हुन्छ । मेरो र मेरी आमाको सुरक्षा गर्ने मेरो बाबा हुँदाहुँदै पनि कसले यस्तो गर्छ होला भन्ने पनि लाग्छ । बाबा, म अव केही महिनामै हजूरलाई भेटन आउदैछु । बाँकी कुरा त्यतिबेलै हजूरको काखमा बसेर हजूरसँग मुस्कुराउदै गरौंला । अहिलेलाई विदा हुन्छु । उही आमाको गर्भभित्र रहेको हजूरको नामाकरण समेत नगरिएको प्यारो छोरा ।’
भनिन्छ, पहाडलाई समथर बनाउन जति गाह्रो छ त्यो भन्दा धेरै गाह्रो मानिसको मन परिवर्तन गर्न छ । तथापि डा. केसीले हरेक बेलुका सुरापान गरेर गर्भवति श्रीमति कुट्ने जड्याहाको मन परिवर्तन गर्न सके । कतिको मन परिवर्तन गर्न शिक्षाले समेत नसकेको अवस्था छ । मानिस शिक्षित र पढेलेखेका त हुन्छन् । प्रबृत्ति र आचरणको हिसावले भने पहिले जस्ता थिए त्यो भन्दा फरक हुदैनन् बरु पढेलेखेपछि झन टाठाबाठा भएर आफ्नो दूनो सोझयाउनेतिर मात्रै बढि केन्द्रित हुन्छन् । मतलव बढि आत्मकेन्द्रित अर्थात बढि आफू केन्द्रित । घुमीफिरी रुम्जाटार भनेजस्तै घुमिफिरी आफ्नै निम्ति मात्र काम गर्छन् । यसप्रकारको आत्मकेन्द्रित र निहित स्वार्थकेन्द्रित क्रियाकलापबाट माथि उठेर एउटा डाक्टरले आफूसँग आएको विरामीको भलाइको लागि उसका आफन्तलाई फरक किसिमले चिट्ठी लेखेर उसको मनलाई परिवर्तन गर्न सक्ने काम डाक्टरहरुले गर्ने काममध्येको दुर्लभ काम हो जस्तो लाग्छ मलाई जो काम डा. केसीले गरेर देखाए ।
चिकित्सा पेशामा पैसा कमाउने अवसर प्रशस्त छ । डाक्टरले चाह्यो भने हरेक पाँच मिनेटमा सजिलरी पाँचसय रुपैयाँ कमाउन सक्छ । एवम् रीतले हरेक घण्टामा उसले छ हजार कमाउन सक्छ र दिनमा दश घण्टा खट्यो भने साठी हजार कमाउन सक्छ । पैसा–पैसा भन्ने चिकित्सकहरुले यसरी आय आर्जन गरिरहेका पनि छन् । पैसा कमाउन डाक्टरले चोर्नु ठग्नु पर्दैन । आफ्नो सीप र दक्षता खर्च गरे पुग्छ । तथापि डा. केसी त्यो मामलामा फरक छन् अरुभन्दा । पैसा कमाउने चक्करमा भन्दा मानिसका मनहरु परिवर्तन गर्ने चक्करमा लागेको अरुलाई समेत बोध हुने गरी काम गर्दछन् उनी । त्यसकारण त विरामी जाँच्दा जाँच्दै चिट्ठी लेख्छन् विरामीको आफन्तलाई । चिट्ठी नलेखी विरामी जाँच्दै गरेको भए आम्दानी त बढ्थ्यो होला । तथापि मानिसको मन बदल्न भने गाह्रै हुन्थ्यो । डा. केसी भने आम्दानी बढाउनतिर भन्दा मानिसहरुको मन बदल्नतिर लागिरहेका छन्, जुन कामका लागि डाक्टरले यसरी समय लगानी गरेको देख्नु भनेको सुनकोशीको बगरमा सुन खोज्नु भन्दा पनि कठिन काम हो जस्तो लाग्छ ।
डा.केसीको विङ्स नेपाल भन्ने संस्था छ । उक्त संस्थामा उनले कर्णाली प्रदेश अस्पतालबाट प्राप्त हुने सवै तलव जम्मा गर्छन । त्यसै संस्था मार्फत उनले महिला तथा बालबालिकाहरुका निम्ति गाउगाउमा गएर स्वास्थ्य शिवीर र चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दछन् । चार वर्षको अवधिमा उनी र उनको टिमले कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा गएर पचास जति स्वास्थ्य शिविरहरु सञ्चालन गरेको उनीसँग अभिलेख छ । विङ्स नेपालमार्फत उनले न्यानो सुर्खेत कार्यक्रम सञ्चालन गरेका छन् जसअन्तर्गत जाडो याममा विपन्न र टुहुरा बालबालिकाहरुको लागि न्यानो लुगा वितरण गर्दछन् । यसका साथै अपाङ्ग बालबालिकाहरुका लागि फिजियोथेरापीसम्बन्धी शिवीर सञ्चालन गर्ने काम पनि गर्दछ डा केसीको विङ्स नेपालले । तलव विङ्स नेपाललाई दिएर जीविका कसरी चलाउनु हुन्छ त डाक्टरसाप भनेर यो पङितकारले सोध्दा उनी भन्छन् – ‘जीविका चलाउन समय मिलाएर क्लिनिकमा बस्छु । लोभको भाडो भर्न थाल्ने हो भने कहिल्यै भरिदैन, त्यसैले मरिहत्ते गरेर त्यो कामतिर लागिएको पनि छैन ।’
कुडा कर्णालीका कार्यक्रमको दोश्रो संस्करणको अवसरमा डा.केसीले भनेको अर्को कुरा पनि यो पङ्तिकारको ह्रदयमा अमीट किसिमले वसिरहेको छ, त्यो हो, आमाको ‘अ’ र अर्थतन्त्रको ‘अ’ लाई राज्यले जोड्न सक्नुपर्दछ । जोड्न सक्यो भने समुन्नति सम्भव छ । जोड्न सकिएन भने समुन्नतिका कुरा गर्नु व्यर्थ हुन्छ । डा. केसीबाट यो कुरा सुनेपछि महिला अर्थात आमा र बालबालिकाको क्षेत्रमा गरिने लगानीको महत्व कति छ भन्ने कुराका लागि फेरि अरु कसैलाई सोधिरहन परेन । यूनेष्कोले केही वर्ष पहिले निकालेको प्रतिबेदनमा समेत पूर्व प्राथमिक तहमा बालबालिकाका निम्ति एक डलर लगानी गरियो भने त्यसको प्रतिफल सोरह डलरसम्म प्राप्त हुन्छ भनिएको छ । हाम्रो देशको शिक्षा क्षेत्रमा भएको लगानी उपलब्धिमूलक नहुनुको एउटा प्रमुख कारण पनि साना बालबालिका र तिनीहरुलाई सहजीकरण गर्ने शिक्षक अर्थात सहयोगी कार्यकर्ताप्रतिको सोच र सुविधा निम्न हुनु रहेछ । थाहा छैन मलाई त, कुन्नि किन यस्तो गरेको हो सरकारले ? थाहा पाएर गरेको हो कि थाहा नपाएर गरेको हो । शिक्षामा जूनी विताउदा पनि यसको भेउ पाउन सकिएन ।
डा. नवराज के.सी. कर्णाली प्रदेशको मुटु बीरेन्द्रनगरलाई केन्द्र बनाएर काम गरिहेका छन् । अर्को डा. गोविन्द केसी नेपालकै मुटु संघयि राजधानीमा बसेर काम गरिरहेका छन् । केसी द्वयले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरिरहेको आभास भइरहेको छ । यस्ता चिकित्सकहरु अरुहरु पनि होलान् । त्यो बारेमा खोज र उत्खनन् गर्न बाँकी छ । चिकित्सक मात्र होइन अरु क्षेत्रका मानिसहरु पनि मानवसेवामा लागिरहेकोमा कुनै सन्देह छैन । तथापि तनको रोग निको बनाउनका लागि नियुक्त डाक्टर मनको रोग पनि निको बनाउन खटिएको सम्भवतः मेरो लागि यो एउटा नयाँ सिकाइ हो ।
भैसी किन्दा लिएको बैङकको ऋण तिर्न नसकेर रुमल्लिएका बीरेन्द्रनगर, सुर्खेतकै एकजना विपन्न किसानका निम्ति आफूलाई प्रदेश सरकारबाट कोविद १९ को अवधिमा खटेवापत प्रोत्साहनस्वरुप प्राप्त दुइलाख रकम प्रदान गरेर डा. केसीले भलो गरेकोे सन्दर्भ समेत सम्झनलायक छ । आफन्त पनि नपर्ने एउटा किसानलाई त्यति ठूलो रकम किन सहयोग गरेको भन्ने जवाफमा डा. केसी भन्छन्ः ‘म आफै कर्णालीको छोरो हुँ । एउटा कर्णालीको जोसुकै मानिस पनि मेरो नजीकको आफन्त हो भन्ने मलाई लाग्छ । त्यही मनसायका साथ पनि मैले वहाँलाई सहयोग गरेको हुँ ।’
बस्तीबस्तीमा डा.केसी जस्ता मनकारीहरु भेटिने भए त वस्तीका मानिसहरुले दुःख र अभावमुक्त जीवन विताउन पशुपतिनाथको प्रतीक्षा र प्रार्थना गर्नुु पर्दैनथ्यो होला सायद ! समाजमा डा.केसी जस्ता चिकित्सकहरुको बढोत्तरी हुदै गयो भने त पैसापैसा भन्दै मानिसको जीवनमा खेलवाड गर्न समेत पछि नपर्ने चिकित्सकहरु पनि समाजबाट ओझेल पर्दै जान्थे होला सायद । किन कि अल्वर्ट आइस्टाइनले भने झै यो संसार दुष्ट मानिसहरुको कारणले बाँच्नका लागि कठिन भएको होइन कि ती दुष्ट मानिसहरुको विरुद्धमा केही गर्न नसक्ने असल मानिसहरुको कारणले कठिन भएको हो । सवैलाई चेतना भया ।
मिति २०७७ साल चैत्र ४ गते बुधवार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button