४ आश्विन २०७८, सोमबार

लकडाउन, अनलाइन सिकाइ र बढ्दो बर्ग विभेद

जीतबहादुर शाह

कक्षा एघारको परीक्षाको बारेमा एकदिन भर्चुअल बैठक चल्दै थियो । बैठकमा बीरेन्द्रनगर आसपासका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता थियो । प्रधानाध्यापक बाहेक अन्य उपस्थितिमा बीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख ललित विक्रम सिंह र म थियौं । बेलुकाको खाना पछि र सुत्नु अघिको समय थियो त्यो । बैठकमा कक्षा ११ को पढाइ र परीक्षाको बारेमा कुरा उठे । एकजना प्रधानाध्यापकले यर्थाथ स्थितिको पर्दाफास गर्दै भन्नु भयो– ‘भौतिक उपस्थितिमा थोरै कोर्स अघि बढ्यो । कोरोनाको कारण लकडाउन भएपछि भौतिक उपस्थितिमा कक्षा हुन छाड्यो । तत्पश्चात अनलाइनबाट कोर्स अघि बढिरहेको छ । त्यसमा विद्यार्थीहरु भने पन्ध्रबीस प्रतिसत पनि छैनन् । विद्यालयले परीक्षा लिंदा भौतिक उपस्थितिको कक्षाको कोर्सलाई आधार मान्ने होला कि भर्चुअल कक्षाबाट अघि बढेको कोर्सलाई ?’ यस्तैमा अर्को एकजना प्रधानाध्यापकले जवाफ दिनुभयो –‘त्यो दुइटै क्लासलाई आधार मान्ने होइन । हाम्रो आधार भनेको हाम्रो पाठ्यक्रम हो । हाम्रो विशिष्टीकरण तालिका हो । हाम्रो कोर्स अफ कन्टेन्ट हो ।’ प्र.अ.को कुरामा सहमति जनाए पनि मभित्रको मानवताले भने नमीठो अनुभूति गर्यो । उसले मलाई सोधिरहेको थियो – ‘भौतिक उपस्थिति हुँदा क्लासमा ध्यानपुर्वक सिकिरहेकोे विद्यार्थी के उसको रहरले सिकाइबाट टाढिएको हो र ?’
मैले पहिलेदेखि सुनेको थिएँ र पढेको पनि थिएँ – ‘डिजीटल डिभाइसले हाम्रो जस्तो मुलुकमा डिभाइडरको काम गर्दछ ।’ यो कुरा आज आफ्नै आँखाले देख्नु परयो । दुःख लागेको छ । विचरा, यो मुलुकका धेरै विद्यार्थीहरु अहिले विद्यालयमा आएर सिक्ने अवसरबाट बञ्चित भएका छन् । उनीहरुले पनि सिक्न त गाउँतिर पनि केही न केही सिकिरहेका होलान् । तथापि उनीहरुले सिकेको कुरालाई सर्टिफिकेटमा दर्ता गरिदैन । उनीहरुको त्यो सिकाइले कलेज र विद्यालयका गेटबाट भित्र प्रवेश गर्न पाइदैन । डिजीटल डिभाइसबाट कक्षामा सहभागी भइरहेका विद्यार्थीहरुको हरेक दिन कक्षा चलिरहेको छ । सिकाइ एकदिन पनि छुटेको छैन । नेपालमै पनि कतिपय विद्यालय र कलेजहरु यस्ता छन् जसले भौतिक उपस्थितिमा भन्दा पनि डिजीटल डिभाइसको माध्यमबाट नियमित रुपमा कक्षाहरु सञ्चालन गर्न सफल भइरहेका छन् । यस्तो अवस्थामा के हुने होला डिजीटल डिभाइस प्रयोग गर्ने र उक्त डिभाइसको पहुँचमा नभएर घरमा बसिरहेको विद्यार्थीहरुको सिकाइको उपलब्धिको अवस्था ? सिकाइको स्तरमा समानता होला कि असमानता ? यसले अन्ततः समाजमा न्यायको विजारोपण गर्ला कि अन्यायको ?
डिजिटल डिभाइसमा पहुँच भएको विद्यार्थीले अनलाइन मार्फत क्लासमा सहभागी भइरहेको बेला साँच्ची उक्त डिभाइस नभएका विद्यार्थीहरुले त्यत्तिबेला के गर्दै होलान ? कहिले सोच्ने गर्यौं हामीले ? सामान्य अनुमान गर्न सकिन्छ कि डिजिटल डिभाइसको पहुँचमा नहुने विद्यार्थीहरुको घरको अवस्था प्रतिकूल छ अर्थात उनीहरु आर्थिक हिसावले विपन्न छन् । यस्तो अवस्थामा उनीहरु कतै मजदूरीमा पनि हुन सक्छन् । कतै भैसीगोठ र भेडीगोठतिर पनि हुन सक्छन् । कतै उनीहरु दाउरा र घासपातका लागि जङ्गलतिर पनि हुन सक्छन् । अथवा कुनै दुर्व्यसनतिर फसेर त्यस्तै किसिमका साथीहरुसँग पनि हुन सक्छन् । कसैले गाडी र अटोमा ड्राइभिङ गरिरहेका पनि हुन सक्छन् त कोही सहचालक (खलासी) को भूमिकामा पनि हुन सक्छन् । कसैले पढाइको चटारोतिर नलागेर विहेबारी गर्ने योजनातिर पनि हुन सक्छन् । यसरी जीवन धकेल्ने क्रममा जीवनको मोड नै बदलिन्छ । मन नपर्ने काम पनि गर्दै गयो भने मन पर्न थाल्छ । गार्हो काम पनि गर्दै गयो भने सजिलो लाग्दै जान्छ । एवम् रितले सोचेको जीवन र भोगेको जीवन फरक हुन थाल्छ । कतिपयले त नसाको धूनमा आफ्नै जीन्दगीलाई नियालेर ‘के सोचे मैले, के भयो अहिले’ गीत गुनगुनाउन थाल्छन् ।
सरकार र शिक्षकहरु बालबालिकाप्रति अलिकति पनि जिम्मेवार नभइ निर्मम भएको देख्दा केही त लेख्नै पर्छ भन्ने लागेको छ । सडक, सहर, व्यापार, यातायात सबतिर लकडाउन हटिसक्यो । लकडाउन हटेको मात्र होइन, ठेलमठेल भीडभाड बढि सक्यो । तथापि विद्यालयहरु आजका मितिसम्म बन्द छन् । मानौं कि सरकारलाई लागिरहेको छ, त्यहाँ बिना सुद्धिबुद्धिका मुर्ख मानिसहरुको भेला हुन्छ र तिनीहरुबाट कोविड भयावह किसिमले फैलिन सक्छ । सरकारलाई त्यस्तो लागे पनि मलाई भने विद्यालय नै एउटा मात्र यस्तो थलो हो जहाँबाट कोरोना विरुद्धका सुरक्षाका उपायहरुको बस्तीबस्तीमा सम्प्रेषण गर्न सकिन्छ भन्ने लागिरहेको छ । विद्यालयहरुले विद्यार्थीहरुको भौतिक उपस्थितिमा सुरक्षाका मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा लिन्छौ भन्दा पनि स्थानीय सरकारले सहज रुपमा अनुमति दिने स्थिति छैन । शिक्षण पेशालाई सहायक पेशा अर्थात मुन लाइटिङ पेशा र अन्य पेशालाई मुख्य पेशाको रुपमा लिइरहेका कतिपय शिक्षकहरुको चाहना भने यो अवस्था लम्बिरहोस् भन्ने रहेको छ । नेपालको शिक्षामा सबैभन्दा दुखद पक्ष यही हो जस्तो लाग्छ ।
आफ्ना विद्यार्थीहरु बर्बाद हुदै गरेको टुलुटुलु देखेर मन भक्कानिएका कतिपय विद्यालयका शिक्षकहरुले सानो–सानो समूहमा विद्यार्थीहरुलाई केही समयका लागि विद्यालयमा बोलाएर केही विषयहरुको शिक्षण सिकाइ गरिरहेका पनि छन् र विद्यार्थीहरुलाई गृहकार्य र परियोजना कार्य दिने र गरेर ल्याएका गृहकार्य र परियोजना कार्यहरुको अवलोकन गरी पृष्ठपोषण पनि प्रदान गरिरहेका छन् । उनीहरुको कामना छ कि आफ्ना विद्यार्थीहरु डिजीटल डिभाइसमा पहुँच नभएको कारण शिक्षामा पछि नपरुन् । तथापि त्यस्ता शिक्षकहरु आफ्नै सहकर्मीहरुबाट समेत टिकाटिप्पणीको विषय बनाइएका छन् । ‘के के न तक्मा र पुरष्कार पाउला जस्तो’ भन्दै आलोचनाको पात्र बनाइएका छन् । विश्वका कतिपय मुलुकहरु यस्ता छन् जहाँ कोविडका कारण अरु क्षेत्रहरु लकडाउन भएपनि शैक्षिक क्षेत्र सञ्चालन भइरह्यो । तर नेपाल यस्तो मुलुक हो, जहाँ अरु क्षेत्र खुलेर ठेलमठेल भीडभाड भइसक्दा पनि शिक्षण संस्थाहरु भने खुल्ने कुरामा बेखवर छन् । विद्यार्थीहरुप्रति सहानुभूति राख्दै केही समय विद्यालय खोल्ने गरेका शिक्षकहरुसमेत भयभित छन्, कानुन मिचेको अभियोगमा कसले कतिबेला के गर्ने हो भनेर ।
यतिबेला विश्व दिगो विकासका लक्ष्यहरु तय गरेर अघि बढिरहेको छ । दिगो विकासका अन्य लक्ष्यहरुका अतिरिक्त समतामुलक किसिमबाट सवैलाई गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने लक्ष्य पनि रहेको छ । यसका लागि अव हरेक मुलुकहरुले शिक्षामा पहुँचको विस्तार मात्र होइन बालबालिकालाई गुणस्तरीय शिक्षा समेत प्रदान गर्ने कुरा उल्लेख छ । विपन्नता र अन्य कारणले गुणस्तरीय शिक्षाको पहुँचमा नभएका विद्यार्थीहरुलाई समेत गुणस्तरीय शिक्षाको मूलधारमा प्रवाहिकरण गर्नुपर्ने देखिन्छ । हामी कहाँ भने शिक्षाको खोलो उल्टो बगिरहेको छ । शिक्षाको पहुँचमा भएकाहरु अब क्रमशः गुणस्तरीय शिक्षाको नदीमा मिसिनु पर्नेमा उल्टै पहुँचको खोला समेत सुकेर छटपटाउने स्थिति भएको छ । पहिलेदेखि शिक्षाको पहुँचमा पुग्न नसकेका विपन्नहरुले त गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु भनेको आकाशको फलको आश गर्नु भन्दा पनि टाढाको कुरा भएको छ । विश्वका कतिपय मुलुकहरुले कोविड भए पनि र नभए पनि अनलाइन शिक्षालाई शिक्षण सिकाइको एउटा अभिन्न माध्यमको रुपमा स्वीकार गरी त्यस अनुरुपको संरचना र संयन्त्रको विकास गरिरहेको अवस्थामा हाम्रा सरकारहरुले भने शिक्षामा दुई तीन प्रतिसत बजेट बिनियोजन गरेर पनि के के गरियो भनेको देख्दा साँच्चिकै उदेग लागेर आउछ ।
छिमेकीको घरमा फूलको बगैचा छ भने त्यसको सुगन्धकोे निःशुल्क सेवन हामीले पनि गरिरहेका हुन्छौं र यदि छिमेकीको घरमा फोहरको डङ्गूर छ भने त्यसको दुर्गन्धको पनि निःशुल्क सेवन हामीले गरिरहेकै हुन्छौं । बालबालिकाको अवस्था पनि त्यस्तै हो । छरछिमेकमा अरुका बालबालिकाहरु पनि असल छन् भने हाम्रो घरका बालबालिकामा समेत त्यसको सकारात्मक प्रभाव नजाँनिदो तरिकाले परिरहेको हुन्छ । यदि छरछिमेकमा अरुका बालबालिकाहरुले बाटो बिराएको अवस्था छ भने हाम्रो घरका बालबालिकामा समेत त्यसको नकारात्मक प्रभाव पर्ने देखिन्छ । त्यसकारण पनि परिवार, समाज र राष्ट्रलाई असल बनाउने हो भने एउटा–दुईटा वा हाम्रो परिवारका बालबालिका मात्र होइन कि सबै घरपरिवार, समाज र राष्ट्रका बालबालिकाहरु असल बनाउने अभियानमा हामी सबै लाग्नु पर्ने हुन्छ र यसको नेतृत्व सरकारले गर्नुपर्दछ । अन्यथा गुणस्तरीय शिक्षाको पहुँचबाट टाढिएका विद्यार्थीहरु नै भोलि गएर नेताहरुको गाडीमा ढुङ्गामुढा गर्ने, लागू औषधको ओसारपसार र दूर्व्यसनमा सङ्लग्न हुने एवम् चोरी, डकैति, हत्याहिंसा र बलात्कारका प्रपञ्चमा सामेल हुने पक्कापक्की छ । हुनेखाने र हुँदा खानेहरुको बर्गीय विभेद पनि स्वभावैले आकासिन्छ नै । त्यत्तिबेला शिक्षालाई महत्व नदिएर दुनियाका छोराछोरीको भविष्य वरबाद गर्नेहरुका छोराछोरीहरु समेत त्यो भीडबाट उम्किन सक्ने स्थिति हुदैन । सबैलाई चेतना भया ।
मिति २०७८ साल साउन ७ गते बिहीबार
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button