१० असार २०७९, शुक्रबार

जनप्रतिनिधिलाई सात मन्त्र !

यसो गरे कसो होला जनप्रतिनिधि ज्यू ?

मिडियामा आएको छ, बर्दियाको राजापुर नगरपालिकाको मेयरबाट शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलको कार्यसमितिमा नबस्न र बसेकाहरुले सातदिनभित्र उक्त कार्यसमितिबाट राजीनामा दिएको जानकारी नगरपालिकामा पठाउन निर्देशन जारी भएको छ । धरानको मेयरले जनताको दुःखसुखलाई नजीकबाट हेर्न सजिलो र सहज हुन्छ भनेर आफूले यातायातको साधनको रुपमा आफ्नै पुरानो बाइक चढ्ने घोषणा गर्नु भएको छ । काठमाण्डौंको मेयरले विजयजुलुशको आयोजना गरेर खर्च नगर्नका लागि समर्थकहरुलाई अनुरोध गर्नु भएको छ र उहाँले विजयोत्सव त्यत्तिबेला मनाउनु पर्छ जतिबेला हामीले घोषणा गरेका कार्यक्रमहरु लागू गर्न सफल हुनेछौं भन्नु भएको छ । पदबहाली गर्ने क्रममा जनप्रतिनिधिहरुले यस्ता थुप्रै घोषणाहरु गर्नु भएको छ जसले गर्दा मतदाता लगायत आम नागरिकहरुमा अब केही हुन्छ कि भन्ने आशा पलाएको छ । यो पङ्क्तिकारले यो लेख मार्फत त्यस्ता केही मसिना कामहरुको बारेमा प्रस्तुत गर्न खोजिरहेको छ जसलाई अबलम्बन गर्न सकेमा यहाँहरुको पाँच वर्षे कार्यकाललाई स्वर्णिम र सफल बनाउन योगदान पुग्ने देखिन्छ ।
मलाई कसैले तिमीलाई के को अभाव छ भनेर सोध्यो भने मसँग स्पष्ट जवाफ छ – समयको । म मात्र होइन आज धेरैलाई समयको अभाव हुन थालेको महसुस भइरहेको छ । यस्तो अवस्थामा आफ्नो कारणले कही कसैको समय बरबाद हुदैछ कि भन्ने कुरामा जनप्रनिनिधिहरु सचेत हुन जरुरी छ । कतिपय कार्यक्रमहरुमा अतिथि र प्रमुख अतिथिको रुपमा जनप्रतिनिधिलाई आमन्त्रण गरिएकोमा जनप्रतिनिधि समयमा कार्यक्रममा नआउनुको कारणले धेरैको समय बरबाद भइरहेको हुन्छ । पर्खनुको पीडाका कारण समर्थकहरु समेत प्रतिपक्षमा उभिने स्थितिमा पुगिसकेका हुन्छन् । यस्तो अवस्थामा तोकिएको समयमा कार्यक्रममा उपस्थित हुने बानी गर्नुपर्छ । यो कुराको जानकारी सबैलाई गराउनु पनि पर्छ कार्यक्रम ठीकसमय सञ्चालन हुन्छ र ठीक समयमा सम्पन्न हुन्छ भनेर । यत्ति गर्दा पनि आयोजक पक्षबाट ढिला हुन्छ भने त्यस्ता कार्यक्रमहरुबाट सरी भन्दै बाहिरिनु जाति हुन्छ । किनभने त्यहाँ ढिला गर्नु भयो भने त्यहाँको ढिलाइले अर्को कार्यक्रममा पनि ढिलाई हुन्छ । यसका निम्ति नगरपालिकाले बजेट बिनियोजनका लागि प्रतिबद्धता देखाउनु पर्दैन । प्रतिबद्धता देखाउनु पर्दछ त केवल तपाईको आनीबानीमा सुधारको । अनि समयको महत्व बुझ्ने क्षमता र स्वभावको ।
विकसित देशहरु त्यसै विकसित भएका होइनन् । अन्तर्राष्ट्रिय कोच नरबहादुर कार्कीको नाम लिएर मैले धेरै पटक लेखेको पनि छु, जापानको सिन्केन भन्ने ट्रेन कम्पनीका ट्रेनहरु तोकिएको समयभन्दा एक सेकेण्ड पनि ढिला गर्दैनन् । त्यहाँका मानिसहरु आफूसँग भएको घडीलाई भन्दा ट्रेन कम्पनिको समय कार्यतालिकालाई विश्वास गर्दछन् । यत्तिसम्म कि यदि कुनै ट्रेनले चार सेकेण्ड मात्र ढिला ग¥यो भने चारसय भन्दा बढी ट्रेनहरु ठोक्किएर दुर्घटना हुने गर्दछन् । त्यसैले तपाईको पालिकालाई समयको आधारमा चल्ने बनाउनु पर्छ । त्यसको सुरुआत तपाई आफैबाट गर्नुपर्छ । जो व्यक्ति समय अनुसार चल्छ, त्यो मानिससँग योजना हुन्छ, भिजन हुन्छ, लक्ष्य हुन्छ र उद्देश्य हुन्छ । यसरी अघि बढ्ने मानिस स्वभावैले सफल हुन्छ । जसरी अघिल्लो दिनको बेलुका भोलि के गर्ने भनेर योजना बनाएर बेडमा गएको व्यक्ति र भोलि के गर्ने भन्ने कुराको कुनै टुङ्गो नभएको व्यक्तिको भोलिको दिनमा जसरी भारि फरक पर्छ त्यसरी नै समयको महत्व बुझ्ने र नबुझ्ने जनप्रतिनिधिहरुको कार्यकाल पनि त्यसरी नै उपलब्धि र सफलताको हिसावले भारि फरक पर्नेछ ।
दोस्रो महत्वपूर्ण कुरा भनेको, सकेसम्म कम बोल्नुपर्छ्, विस्तारै बोल्नुपर्छ र मीठो बोल्नुपर्छ । जनप्रतिनिधिहरुले अहिलेसम्म मञ्च पाएपछि अनावश्यक रुपमा भएनभएका कुराहरु गरेर अरुभन्दा लामो भाषण गर्ने र अनि ‘अन्तमा मेरो दुई शब्द यही शेष गर्छु’ भन्ने कथन पूर्णरुपले बन्द गर्नुपर्छ । स्वभावैले मानिसका दुईटा कान र एउटा मुख हुन्छ । यसको गणितीय विश्लेषण भनेको थोरै बोल र धेरै सुन भन्ने हो । त्यसकारण जनप्रतिनिधिहरुले पनि यो कुराको अक्षरशः पालना गर्नुपर्छ । तपाईहरुलाई त्यो ठाउमा जनताले गफ गर्नका लागि होइन कि काम गर्नका लागि पठाएका हुन् भन्ने कुरा कहिल्यै पनि विर्सिनु हुदैन । कुरा त्यत्तिबेला गर्नुपर्दछ जतिबेला मानिसहरु भ्रममा छन् र उक्त भ्रमलाई चिर्नु आवश्यक छ । मानिसहरुलाई चेतना छैन र तपाईले उनीहरुलाई चेतना दिनु आवश्यक छ । यसका लागि व्यक्तिसँग भन्दा पनि मिडियासँग एकैपटक धेरैले सुन्ने गरी स्थानीय टेलिभिजन र एफएमहरुसँग ‘जनतासँग जनप्रतिनिधि’ जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । पालिकाको हिसावले महत्व बोकेका कार्यक्रमहरु बाहेक अरु कार्यक्रमहरुको उद्घाटन गर्ने, मन्तव्य दिने र त्यसैका कारणले नगरपालिकामा कतिपय कामहरु अल्झिएर नागरिकले दुःख पाउने काम बन्द गर्नुपर्छ भन्ने लाग्छ मलाई ।
तेस्रो सन्दर्भमा कुरा गर्दा नेतृत्वको सम्बन्धमा स्वामी विवेकानन्दको भनाई छ – ‘नेतृत्वमा हुँदा परिवेशले मागेपछि सामान्य नोकरले गर्ने काम गर्नका लागि समेत तयार हुनुहोस्, निस्वार्थी हुनुहोस् र असिमित धैर्यताले सम्पन्न हुनुहोस् । यत्तिभए सफलता तपाईको पोल्टामा पर्नेछ ।’ विवेकानन्दले भनेको यी तीन कुरा जनप्रतिनिधिहरुमा पनि हुनु आवश्यक छ यदि सफल हुने धोको छ भने । यसका लागि जनप्रतिनिधिले आफूलाई अध्ययन र सूचनाको हिसावले अद्यावधिक गर्नु आवश्यक छ । सिपको हिसावले पनि जानकारी राख्नु आवश्यक छ । हरेक काममा सामाजिक स्वार्थलाई उच्च प्राथमिकता दिनु आवश्यक छ न कि आफू र आफ्नो राजनीतिक दललाई । अहिले जति पनि नेताहरु नागरिकको नजरमा तल झरेका छन् त्यो सबै हुनुको एउटै कारण हो नागरिकलाई भन्दा आफू र आफ्नालाई प्राथमिकता दिनु । यो दलदलबाट मुक्त हुन सकियो भने जनप्रतिनिधिहरुले गरेका धेरै काम त्यसै पनि राम्रा र प्रभावकारी हुन्छन् । हाम्रो जस्तो मुलुकमा कतिपय राम्रा कामहरुको बारेमा नागरिकले बुझ्न समय लाग्छ । यसका लागि आत्तिनु हुदैन र पर्खिनु पर्दछ । यो स्वभावको विकास गर्नका लागि तपाईसँग असिमित धैर्यता हुनु आवश्यक छ ।
चौथो भनेको, तपाई पहिले कुनै राजनीतिक दलबाट चुनाव लडेर निर्वाचित भए पनि अब तपाई राजनीतिक दलको मात्र नभएर सबैको साझा नेता हो । साझा नेता हुनका लागि तपाई निष्पक्ष र बस्तुनिष्ठ हुनु आवश्यक छ । यसका लागि राजनीतिक दलको परिधिभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । यस्तो हुन सकेमा मात्र तपाईले गर्ने कर्म र पालिकाले प्रदान गर्ने सेवा र सुविधाहरु न्यायपूर्ण र पारदर्शि हुन सम्भव छ । तपाई अहिले पनि विरोधी र पक्षधर भनेर कित्ताकाट गर्न थाल्नु भयो भने यो अवधि मुश्किलले धकेल्नु त होला । अर्को चुनावमा भने तपाईले आश गर्नु व्यर्थैै हुनेछ । किनभने तपाईको अहिलेको विजय भनेको तपाईको राजनीतिक दलको कारणले भन्दा पनि अरुप्रति आस्था राख्ने नागरिकले समेत तपाईलाई विश्वास गरेर केही भरोसा र केही परीक्षण गरुँ भनेर दिएको मतको परिणाम हो । तपाईलाई जिताउने नागरिकहरुले त आफ्नो आस्थाको परिधि नाघेर तपाईलाई विजयको माला पहिराए भने तपाईले पुनः राजनीतिक वृत्तको हिसाव गरेर त्यो अनुसारको चरित्र देखाउनु भयो भने त तपाईलाई नागरिकले फेरि फेरि विश्वास गर्ने कुरै भएन । किनभने नागरिकबाट उठेको करबाट सुविधा लिएर राजनीतिक दलको भलो गर्ने छुट त कसैलाई पनि हुनुहुदैन ।
पाँचौं भनेको, अहिलेसम्म आफ्ना आसेपासे र धुपौरेहरुको सल्लाहअनुसार चल्ने गरेका कारणले नेपालका नेता र जनप्रतिनिधिहरु सफल हुन नसकेको अवस्था छ । जनप्रतिनिधिलाई यसरी सल्लाह दिने व्यक्ति वा व्यक्तिको समूह त चाहिन्छ नै । तर यस्तो समूहमा यस्ता विज्ञ व्यक्तिहरु राख्नुहोस् जो नैतिकता, चरित्र, बौद्धिकता र उर्जाका हिसावले अब्बल होऊन् । व्यवस्थापनको भाषामा यसलाई क्वालिटी सर्कल भनिन्छ । यो समूहमा त्यस्ता विज्ञहरु पनि राख्नुहोस् जसमा तपाईको भन्दा फरक विचार र फरक आस्था पनि समेटिन सकून् । तपाईले जितेको निर्वाचनमा तपाईको विरुद्धमा लागेको किन नहोस् । यो क्वालिटी सर्कल यस्तो होस् जहाँ फरक फरक आस्था र विचारका विज्ञहरुलाई समेटेर उनीहरुले आफ्ना विचार र सुझावहरु मार्फत तपाईको कार्यकाललाई सफल बनाउने सवालमा विपक्षविहीन वातावरणको सिर्जना हुने गरी योगदान गर्न सकून । यसका विपरित स्वार्थैस्वार्थले भरिएका आफन्त र आसेपासेहरुको अनुसार चल्न थाल्नु भयो भने उनीहरु त बन्लान तर तपाई भने असफलताको खाल्डोमा जाकिनुको अर्को विकल्प देखिदैन ।
छैठौं भनेको, तपाईको काम विधि र नीति बनाउने हुनु पर्दछ । कार्यान्वयन गर्ने सवालमा कर्मचारी संयन्त्रलाई सक्रिय बनाउनु पर्दछ । बिधि बनाउदा बढी मन्थन गर्नुपर्दछ तपाइले । यो सवालमा सकेसम्म नागरिक समाजको रायसल्लाह पनि लिनु पर्दछ । हाम्रो पद्धति भने ठीक उल्टो छ । कर्मचारी तन्त्रले विधि बनाउछन् । त्यसको कार्यान्वयन जनप्रतिनिधि वा नेताले गर्दछन् । यसमा जनप्रतिनिधि वा नेताहरुको नालायकी हो भन्छु म त । त्यसैले अब आवाज पनि उठ्न थालेको छ, नेता वा जनप्रतिनिधि ल्याप्चेवाला नभएर पढेलेखेको हुनुपर्दछ । यसकारण कि उसको पहलमा विधि र नीति बनोस् । उसको पहलमा ऐन, कानून र नियमहरु निर्माण होउन् । यहाँ त विधि होइन कि व्यक्तितिर लागेर यो वा त्यो शिक्षक र कर्मचारीको सरुवा र नियुक्तिको पछि नेता र जनप्रतिनिधि मरिमेटेर लाग्न थालेपछि मुलुकको विकासले गति लिन नसकेको हो । किनभने जनप्रतिनिधिको यो पाराले राम्रा मान्छेहरु खुम्चिने र चाकरीको भरमा जागीर खाने गरेका खराव व्यक्तिहरुले अवसर पाउने अवस्थाको सिर्जना हुन्छ । यसरी राम्रा व्यक्तिले काम गर्ने अवसर नपाएर पलायन हुनुपर्ने र नराम्रा व्यक्तिहरु चलायमान हुन थालेपछि नतीजा गतिलो हुने त कुरै भएन ।
सातौं भनेको, हाम्रा देशका सबै पालिका र शहरहरु शिक्षा र चेतनाको हिसावले अब्बल छैनन् । त्यसकारण कुन नेता ठीक र कुन नेता बेठिक भन्ने कुरा कतिपय पालिकाका नागरिकहरुलाई छुट्याउन गाह्रो हुने गर्दछ । यस्तै पालिकाहरुमा चुनावमा जित्नका लागि कतिपयले पैसा समेत खर्च गरेको अवस्था छ । किनभने मतदाताले राम्रो नराम्रो छुट्याउन नसकेपछि जसले पैसा दियो उसैलाई मत दिएको अवस्था पनि छ । हाम्रा मुलुकका काठमाडौं, धरान र धनगढी लगायतका पालिकाहरुमा पैसा भन्दा पनि पर्सनालिटी हेरेको अवस्था छ । ढिलोचाडो शिक्षा र चेतनाको लहर मुलुकभरिका पालिकाहरुमा विस्तार हुनेछ । त्यसैले अहिलेका जनप्रतिनिधिहरुका निम्ति दुईटा रोजाइ छ – पहिलो रोजाइ भनेको काम राम्रो गर्ने, नागरिकलाई शिक्षा र चेतनाका हिसावले अब्बल बनाउने र फेरि पनि चुनाव जित्ने । दोस्रो रोजाइ भनेको जनतालाई लोटा लिएर बिहान बिहान सार्वजनिक स्थलतिर सौच गर्न जाने मानसिकताबाट माथि उठ्न नदिने, विकासको नाममा यही मौकामा आफूले टन्न कमाउने र त्यही पैसा खर्च गरेर आगामी चुनाव जित्ने । जीवनको उत्तरार्धतिर सुख र शान्तिको श्वास फेर्नका लागि समेत अहिलेका जनप्रतिनिधिलाई पहिलो रोजाइले योगदान गर्नेछ न कि दोस्रो । यसो गरे कसो होला जनप्रतिनिधि ज्यू ?
मिति २०७९ साल जेठ १२ गते बिहीबार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button