११ जेष्ठ २०७९, बुधबार

सुकुलगुन्द्रे मतपत्र : मतदातालाई सास्ती

तथ्याङ्क विभागले जनगणना २०७८ को अन्तिम नतिजा भने सार्वजनिक गरेको छैन । नेपालको साक्षरता दर भने बढेको भनी विभिन्न स्रोतहरुमा उल्लेख गरिएको छ । यही बैशाख ३० गते नेपालमा दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको सन्निकटमा विभिन्न दल तथा अन्य उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसारको अभियानलाई घरदैलोको माध्यमबाट तीब्र बनाइरहेका छन् । उनीहरुले साथमा मतपत्रको नमूना बोकेर नै यसरी भोट हाल्नुहोला भनेर मतदाताहरुलाइ आ–आफ्ना प्रतिवद्धतापत्रका साथमा मन जित्ने प्रयास गरिरहेका छन् । यसपाली हाम्रो भन्दा पनि राम्रोलाई मतदान गर्नुभर्छ भन्ने चर्चा आम जनमानसमा छाएको अवस्था रहेको छ ।
यो अवस्थामा एकातिर राज्यको तर्फबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको पाइएको छैन भने सुकुलगुन्द्रे मतपत्रमा भएको तीन सय बढी चिह्नहरुबाट मतदाताहरु अल्मलमा पर्ने निश्चित रहेको छ । हुनत नेपालको साक्षरता दर ९२.५ प्रतिशत पुगेको दावी गरिएको छ । धेरै जिल्लाहरु साक्षर जिल्ला पनि घोषणा गरिएको छ । तर, साक्षरहरु पनि अल्मलिने खालको भब्बड मतपत्रका कारण यसपालीको निर्वाचनमा धेरै मतहरु बदर हुने सम्भावना देखिएको छ ।
यसका लागि निर्वाचन आयोगले दलहरुको उम्मेदवारी र अन्य उम्मेदवारहरुको टुङ्गो लागेपछि मात्र मतपत्र छाप्ने व्यवस्था गर्नुपर्ने थियो । उम्मेदवार नै नभएको चुनाव चिह्नले मतपत्रको आकारलाई मात्र बढाउने मात्र हैन कि यसले गर्दा राष्ट्रको व्यवभार पनि बढ्ने देखिएको छ । त्यसैले सुकुलगुन्द्रे मतपत्रलाई पिर्के (सानो) बनाउका लागि अब राज्यले दलीय व्यवस्थापकीय नीति बनाउनु आवश्यक छ । धेरै पार्टीहरु हुनु भन्दा सिमित पार्टीहरु रहने व्यवस्था पो गर्ने हो कि ! यसको केही विकल्प पो खोज्ने हो कि ! कताकति प्रश्नचिह्न पनि उठ्न थालिसकेको छ कि, कि त बहुदलीय व्यवस्था हटाउनु पर्यो कि त स्वतन्त्र उम्मेदवारी दिन नपाउने व्यवस्था हुनु पर्यो । कतिपय अवस्थामा आफुलाई चित्त नबुझ्दा, पदको लोलुपता र अस्वस्थ प्रतिस्पर्धा अनि भोट काटेर कसैलाई हराउने प्रयोजनकै लागि पनि उम्मेदवारी पर्न गएकाले एक लाख चार हजार बढीको मनोनयन परेको हो । कतिपयले त फिर्ता लिएका पनि छन् ।
अतः आगामी निर्वाचनमा दल, उम्मेदवारहरुको टुङ्गो लागेपछि मात्रै मतपत्रको छपाई गर्ने कार्य गर्दा व्ययभार घट्ने, मतदाताहरुका लागि मतदान कार्यमा सहज हुने र मत बदर हुने दरलाई न्यूनीकरण गर्न सकिने थियो कि ! नभए त यो सुकुल गुन्द्रे मतपत्रले त जेष्ठ र सामान्य साक्षर मतदाताहरुलाई त सकस नै हुने देखिन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button