१८ मंसिर २०७८, शनिबार

आखिर हामी कहाँनिर चुक्यौँ ? – नारायण गाउँले

भारतीय राजनेताहरू हेर्दा र सुन्दा एभरेज लाग्छन् । मोदीदेखि राहुल गान्धीसम्म सुन्दा लाग्छ, धार्मिक-जातीय-क्षेत्रीय र साम्प्रदायिक मुद्दामा राजनीति अल्झिएको छ । न भिजन छ न सामान्य ज्ञान !
तर, अचम्म लाग्दो के छ भने शिक्षा, भौतिक विकास, अनुसन्धान र प्रविधिमा भारतले निरन्तर प्रगति गरिरहेको छ ।
कोरोनाभाइरसले भारतीय अर्थतन्त्र र मोदी दुबैलाई डुबाउने भयो भन्ने धेरैको अनुमान थियो, तर आज भारत विश्वलाई भ्याक्सिन बेच्ने अवस्थामा पुग्यो । धनी राष्ट्रले कोभ्याक्स प्रोग्राम मार्फ़त गरिब देशलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने तैयारी गर्दै गर्दा भारतले भने उत्पादन गरी वरी अनुदान दिनसमेत भ्याइसक्यो । त्यो पनि दैलोसम्मैं पुऱ्याइदिएर ।
हामीले बेसार, फ्याटीय र बोसीय तत्त्व बारे विवेचना गर्दै भारतीय भाइरस चीनभन्दा कड़ा रहेछ भन्ने व्यङ्ग्य गर्दै गर्दा उसले भ्याक्सिनको तैयारी सुरु गरिसकेको रहेछ । हामी आज भ्याक्सिन सुरु गर्ने विश्वका थोरै देशमध्ये एक बन्न पायौं । उसको मानवीय दानलाई हाम्रो सरकारले उपलब्धि भनेर देखाउन पायो । झट्ट हेर्दा अनुदान व्यापारिक प्रयोजनका लागि हो कि भन्ने देखिन्छ । तर उसले लागत मूल्यकै वरपर ४ डलरमैं यो भ्याक्सिन नेपाललगायतका गरिब देशलाई बेचेको छ । विश्व दङ्ग छ ! उसो त हामी पनि दङ्ग छौं, हाम्रा नेताले विश्व नै दङ्ग पर्ने गरी विकास भएको भाषण गर्दा !
नेता एभरेज भए पनि देशको आधारभूत र लोकतान्त्रिक संस्थाहरूमा हस्तक्षेप नगर्ने एउटा लोभलाग्दो संस्कार त्यहाँ विकास भएको देखियो । शिक्षा, स्वास्थ्य, विज्ञानप्रविधि र विकासका क्षेत्रमा पुराना योजनाले सम्मान र निरन्तरता पाउने रहेछ । भएका उपलब्धि भत्काउने होइन कि त्यसैमा टेकेर अघि बढ्ने राजनैतिक नैतिकता त्यहाँ देखियो । सही मान्छेलाई सही ठाउँमा सही काम गर्न दिने हो भने विकास आफै हुने रहेछ । अन्य सयौं आरोप लागे पनि यति लामो कार्यकालमा मोदीमाथि भ्रष्टाचारको आरोप लागेको छैन । टाउकोमा सुशासन महत्त्वपूर्ण कुरो रहेछ । चरम हिन्दुवादी दलले सर्वोच्च नेता लालकृष्ण आड़वाड़ीको सट्टा एउटा दलित नेतालाई राष्ट्रपति बनाउनु या भाजपाको सरकारले कांग्रेसका नेता प्रणव मुखर्जीलाई सर्वोच्च पदक भारतरत्न प्रदान गर्नु हेर्दा सामान्य लागे पनि त्यसको अर्थ ठूलो हुने रहेछ ।
अरबौं खर्चेर मन्दिर बनाउनेले प्रविधिमा के विकास गर्ला र भन्ने लाग्छ । तर अचम्म भारतमा दुबै समानान्तर हुँदै छन् । देशमा मङ्गल ग्रहको पाठपूजा पनि चल्दै छ र भारतीय यान मङ्गलग्रह पनि पुग्दै छन् । वेद र पुराणको पढाइ पनि चलिरहेको छ र साथसाथै गुगलदेखि माइक्रोसफ्टसम्म हाँक्ने जनशक्ति पनि उत्पादन हुँदै छ । कोरोना महामारीको शान्तिका लागि हवन र यज्ञ पनि चल्दै छ र त्यसको भ्याक्सिन पनि बन्दै छ ।
यति पढ्ने जाँगर गर्नुभएको भए हामी कहाँ चुक्यौं भन्ने लेख्ने काम तपाईंको !
नारायण गाउँलेको फेसबुकबाट

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button