३ कार्तिक २०७८, बुधबार

नयाँ शैक्षिक सत्र, पुराना मान्छे र अस्तित्वको सङकट

- जीतबहादुर शाह

ज्ञानोदय माध्यमिक विद्यालय बाफल, काठमाण्डौंका प्रधानाध्यापक मेरा मित्र नातीकाजी महर्जनले फेसबुकमा पोष्ट गरेको उनको स्टाटस पढें । विद्यार्थीको भर्ना गर्ने चटारोले भ्याइनभ्याइ रहेछ हिजो आज उनलाई । विद्यालयका कक्षाकोठा, शिक्षक र साधनस्रोतले भ्याउन सक्नेजति विद्यार्थीहरुको भर्ना गरेर सिध्याए पनि भर्ना हुने विद्यार्थीहरुको लर्को अझै उस्तै छ रे । उनलाई पनि लाग्छ कि आउने विद्यार्थीहरु जति सबैलाई आफ्नै विद्यालयमा भर्ना गरेर उनीहरुको गुरु बन्न सकूँ । तथापि त्यो कुरा सम्भव नभएपछि आफूले भर्ना गर्न नसकेका विद्यार्थीहरुलाई नजिकैको अर्को विद्यालयमा भर्ना हुनका लागि परामर्श प्रदान गर्छन उनी । उनको विद्यालय ज्ञानोदयमा भर्ना नपाएपछि उनले परामर्श प्रदान गरेको विद्यालयमा जान्छन् विद्यार्थीहरु । त्यहाँ गएपछि फेरि त्यहीबाटै फोन गर्छन विद्यार्थीहरुले नातीकाजी सरलाई– ‘यहाँ त भर्ना नै खुलेको छैन । लकडाउन खुलेपछि मात्रै भर्ना खुल्छ रे ।’ साँच्ची हो नातिकाजी सर, तपाईको विद्यालयमा भर्नाको काम सकिएको भए तापनि यो मुलुकका धेरै सामुदायिक विद्यालयहरुमा भर्ना खुलेको छैन र त्यो भर्ना लकडाउन खुलेपछि मात्र खुल्छ । त्यही भएर त तपाईको विद्यालय मुलुककै एकाध राम्रा सामुदायिक विद्यालयहरु अन्तर्गत पर्दोरहेछ ।

यसपालीको शैक्षिक सत्र आषाढ १ गतेदेखि सुरु भएको छ । देशका प्रमुख सहरहरुमा पाठ्यपुस्तक पुरयाइसकेको दावी गरेको छ सरकारले । विद्यालयहरु भने खुलेका छैन । बरु धेरै विद्यालयहरुलाई गत शैक्षिक सत्रकै नतीजा प्रकाशन गर्ने चटारोले छोडेको छैन । कोरोनाको चटारो पनि उस्तै छ । धेरै सहरहरुमा लकडाउन अझै अर्को हप्तासम्म लम्बिएको छ । लकडाउन लम्बिए पनि भौतिक दूरी र सुरक्षाका मापदण्ड अपनाएर बिहान बेलुकाको समयमा कतिपय विद्यालयहरुले विद्यार्थी भर्ना गर्ने र पाठपुस्तक वितरण गर्ने अभियानमा जुटिसकेका छन् । कतिपय विद्यालय र त्यहाँका शिक्षकहरु भने लकडाउन खुल्ने दिन पर्खेर बसेका छन् । त्यो भन्दा अघि उनीहरु अलिकति पनि चल्नेवाला छैनन् । त्यतिमात्र होइन कतिपय शिक्षकहरुले त लकडाउन अझै लम्बिनु पर्छ भनेर आफ्नो मनको भगवानलाई लड्डु चढाइरहेका पनि होलान् जस्तो लाग्छ । किन भने बानी भनेको जस्तो काम ग¥यो, त्यस्तै हुँदोरहेछ । घरमै बसीबसी सरकारको नूनपानी हात पर्ने भएपछि कतिपय शिक्षक र कर्मचारीलाई लकडाउन खुलेपछि पनि काममा फर्किन हम्मेहम्मे पर्ने स्थिति देखिएको छ ।
मानिस समय अनुसार चल्न सक्नुपर्छ । समय भनेको पनि शिक्षक हो । यत्ति हो कि यो शिक्षक हामीलाई विद्यालय र कलेजमा शिक्षा दिने शिक्षकभन्दा अलि फरक शिक्षक हो । विद्यालय र कलेजको शिक्षकले पहिले सिकाउछ अनि परीक्षा लिन्छ । समयरुपी शिक्षकले पहिले परीक्षा लिन्छ अनि पछि सिकाउछ । हामीले गरेको हेलचेक्र्याइबाट हामीले पाउने सास्ती पनि एउटा गतिलै शिक्षक हो । यसकारण कि उक्त सास्तीबाट हामीले धेरै कुरा सिक्ने गर्दछौं । कोरोना पनि हाम्रा लागि एउटा गतिलै शिक्षक भएर आएको छ । यसकारण कि हाम्रो जीवनशैली र दिनचर्यालाई हामीले बरबाद बनाएका थियौं । हामीले हाम्रो घर पृथ्वीमाथि निकै अन्याय गरेका थियौं । त्यसकारण पनि समयले कोरोनालाई शिक्षक बनाएर पठायो, विद्यालयमा विद्यार्थीहरुलाई सिकाउने शिक्षक नभएपछि सरकार वा विद्यालय सञ्चालकले शिक्षक पठाएजस्तै । हामी र हाम्रा विद्यालय र कलेजका शिक्षकहरु अझै पनि आफ्नो दिनचर्या र जिम्मेवारीप्रति गम्भीर र अद्यावधिक हुन सकेनौं भने समयले यस्ता शिक्षकहरु पठाउने काम जारी राख्नेछ ।

समयले नियुक्त गर्ने शिक्षक वा सरकारले नियुक्त गर्ने शिक्षकले दिने शिक्षा भनेको सिकारुलाई समय अनुसार चल्न सिकाउनु हो । समय अनुसार बाँच्न सिकाउनु हो । समय अनुसार चल्न र तदनुरुप आफूलाई बदल्न प्रेरित गर्ने शिक्षकहरुले भविष्यको सही आँकलन गरेर आफ्ना विद्यार्थीहरुलाई गन्तव्यतर्फ हिड्नका लागि बाटो देखाउने गर्दछन् । हामी कहाँ भने परिस्थिति अलि फरक छ । बाटो वा गन्तव्यमा हिड्न सिकाउने शिक्षकहरुले नै बाटो हिड्न अलमल गरेको अवस्था छ । यो अलमल कतै अल्पज्ञानी भएको कारणले पनि देखिएको छ भने कतै शिक्षकमा हुनु पर्ने उर्जा नभएको कारणले पनि देखिएको छ । त्यसैले पनि शिक्षक अरुभन्दा फरक पेसा रहेछ । यो पेसाले अरु पेसामा भन्दा अलि बढी उत्साह र उर्जा खोज्दो रहेछ । यो पेसाले अलि बढी समयअनुसार चल्न सक्ने सामथ्र्य र दक्षता पनि खोज्दो रहेछ । अन्यथा शिक्षक शिक्षक जस्तो नभई त्यो शिक्षक समयअनुसार चल्न नसकेको नोकियाको मोवाइल सेट जस्तो हुदोरहेछ, त्यो शिक्षक फलाम वा ल्पाष्टिकका अक्षरहरु मिलाएर प्रिन्ट गर्ने छापाखाना जस्तै हुँदोरहेछ ।

अहिले शिक्षा क्षेत्रमा यस्तै यस्तै असजिला लक्षणहरु देखा परिरहेका छन् । विद्यार्थीहरु कोरोनाले ल्याएको असहज अवस्थामा पनि सिक्न र अध्ययन गर्न चाहन्छन् । तथापि शिक्षकहरु यो मामलामा आफूलाई अद्यावधिक हुन नसकेको देखाइरहेका छन् । म त भन्छु, विद्यानाथ गुरुको भावना जस्तै साँच्चिकै शिक्षकले चाहेमा गर्न सक्छन् । अरु केही नसके पनि विद्यार्थीहरुसँग टेलिफोन र मोबाइलमै भएपनि गफ गर्न सक्छन् । यसका लागि विद्यालय र शिक्षकले विद्यार्थी र उनका अभिभावकहरुका मोवाइल र फोन नम्बर अपडेट गरेर राख्नु जरुरी छ । अभिभावकसँग बालबालिकाको शिक्षा र उनीहरुले घरमा गरेका क्रियाकलापहरुको बारेमा छलफल गरी जानकारी लिन सकिन्छ । जानकारी पश्चात अव यसो गर्दा कसो होला भनेर बालबालिका र अभिभावकसँग सिकाइका थप कुरा अघि बढाउन सकिन्छ । यो भन्दा पहिले लकडाउन खुकुलो भएको बिहान र बेलुकाको समयमा पालिकाहरुसँग समन्वय गरी सुरक्षाका मापदण्ड अपनाउदै विद्यार्थीहरुको भर्ना सँगै पाठ्यपुस्तकहरु वितरण गर्ने काममा तदारुकता देखाउनु पर्दछ । अन्यथा यहाँहरुका विद्यार्थीहरु अर्कै विद्यालय र अर्कै गुरु खोज्न जाने अवस्था प्रवल देखिन्छ ।

हाम्रो बानी जे मा पनि एक्स्ट्रीम हुन खोज्ने रहेछ । गरीव पनि धनी हुनु प¥यो भने एक्स्ट्रीम धनी हुनुपर्ने हाम्रा नेताहरु जस्तै । मन परेका खानाको परिकार पाइयो भने त्यो पनि टन्नै खानु पर्ने एक्स्ट्रीम । बिजुलीपानी वालाहरुले पनि पिउनु प¥यो भने सडक र नालीमा ढल्नेगरी पिउनु पर्ने, एक्स्ट्रीम । यो एक्स्ट्रीम भनेको अति रहेछ । अतिले खति गर्दोरहेछ । हाम्रा विद्यालयहरु पनि पूरापूर एक्स्ट्रीम । कि त पूरापूर खुल्नु पर्ने भीडभाडका साथ । कि त भने भोटेताल्चा लगाएर पूरापूर बन्द । कोरोनाको पहिलो लहरको बेला भएको त्यस्तै थियो । आधा वर्ष जति पूरापूर बन्द । त्यसपछि भने भीडभाडका साथ खुल्ला । जीवनमा होसियारी, सावधानी, संयमता, धैर्यता र विवेकशीलता जस्ता कुराहरुको प्रयोग गरिएन भने लक्षणहरु यस्तै देखिन्छन् । मेरो आशय, एक्स्ट्रीम भन्दा बीचको उपाय पनि हुन्छ । लकडाउनको अवधिलाई नयाँ नयाँ शिक्षण विधिहरुको सिर्जना र प्रयोग गर्ने अवधिको रुपमा पनि लिन सकिन्छ । तथापि त्यो हुन सकिरहेको छैन ।

हामी र हाम्रा अभिभावक अनि हाम्रा बालबालिकाहरु सबैसँग कम्प्यूटर, स्मार्ट फोन, वाइफाइ, इन्टरनेट आदि छैन । भएपनि प्रयोग गर्ने सीप छैन । यस्तो अवस्थामा विद्यालयले विद्यार्थीहरुलाई मास्क, स्यानीटाइजर, भौतिक दूरी, सावुनपानी आदिको उचित व्यवस्था गरी आलोपालो सिष्टमबाट बोलाएर उनीहरुले विद्यालयमा नआएर घरमै बसी गर्ने क्रियाकलापहरुको बारेमा सहजीकरण गर्न सकिन्छ । गृहकार्य र परियोजना कार्य दिन सकिन्छ । शिक्षकले शिक्षण गर्नु र सिकाउनु भनेको घोटाएर पिलाउनु होइन, कुनै काम गर्नका लागि उत्साह जगाइदिनु हो । त्यो उत्साह छोटो समयको भेटघाट र टेलिफोनबाट पनि दिन सकिन्छ । सत्य कुरा के हो भने शिक्षण सामुहिक भए पनि सिकाइ व्यक्तिगत हुन्छ । भन्नुको मतलव, हामीले एकैपटक शिक्षण गरेको एउटै कुरा पनि सिक्नेहरुले फरक फरक किसिमले सिकिरहेका हुन्छन् । त्यसकारण विद्यार्थीहरुसँग व्यक्तिगत रुपमा सम्पर्क गरी उनीहरुलाई सिक्नका लागि प्रेरित गर्ने यो एउटा सुनौलो अवसर पनि हो भन्ने लाग्छ मलाई ।

यत्तिबेला विद्यालयले अभिभावकलाई अलि बढि जिम्मेवार बनाउन सक्नुपर्दछ यत्तिसम्म कि विद्यालयमा गएर शिक्षकबाट सिक्ने कुराको सोधभर्ना अभिभावकबाट हुन सकोस् । बस्ती र टोलमा सङ्क्रमण त्यत्ति छैन भने सुरक्षाका मापदण्ड अपनाएर बालबालिकालाई टोलमा सानो सानो समूह बनाएर पनि सहजीकरण गर्न सकिन्छ । यत्ति हो कि त्यो टोलसम्म शिक्षक समयतालिका मिलाएर पुग्नुपर्दछ । शिक्षक नगएको अवस्थामा टोलकै पढेलेखेका अभिभावकहरुले त्यसको जिम्मा लिएर सहजिकरण गर्न सक्ने वातावरण मिलाउन सकिन्छ । हामीले सूक्ष्म तरिकाले चिन्तन गरेर यो बेला विविध तरिका र विधि अपनाएर शिक्षालाई गति दिन सकेनौं भने यसले भोली गएर ठूलै अनिष्ठ निम्त्याउने सम्भावना पनि त्यत्तिकै प्रवल छ । यसकारण कि कतिपय विद्यालय, शिक्षक र विद्यार्थीहरुको लकडाउनको अवधिमा पनि शिक्षण सिकाइ क्रियाकलाप एकदिन पनि बन्द भएको छैन । यसले गर्दा भोली गएर सिकेका र नसिकेकाहरुको बीचमा उपलब्धिस्तरको फासला बढ्छ । अन्ततः यो गएर आर्थिक हिसावले विपन्न र सम्पन्नमा गएर ठोकिन्छ । त्यसपछि भन्नै पर्दैन के के हुन्छ के के । त्यसकारण पनि शिक्षक र शिक्षाका सरोकारवाला सबैले मनन् गरी तदनुरुपमा पाइलाहरु अघि बढून, सबैलाई शुभकामना नयाँ शैक्षिक सत्रको ।
मिति २०७८ साल आषाढ ३ गते बिहीबार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

KMJS ADS

Holler Box